s

नक्कली शरणार्थी प्रकरण: यसरी ठगिए दाङका ६० जना

Year of Publication: 8 May 2023 | Nagarik

Published by: CESLAM

घोराहीकी सबिना पण्डित (नाम परिवर्तन) लाई दुई वर्ष अघि एउटा ठूलो अफर आयो ‘सजिलै अमेरिका पुग्ने।’ आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुईको पाएपछि सबिनाले पनि दिदी समक्ष आफू पनि उसैगरि अमेरिका जाने र मेसो मिलाईदिनका लागि आग्रह गरिन्। बहिनीको प्रस्ताव पनि पास भयो। दुई दिदी बहिनी नै संगै अमेरिका जाने निर्णय सहित उनिहरु लागे अमेरिकाको बाटो पहिल्याउन।

तुलसीपुरका गजेन्द्र बुढाथोकीको सम्पर्क मार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरुलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फारम भर्नका लागि भन्दै काठमाडौँ बोलाइयो। उनीहरुले फारम भरे, अनि ५/५ लाख रुपैयाँ तुलसीपुरका गजेन्द्र बुढाथोकी भन्ने ब्यक्तिको हातमा थमाई दिए। ‘फारम के को हो , ठ्याक्कै थाहा भएन,’ उनले भनिन् ‘फारम भर्नुपर्छ भनेर भर्न लगाए।’

उनीहरुलाई सहजै अमरिका पुर्याउने भन्दै बिचौलियाको भूमिका खेलेका ब्यक्ति हुन् गजेन्द्र। ‘सजिलो गरि अमेरिका जाने भन्दै तयारीमा रहेकी दिदीलाई मैले मलाई पनि लैजान भन्दिनुस् म पनि जान्छु भनेर दिदी समक्ष अनुरोध गरेँ,’ सबिनाले भनिन् ‘दिदीले पनि कुरा गरिदिनु भएछ अनि मलाई पनि दिदी संगै अमेरिका जानका लागि तयारी गर्न भनियो, अनि पहिलो पटक काठमाडौँ गएर फारम भर्न लगाइयो, त्यो बेला ५÷५ लाख रुपैयाँ बुझाईम्।’

तीन महिना पछि २०७८ असार दोस्रो सातातिर उनीहरुलाई फेरी चितवनमा बोलाइयो। त्यो बेला उनीहरुलाई अन्तरवार्ता छ भन्दै बोलाइएको थियो। लकडाउनको त्यो बेला गजेन्द्र बुढाथोकीले गाडीको पास बनाइदिए। अनि राती १२ बजेतिर उनिहरु चितवन पुगे। उनीहरुलाई चितवनको एक होटेलमा राखियो।

चितवन पश्चात उनीहरुलाई सोही वर्षको कात्तिक महिनामा बिराटनगर बोलाइयो। उनीहरुलाई त्यो बेला भुटानी शरणार्थीको परिचय पत्र आईसकेको भन्दै लिनका लागि भन्दै बिराटनगर बोलाइएको थियो। अनि उनीहरुको भुटानी शरणार्थीको परिचय पत्र आइसकेको र अब अमेरिका जाने टुंगो लागिसकेको भन्दै भन्दै मेडिकल जाँच गराइयो। सबिनाले त्यो बेला थप ३० लाख रुपैयाँ बुझाइन्।

उनीहरुलाई त्यो बेला बिराटनगरको एक होटेलमा राखिएको थियो। ‘सबै गरेर मैले ४५ लाख रुपैयाँ बुझाएँ, बिराटनगरमा हाम्रो चेकजाँच गरेपछि हामीहरुलाई घर फर्कन भनियो र दुई चार दिनमै अमेरिका उड्ने आश देखाईयो,अनि उनिहरुले भने अनुसारको सबै रकम बुझाएँ।’ तर सबिनाको अमेरिका उडान भएन, भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसंग जोडिएका गजेन्द्र बुढाथोकी फरार भइदिए। ‘आज होला भन्यो भएन, भोली होला भन्यो भएन अनि पछि त त्यो मान्छे नै सम्पर्क बिहिन भयो,’ उनले भनिन् ‘मेरो ४५ लाख रुपैयाँ मध्य एक रुपैयाँ पनि फिर्ता भएको छैन।’ सबिनाको दिदीले पनि ३५ लाख रुपैयाँ बुझाइन्।

सबिना र उनकी दिदी मात्रै हैन, उनीहरु सहित ६० जना दंगालीहरुको लाखौ रकम भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने आश्वासन दिएको गिरोहको कब्जामा पुग्यो।

तुलसीपुरका समिर केसी (नाम परिवर्तन) अमेरिका जाने प्रलोभनमा परेर २० लाख रुपैयाँ डुबाए। तुलसीपुरका गजेन्द्र बुढाथोकी अमेरिकाकै राहदानी धारी ब्यक्ति भएको र उनले सहजै अमेरिका पुर्याउने आश समिरलाई जाग्यो। त्यसोत, गजेन्द्रले आफूले बिना अबरोध अमेरिका पुर्याउने आश्वासन फ्याँकिरहेका थिए। ‘ति ब्यक्ति अमेरिकाको ग्रिनकार्ड होल्डर रहेकाले उनले सजिलै अमेरिका पुर्याउँछन् भन्ने लाग्यो, र मैले पनि उनि मार्फत नै अमेरिका जाने निर्णय लिएको थिएँ,’ केसीले भने ‘तर ठगीमा परियो, २० लाख रुपैयाँ डुब्यो।’ उनलाई पनि सबिनासंगै सुरुमा काठमाडौँ फारम भर्नका लागि भनेर बोलाइयो। अनि २०७७ असारको दोस्रो साता उनि पनि चितवन पुगे। उनीमा पनि अन्तरवार्ता दिने र सहजै अमेरिका पुग्ने बिश्वास बढिरहेको थियो।

राती १२ बजे चितवन पुगेका उनीहरुलाई एक होटेलमा राखियो र मध्यरातमै प्रशिक्षण दिन थालियो। केसीले उक्त होटेल एमाले नेता रामबहादुर थापाका छोराको होटेल भनिएको थियो।

‘त्यहाँ धेरै गाडीहरु थिए तर एएटा गाडी चाहिँ गृहमन्त्रालयको गाडी हो भन्ने सुनेका थियौँ,’ उनले भने ‘त्यहाँ हामीहरुलाई अन्तरवार्ता लिनका लागि भनेर आएका सबै मान्छेहरु सरकारी पोशाकमै थिए।’

त्यहाँ परिचय दिँदा उनीहरुले आफूहरु गृह मन्त्रालयको प्रतिनिधिका रुपमा प्रशिक्षणका लागि आइपुगेको समेत बताएका थिए। ‘हामी गृहमन्त्रालयबाट प्रतिनिधि बनेर तपाइहरुको अन्तरवार्ता लिन आएका हौँ भनेका थिए,’ केसीले भने ‘एकजना मुख्य ब्यक्तिले गृहन्त्रालयबाट आफूहरु आएको र आफू उक्त टोलीको संयोजक हुँ भनेका थिए।’ उनका अनुसार त्यहाँ उक्त टोलीमा दाङकै सन्देश शर्मा,आकाश रेग्मी भन्ने ब्यक्तिहरु समेत थिए। ‘दाङकै भएकाले हामीहरुले सन्देश शर्मा र आकाश रेग्मी भन्ने मान्छेलाई चाहिँ चिन्यौँ,’ उनले भने ‘अहिले सन्देश भन्ने ब्यक्ति यहि शरणार्थी बनाउने काण्डमा पक्राउ परिसकेको भन्ने सुनेका छौँ।’

गृहन्त्रालयकै प्रतिनिधिहरुले आफूहरुलाई अमेरिका पठाउन लागेकाले आफूहरु सहजै अमेरिका पुग्ने आशा उनीहरुमा झनै बढेर गयो। गृह मन्त्रालयको टोलीका सदस्यहरु बताउने उनीहरुले प्रशिक्षण दिएपछि बल्ल केसीले थाहा पाए – हामीहरुलाई भुटाणी शरणार्थी बनेर पठाउन लागेका रहेछन् भन्ने। ‘सुरुमा त हामीहरुलाई भुटाणी शरणार्थी बनाएर पठाउन थालेका होलान् भन्ने थाहा नै थिएन,’ उनले भने ‘जब चितवनमा उनीहरुले हामीहरुलाई प्रशिक्षण दिए अनि मात्रै थाहा भयो कि हामीलाई पनि भुटानी शरणार्थी बनाएर लैजान थालिएको रहेट भन्ने।’ तर उक्त गिरोहले भने भुटानी शरणार्थी बनेर आफुहरु जान लागेको भनेर कसैलाई पनि नभन्न भनेका थिए। ‘शरणार्थी बनेर जान थालेको भनेर कसैलाई पनि नभन्नु भनेका थिए,’ केसी भन्छन् ‘शरणार्थी बनेर सजिलो गरि पुगिन्छ, कुनै समस्या हुन्न भनेका थिए।’

उनीहरुले बिराटनटरमा बोलाएर भुटाणी शरणार्थीको परिचय पत्र लिन बोलाए। तर उनीहरुले परिचय पत्र दिएनन्। नत उनीहरुलाई शरणार्थी शिबिरमै पुर्याए। ‘तपाईहरुको परिचयपत्र शरणार्थी शिबिरमा छ भने,शिबिरमै गएर परिचय पत्र ल्याउँछौँ भन्दा पनि उनीहरुले मानेनन्,’ केसीले भने ‘शिबिरमा गएपछि हल्ला हुन्छ, समस्या हुन्छ भने अनि हामीहरुलाई बिराटनगरको बिराट मेडिकल कलेजमा स्वास्थ्य परिक्षण गराएर फर्काईयो।’ उनिहरुले त्यो बेला आफुहरुलाई दुई तिन दिनमै उड्ने भन्दै तयारी अवस्थामा रहन भनेका थिए।

तर महिनौ बिते, शरणार्थी बनेर अमेरिका उड्ने उनीहरुको योजना बिफल भयो। बिस्तारै आफूहरुलाई अमेरिका उडाउने भनेर रकम असुलेका गजेन्द्र बुढाथोकी गायब बन्दै गए। ‘जाने सम्भावना हामीले कम देख्न थाल्यौँ, अनि अब आफूहरु नजाने र आफूहरुले बुझाएको रकम फिर्ता दिन आग्रह गरे,’ अर्का पीडित तुलसीपुरकै रञ्जित बुढा (नाम परिवर्तन)ले भने ‘सुरु सुरुमा हुन्छ पैसा फिर्ता दिन्छु पनि भनेका थिए।’

भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याईदिने गिरोहको चंगुलमा फसेका पीडितहरुले २०७९ पुसमा मुख्य बिचौलिया बुढाथोकी बिरुद्ध किटानी जाहेरी समेत दिएका छन्। बुढाले पनि अमेरिका जाने भन्दै २० लाख रुपैयाँ उक्त गिरोहलाई बुझाएका थिए।

भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै दाङका ६० जनाबाट लाखौँ रकम असुलेको गिरोहले सबैबाट नगद रकम मात्रै बुझेको छ। यो गिरोहले सबै बाट प्रति ब्यक्ति बीस लाख भन्दा माथि नै रकम उठाएको छ। चेक दिन खोज्दा समेत उनिहरुले नगद रकम मात्रै लिने भन्दै सबैबाट नगद मात्रै बुझेका थिए। ‘हामीहरुले चेक दिन्छौँ भन्दा उनिहरुले मानेनन्,’ बुढा भन्छन् ‘क्यास कारोबार मात्रै गर्छौँ भनेर सबैबाट नगद रकम मात्रै बुझेका थिए।’ बुढाले पनि काठमाडौँ र चितवनमा गरि दुई पटकमा २० लाख रुपैयाँ उनिहरुलाई बुझाएका थिए। ‘सजिलै अमेरिका पुगिन्छ भने किन नजाने? यो त ठूलो अवसर हो भन्ने लाग्यो,’ उनले भने ‘तर शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै हामीसंग ठग्ने योजना रहेछ।’

बुढाले पनि चितवनमा आफूहरुलाई राखेर प्रशिक्षण दिएको होटेल रामबहादुर थापाका छोराको होटेल भनिएको बताए। ‘बादलका छोराको होटेल हो भनेर त्यहाँ कुरा गर्थे,’ उनले भने ‘अनि गृहमन्त्रालयको टोली समेत त्यहाँ आएको थियो ।’ राती १२ बजे उनिहरुलाई भुटाणी शरणार्थी बन्नका लागि अन्तरवार्ता लिने र प्रशिक्षण दिने ब्यक्तिले आफूलाई गृहमन्त्रालयले संयोजकका रुपमा खटाएको बताएका थिए। ‘उनी सरकारी ड्रेसमै थिए, उनले परिचय पत्र घाटीमा झुण्ड्याएका थिए, तर परिचय पत्रमा नाम हेरिएन,’ उनले भने ‘बुढ्यौली उमेरका ति ब्यक्तिले आफूलाई गृहमन्त्रालयले भुटानी शरणार्थी बनाउनका लागि संयोजकका रुपमा खटाएको बताएका थिए।’

२०७७ चैत देखि ७ महिना सम्म उक्त गिरोहको गुमराहमा परेका दाङका उनिहरुले भुटानी शरणार्थी बनाएर कसैलाई पठाएको भन्ने जानकारी पाएनन्। ‘कसैलाई पठाएकी पठाएनन्, केहि बुझ्नै सकिएन,’ बुढा भन्छन् ‘हामीहरुलाई पनि पठाउन नचाहेर ठग्न खोजेका हुन् कि पठाउन खोज्दा पनि नसकेका हुन्, केहि बुझिएन।’ आफूहरुको समूहमा ६० जना रहेको र अरु पनि पीडित हुन सक्ने उनले बताए।

Published on: 8 May 2023 | Nagarik

Link

Back to list

;