s

नक्कली पासपोर्टमा सिरियाली: युरोप छिराउन काठमाडौं ट्रान्जिट

Year of Publication: 18 December 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन। काठमाडौंलाई ‘ट्रान्जिट' बनाउँदै आएका तस्करले सिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन्।

यसअघि सिरिया–टर्की–काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेका हुन्। 

नयाँ रुट हो– टर्की–कतार–काठमाडौं–युरोप।


टर्कीले स्तानबुलस्थित विमानस्थलमा कडाइ गरेपछि तस्करले नयाँ रुट अपनाएको देखिन्छ। ‘नक्कली राहदानीमा गैरकानुनी रुपमा युरोप जान हिँडेका सिरियालीले नेपाल आउने रुट बदलेका छन्। पहिले उनीहरु टर्की गई त्यहाँबाट सिधै काठमाडौं आउँथे, अहिले कतार र अन्य खाडी राष्ट्रको विमानस्थलबाट नेपाल आउने गरेको पाइएको छ,' अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले नागरिकसँग भने, ‘टर्कीको राजधानी इस्तानबुलमा टर्किज एयरलाइन्सले कडाइ गरेपछि उनीहरुले रुट फेरेका हुन्।' टर्किज एयरलाइन्सले इस्तानबुलबाट सिधै काठमाडौं उडान भर्छ। यसैको फाइदा उठाउँदै मानव तस्करहरुले सिरियालीलाई नक्कली राहदानीमा युरोप पठाउन काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका छन्। अध्यागमनको अनुरोधपछि टर्किजले इस्तानबुलमा सिरियाली नागरिकमाथि कडाइ गरिरहेको छ। 

‘टर्किज एयरलाइन्सले कडाइ गरेपछि नेपाल आउने सिरियाली अरेबियन राष्ट्र हुँदै आउने गरेका छन्,' ढकालले भने। केही महिनायता २५ सिरियाली नक्कली राहदानीमा युरोप जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। फाडिया अज्जा, फौआद इजेस, बिबार्स इस्माइल, फयज अलहिलु, बसाल अलअहमदलगायत सिरियाली नागरिक कतार हुँदै काठमाडौं आउँदा पक्राउ परेका हुन्। सिरियालीहरु युरोप जान एक्लाएक्लै मात्र होइन, परिवारै समेत एकसाथ आउने गरेको पाइएको छ। एकै परिवारका चार सदस्य विमानस्थलमा पक्राउ पर्नु यसैको प्रमाण हो।

महानिर्देशक ढकालका अनुसार नक्कली राहदानीमा पक्राउ परेका सिरियाली अधिकांशले युरोपको जर्मनी, बेलायत र बेल्जियम जान हिँडेको बयान दिएका छन्। आफूलाई शरणार्थी बताउने उनीहरु द्वन्द्व चर्केकाले सिरिया बस्न नसकेर युरोपमा शरण लिन हिँडेको बताउने गरेका छन्।
सन् २०११ यता द्वन्द्वका कारण सिरियामा करिब २ लाख मानिसले ज्यान गुमाइसकेका छन्। सिरियाको पूर्वी र इराकको उत्तर–पश्चिम भागमा इस्लामिक स्टेट फर इराक एन्ड सिरिया (आइएसआइएस) नामक सुन्नी विद्रोही समूहले कब्जा जमाएको छ। यसले सिरिया र इराक दुवैमा द्वन्द्व चर्काएको छ। सिरियामा केही समूहले राष्ट्रपति बसार अल असदलाई पदच्यूत गरी प्रजातन्त्र स्थापना माग राखी लामो समयदेखि आन्दोलन गरिरहेका छन्।


आइएसआइएसमाथि अमेरिकाले हवाइ आक्रमण गरिरहेको छ। 
आइएसआइएसले विश्वभरका जिहादीलाई समेटेर मजबुत आतंकवादी संगठन तयार गरेको छ। विश्वका जुनसुकै देशमा आइएसआइएसका कार्यकर्ता तथा समर्थकले आक्रमण गर्ने सम्भावना रहेको अमेरिकालगायत पश्चिमा देशको आँकलन छ।  ‘नक्कली राहदानीमा आउनेहरुले त्यहाँ बस्न नसकेका कारण युरोप गई शरणार्थी भएर बस्न नेपाललाई ट्रान्जिट बनाउने गरेको बताएका छन्,' महानिर्देशक ढकालले भने, ‘हाम्रो अनुसन्धानमा अहिलेसम्म आतंकवादमा संलग्न मान्छे यहाँ भेटिएको छैन।' 

कमजोर अध्यागमन

युरोप हिँडेका सिरियालीहरु विपरीत दिशामा रहेको नेपाल हुँदै जाने क्रममा काठमाडौंमा पक्राउ पर्ने गरेका छन्। टर्कीसँग सिरियाको सीमा जोडिएको छ। टर्कीको आधा भाग एसिया र आधा भाग युरोपमा पर्छ। तर, युरोपनजिकै रहेका सिरियाली भने निकै पर रहेको नेपाल हुँदै युरोप जाने प्रयास गर्छन्, किन त?  ‘अन्य देशको तुलनामा नेपालको अध्यागमन कमजोर भएकाले काठमाडौंलाई ट्रान्जिट बनाएका होलान्,' ढकालले भने, ‘आफ्नो उडान सहज बनाउन।' 

उनका अनुसार त्रिभुवन विमानस्थलमा राहदानी सक्कली या नक्कली जाँच गर्ने आधुनिक मेसिन एउटा मात्रै छ। त्यो पनि बेला–बेला बिग्रेको हुन्छ। त्यो साँच्चै नै बिग्रने हो वा चाहेका बेला मात्र बिग्रने भन्ने अध्यागमनका कर्मचारी बताउन चाहँदैनन्। पक्राउ परेका सिरियाली सबैले अरूको राहदानी प्रयोग गरेको भेटिनु संयोग मात्र हुन भने सक्दैन।

पक्राउ परेकाहरुले विभिन्न देशका राहदानी १ देखि १२ हजार अमेरिकी डलरमा किनेर त्यसमा फोटो परिवर्तन गरी नेपाल हुँदै युरोपेली राष्ट्र गन्तव्य बनाउने गरेको स्विकारेका छन्। फोटो परिवर्तन गर्ने र नक्कली भिसा लगाउनेसम्मको काम तस्करले नै गर्ने गर्छन्। त्यसपछि मात्र राहदानी खरिदबिक्री हुन्छ। हालसम्म सिरियालीले स्लोभाकिया, फ्रान्स, अर्जेन्टिना, बुल्गेरिया, रोमानिया, ग्रिस, स्विडेन र लिथवानियाका राहदानीमा फोटो परिवर्तन गरेको भेटिएको छ। 

‘हाम्रोमा राहदानी सक्कली या नक्कली भनेर जाँच्ने राम्रो मेसिन अभाव छ। यसैकारण नक्कली राहदानीमा आउनेहरु पनि बेलाबखत उम्किने गरेका छन्। यसैको फाइदा सिरियालीले पनि उठाउन खोजेको देखिन्छ,' महानिर्देशक ढकालले भने। 

हरेकसँग दुइटा राहदानी

ढकालका अनुसार पक्राउ परेका सबै सिरियालीबाट दुइटा राहदानी बरामद भएका छन्, एउटा सक्कली (सिरियाली), अर्को नक्कली (अन्य देशको जसमा फोटो परिवर्तन गरेर आफ्नै टाँसिएको हुन्छ। नाम भने फरक–फरक। ‘काठमाडौं आउँदासम्म नक्कली राहदानी (फोटो परिवर्तन गरिएको) प्रयोग गर्दा रहेछन्,' उनले भने, ‘सिरियाली राहदानीमा यात्रा गर्दा अध्यागमनमा बढी सोधपुछ हुने भएकाले उनीहरुले नक्कली राहदानीमा यात्रा गरेको बुझिन्छ।' उनका अनुसार नेपालबाट उम्कन भ्याए भने युरोपेली देश पुगेपछि उनीहरु मात्र आफ्नो सक्कली राहदानी देखाउँछन्। किनकि सिरियाली राहदानीमा शरणार्थी दाबी गर्न सहज हुन्छ। ‘काठमाडौंबाट उडेपछि नक्कली राहदानी फ्याँक्छन्,' ढकालले सुनाए।

विदेशी तस्कर संलग्न

सिरियालीलाई नक्कली राहदानीमा काठमाडौं ल्याएर युरोप पुर्याीउन अन्तर्राष्ट्रिय तस्कर संलग्न पाइएको छ। गत मंसिर १२ गते नक्कली राहदानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका दुई सिरियाली नागरिक फाडिया अज्जा र फौआद इजेसले बयानमा यसको खुलासा गरेका हुन्। त्यसपछि अध्यागमनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा यस कार्यमा संलग्न एक–एक जना जर्मनी र टर्कीका नागरिकलाई पक्राउ गरेको थियो।

मानवतस्करीमा संलग्न आरोपमा पक्राउ परी मुद्दा चलाइएका जर्मनी र टर्कीका नागरिकमा ओमइरात हिसाइन र जोरिक इरडन्स छन्। उनीहरु पक्राउ परेका सिरियाली नागरिकसँगै नेपाल आएका थिए र एउटै कोठा सेयर गरी होटलमा बसेको भेटिएको थियो। बयानमा दुवैले सिरियालीसँग जहाजमा चिनजान भएको र सोही आधारमा एउटै होटलमा कोठा सेयर गरेको बताएका छन्। ‘नक्कली राहदानीमा आउनेको होटल बुकसमेत उनीहरुले नै गरेका रहेछन्, तर बयानमा सकारेका छैनन्,' ढकालले भने।

सिरियालीहरु त्रिभुवन विमानस्थल ओर्लेपछि नेपालको अनअराइभल भिसा लिई केही दिन काठमाडौंमै बस्छन्। अध्यागमनले उनीहरुलाई १५ दिनको पर्यटन भिसा दिने गरेको छ। विमानस्थलमा उनीहरुलाई नेपालीले पनि सघाउने गरेको भेटिएको छ। नक्कली राहदानीमा पक्राउ परेका सिरियाली फाडिया अज्जा र फौआद इजेसलाई विमानस्थलमा सघाएको आरोपमा अध्यागमनले विमानस्थल अध्यागमन प्रमुख गोविन्दबहादुर कार्कीका चालक मधु केसी र अर्की पियन जानुका थापा छन्। थापा दुई महिनाअघि मात्र त्यहाँ पुगेकी थिइन्।

अध्यागमन स्रोतका अनुसार मानवतस्करलाई विमानस्थलको सेटिङ मिलाउन संलग्न उच्च तहका कर्मचारीलाई जोगाएर विभागले तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गरेको हो। स्रोतका अनुसार नक्कली राहदानीमा भिसा दिने अधिकृतमाथि कुनै छानबिन गरिएन। घटनालगत्तै केहीलाई भने विभागमा तानिएको छ। महानिर्देशक ढकालले भने अहिलेसम्म यस्तो सेटिङमा नेपाली संलग्न भएको नभेटिएको दाबी गरे। ‘सिरियालीलाई कागजात मिलाउन सघाउने दुई नेपाली कर्मचारीलाई निलम्बन गरिसकिएको छ, अरू संलग्न भएको पाइएको छैन,' उनले भने। 

फितलो अनुसन्धान

अध्यागमन ऐन, २०४९ को दफा ५ मा जाली राहदानी प्रयोग गर्नेलाई कारबाही सम्बन्धी स्पष्ट व्यवस्था छ। नक्कली राहदानी तथा भिसा प्रयोग गरी कोही नेपाल प्रवेश गरे ५० हजार रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। त्यति मात्र होइन, नक्कली राहदानी प्रयोग गर्नेमाथि अनुसन्धान गर्ने व्यक्तिले पनि कसैको प्रभावमा परी अनुसन्धान फितलो बनाएको पाइए २५ हजार रुपैयाँ जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। नक्कली राहदानीमा पक्राउ पर्ने सिरियाली र तस्करहरु भने फितलो अनुसन्धानकै कारण सहजै उम्कन्छन्। सानो रकम जरिवाना र केही दिन थुनामा बसेपछि उनीहरु उम्कने गरेका छन्।

नक्कली राहदानीमा आउनेहरु साँच्चै सिरिया बस्नै नसकेर हिँडेका हुन् वा कुनै लक्ष्यसाथ आतंकवादी क्रियाकलापमा संलग्न छन्, पक्राउ परेकामाथि गहन अनुसन्धान भएको देखिँदैन। ‘हामीकहाँ जाली राहदानीसहित पक्राउ पर्ने विदेशीलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना गर्ने र बढीमा १ महिना जेलसजाय गरिन्छ,' स्रोतले भन्यो।

महानिर्देशक ढकालले पनि नक्कली राहदानी बाहकलाई कारबाहीस्वरुप बढीमा १ महिना कैद र १०/१५ हजार रुपैयाँ जरिवाना हुने गरेको सकारे। अध्यागमन स्रोतका अनुसार रित पुर्यांउन मात्र अनुसन्धान र कारबाही हुने गरेको छ। नेपाल किन आएको हो? आतंकवादीसँग कुनै सम्बन्ध छ/छैनजस्ता पक्षमा गम्भीर अनुसन्धान नै गरिँदैन।

Published on: 18 December 2014 | Nagarik

Back to list

;