s

नेपाल–यूएई बैठक : कामदारलाई सेवा शुल्कको बोझ हट्यो

Year of Publication: 5 November 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

 संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्कबापतको रकम तिर्नु नपर्ने भएको छ । कामदार पठाउँदा म्यानपावर कम्पनीले यूएईका रोजगारदाताबाटै सेवा शुल्क पाउनेछन् । ५ महिनाअघि नेपाल र यूएईबीच भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न काठमाडौंमा २ दिनसम्म बसेको दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठकले कामदार र रोजगारदाताको लागत खर्चमा सहमति गरेको हो । सहमतिसँगै सोमबारबाट औपचारिक रूपमा नयाँ समझदारी कार्यान्वयन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । श्रम समझदारी भए पनि लागत खर्च टुंगिएको थिएन । समझदारीमा कुन शीर्षकमा, कसले, कति तिर्ने भन्ने विषयलाई प्राविधिक समूहको बैठकले टुंग्याउने भनिएको थियो । ‘यूएईसित कामदार आपूर्ति प्रक्रियामा लाग्ने सबै खर्च यूएईकै रोजगारदाताबाट बेहोर्ने गरी सहमति भएको छ । अब कामदारले कल्याणकारी कोष, म्यादी बिमा र अभिमुखीकरणबाहेक शीर्षकमा खर्चिनु पर्दैन,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका श्रमका सहसचिव रामप्रसाद घिमिरेले कान्तिपुरसँग भने, ‘म्यानपावर कम्पनीले आफ्नो सेवा शुल्क कामदारसँग होइन, रोजगारदाताबाट लिनुपर्नेछ ।’

म्यानपावर कम्पनीले रोजगारदातासँग लिने सेवा शुल्क भने बैठकले निर्धारण गरेको छैन । ‘रोजगारदाता र म्यानपावरबीचको सहमतिमा सेवा शुल्क लिन पाइनेछ । यसमा दुवै सरकारले हस्तक्षेप गर्ने छैनन्,’ उनले भने, ‘मलेसियामा हामीले आधा महिनाको तलब लिन पाइने व्यवस्था गरेका थियौं । त्यसमा म्यानपावर व्यवसायीले नै विरोध जनाए । त्यही कारण यूएईमा हामीले खुला छाडिदिएका छौं ।’ म्यानपावर कम्पनीले मंगलबारदेखि नेपाली दूतावासबाट प्रमाणीकरण भएको मागपत्रअनुसार छनोट हुने कामदारसँग सरकारले तोकेको १० हजार रुपैयाँ सेवा शुल्क पनि लिन पाउने छैनन् ।

Published on: 5 November 2019 | Kantipur

Link

Back to list

;