s

नयाँ वर्षदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

Year of Publication: 31 December 2020 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारीमा जान अबदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट दिइने भएको छ। 

वैदेशिक रोजगार विभागका अनुसार सन् २०२१ को पहिलो दिन जनवरी १ देखि अनलाइनबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुनेछ। अहिले पुनः श्रम स्वीकृतिका लागि श्रमिक जुनसुकै गन्तव्य मुलुकमा रहे पनि काठमाडौंस्थित विभागका कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता छ। 

भौतिक रूपमा नै उपस्थित हुनुपर्ने यस्तो व्यवस्थाले गर्दा श्रमिकले समस्या परेको गुनासो गर्दै आएका छन्। विभागका अनुसार पुनः श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था मिलाइएको हो। पहिलोपटक वैदेशिक रोजगारीमा जानेले दुई वर्ष अवधिको श्रम स्वीकृति लिनुपर्छ। 

त्यो अवधि गुजारेपछि पुनः श्रम स्वीकृति लिनुपर्छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले मात्र गन्तव्य मुलुकमा रोजगारी गर्न पाउँछन्। गन्तव्य मुलुकमा मृत्यु, अंगभंग तथा बिरामी हुनेमध्ये श्रम स्वीकृति लिएकाले मात्र सरकारले उपलब्ध गराउने सुविधा पाउँछन्। 

श्रम स्वीकृति कायम रहेको अवस्थामा गन्तव्य मुलुकमा निधन भएकालाई वैदेशिक रोजगार बोर्डले सात लाख रूपैयाँ उपलब्ध गराउँछ। त्यस्तै बिरामी तथा अंगभंग हुनेलाई पनि बोर्डले प्रतिव्यक्ति सात लाख रूपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ। 

दुईवर्षे श्रम स्वीकृति लिएकाले एक हजार पाँच सय र त्योभन्दा बढी अवधिको श्रम स्वीकृति लिने दुई हजार पाँच सय रूपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ। पुनः श्रम स्वीकृतिका लागि आँखा वा औंठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिनुपर्ने विभागले जनाएको छ। पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइटमार्फत फारम भर्ने व्यवस्था मिलाइएको छ।

Published on: 31 December 2020 | Nagarik

Link

Back to list

;