s

नेपाली विद्यार्थी अलपत्र पार्ने एआईबीटी कलेजलाई 'नो अब्जेक्सन लेटर' दिन रोक

Year of Publication: 25 February 2019 । Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

सूर्यप्रसाद पाण्डे

शिक्षा मन्त्रालयले अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) कलेजलाई 'नो अब्जेक्सन लेटर' दिन रोक लगाएको छ।

धेरै नेपाली विद्यार्थी अध्ययनरत उक्त कलेजलाई अस्ट्रेलियन क्वालिफिकेसन अथोरिटीले दर्ता रद्द गरेपछि मन्त्रालयले यो निर्णय गरेको शिक्षा मन्त्रालयका उपसचिव देवीप्रसाद उपाध्यायले जानकारी दिए। घटनाबारे छानबिन गर्न गठित समितिको सिफारिसमा मन्त्रालयले निर्णय लिएको हो। मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईँको संयोजकत्वमा गठित समितिले शैक्षिक परामर्श कम्पनीहरूसँग बयान लिइरहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एआईबीटी कलेज बन्द भएपछि नेपाली विद्यार्थी अलपत्र परेकोबारे छानबिन गर्न समिति गठन गरिसकेको छ।सहसचिव देवकुमारी गुरागाईंको संयोजकत्वमा गठित समितिलाई सात दिनको म्याद दिइएको छ। समितिमा ४ सदस्य छन्। समितिलाई अस्ट्रेलियाको उक्त कलेज के कारण बन्द भयो, कसरी र किन बन्द हुने अवस्थामा पुग्यो तथा बन्द हुने जोखिममा रहँदारहँदै कसरी विद्यार्थी त्यहाँ पढ्न पुगेलगायत विषयमा अध्ययन गर्न निर्देशन दिइएको छ।

एआईबीटीमा नर्सिङ अध्यापन हुन्थ्यो। दुईबर्से कोर्समा विद्यार्थीले १८ महिना अध्ययन गरिसकेपछि अस्ट्रेलियन क्यालिटी अथरिटी (अस्क्वा) ले कलेज बन्द गर्ने निर्णय गरेको थियो। अस्क्वाले अस्ट्रेलियामा सञ्चालित शैक्षिक संस्था नियमन गर्छ। अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट मान्यता पाउन नसकेपछि अस्क्वाले गत साता एआईबीटी बन्द गर्ने निर्णय गरेको थियो। कलेज बन्द भएपछि १ हजार २ सय विद्यार्थी अलपत्र परेका छन्।

Published on: 25 February 2019 । Annapurna Post

Back to list

;