s

नेपाली विद्यार्थी ठग्दै बंगलादेशी मेडिकल कलेज

Year of Publication: 17 December 2019 | Naya Patrika

Published by: CESLAM

नेपाली दूतावासले भन्यो– २१ मेडिकल कलेजमा विद्यार्थी नपठाउनू

बंगलादेशमा सरकारले मान्यता नै नदिएका मेडिकल कलेजले झुक्याएर नेपाली विद्यार्थी लैजान लागेपछि नेपाली दूतावासले रोक्न पहल गरेको छ । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै दूतावासले २१ कलेजमा विद्यार्थी नपठाउन भनेको हो ।

दूतावासले विद्यार्थी नपठाउन भनेका कलेजहरू सरकारले मान्यता नदिएका १४ र त्यहाँस्थित अदालतको आदेशमा सञ्चालन भएका सातवटा छन् । केही वर्षयता एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाली विद्यार्थी बंगलादेश जाने क्रम बढेको छ । तर, शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर लिएर गएका विद्यार्थी नै समस्यामा पर्ने गरेका छन् ।

विगतमा केही कलेजमा समस्या भएपछि मेडिकल काउन्सिलले बंगलादेशी मेडिकल कलेजको अवस्थाबारे विवरण मागेको थियो । त्यसपछि दूतावासले बंगलादेशको मेडिकल एवं डेन्टल काउन्सिलबाट प्राप्त विवरण पठाएको हो ।

दूतावासले मान्यताप्राप्त कलेजले विदेशी विद्यार्थीका लागि छुट्याएको कोटाको विवरणसमेत पठाएको छ । विदेशमा अध्ययन गर्न नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमती प्राप्त गरी अध्यनयका लागि जान सक्ने व्यवस्था छ ।

कालोसुचीमा परेका बंगलादेशी विश्वविद्यालय नेपाली विद्यार्थी ठग्दै

कालोसुचिमा परेका बंगलादेशका विश्वविद्यालयले नेपाली विद्यार्थीलाई गलत सूचना दिएर गठी गरेका छन् । अघिल्लो वर्ष नेपाल मेडिकल काउन्सीलले कालोसूचीमा राखेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी)ले नेपाली विद्यार्थीलाई भ्रममा राखेर ठगी गरिरहेको छ ।

काउन्सिलले ०७४ मा युएसटिसिसहित तीन मेडिकल कलेजलाई कालोसूचीमा राखेको थियो । सिल्हेतको जलालाबाद रागिब–राबेया मेडिकल कलेज, सिल्हेत एण्ड हस्पिटल अण्डर द शाहजलाल युनिभर्सिटि अफ साइन्स एण्ड टेक्नोलोजी र गोनोशास्थाया समाज भित्तिक मेडिकल कलेज, साभार अण्डर गोनोस्वास्थाया युनिभर्सिटीलाई कालोसूचीमा राखेको थियो ।

दुतावासले पठाएको बिबरणमा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी) मान्यता प्राप्त संस्थाको सूचीमा छैन । पहिले सो संस्थाले एमबिबिएस कार्यक्रम सञ्चालन गरे पनि अहिले सरकारले एमबिबिएसका कार्यक्रम बन्द गरेको छ । नेपाली मिडियामा गरेको विज्ञापनमा युएसटिसी सिएमयूबाट सम्बन्धनप्राप्त भएको उल्लेख छ । सोही बिज्ञापनमा सानो अक्षरमा इन्स्टिच्युट अफ अप्लाइड हेल्थ साइन्सेस (आइएएचएस) को नाम जोडेर विद्यार्थीलाई भ्रम सिर्जना गरेको छ ।

दुई वर्ष पहिले मापदण्ड अनुसार सञ्चालन नभएका कारण २४ मेडिकल कलेज कालोसूचीमा परेका थिए । विद्यार्थी भर्ना गरेर मापदण्ड अनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सील (बिएम एण्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीन कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको थियो । मापदण्ड पुरा नगरेका कलेजमा अध्ययन गर्ने झण्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेका थिए ।

यसपालि सात सयले लिइसके अनुमती

नेपाल मेडिकल काउन्सिलबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश जान यसपालि सात सय विद्यार्थीले स्वीकृती लिएका छन् । काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीका अनुसार सोमबारसम्म ७ सय विद्यार्थीले बंगलादेश अध्ययनका लागि स्वीकृत लिइसकेका छन् । काउन्सिलका अनुसार यो संख्या अझै बढ्ने देखिएको छ । गत वर्ष करिब पाँच सयले बंगलादेशमा एमबिबिएस अध्ययनका लागि अनुमति लिएका थिए ।

बंगलादेशका कलेज

अइची मेडिकल कलेज, उत्तरा ढाका
केयर मेडिकल कलेज
शाह मोख्दुम मेडिकल कलेज, राजशाही
आर्मी मेडिकल कलेज, जसोर
आर्मी मेडिकल कलेज, कुमिला
आर्मी मेडिकल कलेज, बोगुरा
रंगपुर आर्मी मेडिकल कलेज, रंगपुर
मोनोअरा सिक्दर मेडिकल कलेज
खुल्ना सिटी मेडिकल कलेज
नाइटिङ्गल मेडिकल कलेज
कम्युनिटी बेस मेडिकल कलेज (डेन्टल युनिट)
इब्राहिम मेडिकल कलेज (डेन्टल युनिट)
ढाका नेसनल मेडिकल कलेज (डेन्टल युनिट)
ख्वजा युनुस अली मेडिकल कलेज (डेन्टल युनिट)

अदालतको आदेशमा चलेका, तर नेपालबाट विद्यार्थी नपठाउन सिफारिस भएका कलेज

सहबुद्दिन मेडिकल कलेज
नर्थन इन्टरनेसनल मेडिकल कलेज
आसियन मेडिकल कलेज
नर्थन (प्राइभेट) मेडिकल कलेज
केयर मेडिकल कलेज
अइची मेडिकल कलेज
नाइटिङ्गल मेडिकल कलेज

Published on: 17 December 2019 | Naya Patrika

Link

Back to list

;