s

नेपाली विद्यार्थीले २ खर्ब अस्ट्रेलिया भित्र्याए

Year of Publication: 18 December 2019 | Kantipur

Published by: CESLAM

नारायण खड्का

उच्चशिक्षाका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूले मात्र अस्ट्रेलियामा २ दशमलव ६ बिलियन डलर (करिब २ खर्ब १० अर्ब रुपैयाँ) भित्राएका छन् । शैक्षिक क्षेत्रबाट यहाँको अर्थतन्त्रमा पुर्‍याएको योगदानका बारेमा अस्ट्रेलियास्थित शिक्षा मन्त्रलायले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली विद्यार्थीहरूको योगदान तेस्रो नम्बरमा रहेको छ ।

अस्ट्रेलियाको अर्थतन्त्रका लागि शैक्षिक क्षेत्र चौथो ठुलो आयस्रोतको बाटो रहँदै आएको छ । शिक्षामन्त्री डान टिहानले सार्वजनिक गरेको रिर्पोटमा चीन र भारतपछि नेपालका विद्यार्थीहरूले ठूलो योगदान पुरयाएका हुन् । विद्यार्थीहरूबाट मात्रै ३७ दशमलव ६ बिलियन डलर आर्थिक स्रोत जुटाएको अस्ट्रेलिया सरकारलाई चीनका विद्यार्थीहरूले करिब १२ बिलियन र भारतका विद्यार्थीहरूले करिब ५ बिलियन डलर योगदान गरेका छन् । सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको तुलनामा यस वर्ष अस्ट्रेलियाको शैक्षिक आयातसमेत १५ प्रतिशतले बढेको छ । नेपालीहरूले अर्बौं डलर यहाँको अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको भए पनि अस्ट्रेलियाली सरकारबाट उनीहरूका लागि भने नेपालले कुनै फाइदा लिन नसकेको आरोप विद्यार्थीहरूको छ ।

अस्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको समग्र संख्यामा नेपालीहरूको संख्या तेस्रो छ । तथ्यांकअनुसार अहिले अस्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थीहरू विभिन्न विषयहरूमा अध्ययनरत छन् । उनीहरूले आफ्नो विषयअनुसार वार्षिक रूपमा १५ हजारदेखि ३५ हजारसम्म शैक्षिक शुल्क शैक्षिक संस्थालाई बुझाउने गरेका छन् । अस्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिलाई दुर्गम केन्द्रित बनाएपछि स्थायी बासिन्दाको अनुमति लिनका लागि तास्मानिया, डार्बिनलगायतका क्षेत्रमा जानेहरूको संख्यासमेत उल्लेख्य रूपमा बढिरहेको छ । यद्यपि विद्यार्थी तथा शैक्षिक क्षेत्रमा काम गरिरहेका विज्ञहरू भने नेपाली विद्यार्थीले अस्ट्रेलिया सरकारको अर्थतन्त्रमा जुन योगदान गरिएको छ त्यसको तुलनामा नेपाल सरकार र दूतावासले फाइदा लिन चुकिरहेको सुनाउँछन् ।

अस्ट्रेलियास्थित सञ्चारविज्ञ डा. भरतराज पौडेल नेपाली विद्यार्थीका नाममा मात्र करिब ३ अर्बको व्यापार गर्ने अस्ट्रेलियासँग राम्रो कूटनीतिक पहल गरेर अन्य आयात निर्यातलगायतका सम्बन्धहरू नेपालको हितमा पार्न सकिने बताउँछन् । उनी अहिलेको अवस्थामा परराष्ट्र वा प्रधानमन्त्रीस्तरमा नै पहल गरेर दुई देशबीचमा उच्चस्तरको भ्रमण गराउनु नेपालको हितमा हुने धारणा राख्छन् । उनी कूटनीतिक तवरले चीन र भारतको भूराजनीतिक क्षमताको फाइदा उठाएर त्यस क्षेत्रमा अस्ट्रेलियाले गर्ने आर्थिक तथा व्यापारिक गतिविधिमा लाभान्वित हुन सके नेपाललाई धेरै फाइदा हुने ठान्छन् । ‘हामीले चाहने हो भने अस्ट्रेलियाबाट धेरै फाइदा लिन सक्छौं तर पनि मुख्य कमजोरी नै आवश्यक कूटनीतिक पहल हुन नसक्नु हो ।’ एनआरएन अस्ट्रेलियाका उपादक्ष्य नवीन पन्त भन्छन् । उनी सरकारले दूतावासमार्फत उच्चतहमा छलफल गरेर अस्ट्रेलिया सरकार सामु दबाब सिर्जना गर्नुपर्ने सुझाव दिन्छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहाल अस्ट्रेलिया सरकारले नेपाल र नेपालीहरूलाई उच्च प्राथमिकता दिएको अनुभव सुनाउँदै आफ्नो हितका लागि आफूहरू लागिपरेको सुनाउँछन् ।

Published on: 18 December 2019 | Kantipur

Link

Back to list

;