s

नाकाबन्दीले कतार बलियो

Year of Publication: 22 May 2019 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

चन्द्रशेखर अधिकारी

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं।’

नाकाबन्दीले ठूलो पाठ सिकाएको र त्यसबाट कतार बाहिर निस्केको निष्कर्ष कतारको दरबारले निकालेको छ। ‘दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ’, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले भने, ‘नाकाबन्दीले हामीलाई बलियो मात्र बनाएन पाठसमेत सिकाएको छ। हाम्रा नागरिकले नाकाबन्दी भुलिसके। तर मित्र मुलुकले जे गरे त्यो मानवीयता भने होइन। ’ बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफंैमा दुर्भाग्यपूर्ण रहेको निष्कर्ष कतारको छ।
 
‘हामीले त बिर्सिसकेका छौं। तर अन्तर्राष्ट्रिय मञ्चमा यो विषय उठाउन छाडेका छैनौं,’ उनले भने, ‘राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं। ’ सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन। कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ। हवाई उडान घटाएको छैन भने ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर काम चलाइरहेको छ।
 
कतार अझ बलियो र आत्मनिर्भर
 
नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ। ‘हामी कतारी काम नै नगरि बस्दा पनि पुग्ने समुदायमा पर्छौं। यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द गार्डियन’सँग भनेकी थिइन्, ‘नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर बन्ने दृढता र राष्ट्र प्रेमको लहर देखियो। जुन साँच्चै लोभलाग्दो छ। ’ यो धारणा कतारका अन्य उच्च अधिकारीबाट पनि आइरहेको छ। यसबाट कतार २ वर्षमा साँच्चै आत्मनिर्भर मात्र होइन उत्पादन गरेर विदेश निर्यात गर्नेमा दरिन थालेको छ।
 
नाकाबन्दीपछि कतारको मानव अधिकार समितिसँग न्याय मागिरहेका हजारौं मुद्दा सम्बोधन गर्दै अघि बढेको राजदूतको धारणा छ। नाकाबन्दी लगाउने ४ देशमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार यसबाट प्रत्यक्ष प्रभावित छन्। काम गर्न पाउने र अन्य अधिकारबाहेक ६ हजार ४ सय ७४ मुद्दा पारिवारिक मेलमिलापविरुद्धका भएको तथ्यांक मानव अधिकार संगठन कतारसँग रहेको जानकारी दिएको छ।
 
नेपालीको गुन
 
नाकाबन्दी हुँदाको केही समय नेपाली कामदार हतासिए पनि अहिले त्यस्तो अवस्था छैन। सरकारबीच कुरा नमिलेर जान नपाएबाहेक अन्य समस्या छैन। नेपालीले सन् २०३० सम्म काम गर्न सक्नेछन्। त्यसपछि पनि कतारले नयाँ रोजगार सिर्जना गर्ने जनाएको छ। कतारको विकासमा नेपालीको पसिना परेको भन्न भुल्दैनन् कतारीहरू। त्यसैले कतारीले नेपालमा कतार च्यारिटीमार्फत् सहयोग गरिरहेको छ। सरकारलाई पनि दुईपक्षीय सहयोग गरिरहेको छ। भिसा प्रणालीको विषयमा सरकारसँग कुरा नमिल्दा कामदार अझै जान पाएका छैनन्।
 
नेपालले सिक्नुपर्ने
 
नाकाबन्दीको सामना गर्न कतार २ वर्षयता अपनाएका रणनीति र हासिल गरेको आत्मविश्वास लोभलाग्दो छ। करिब ६ महिना नाकाबन्दी बेहोरेको नेपालले आत्मनिर्भरता भुलेको अवस्थामा कतार उदाहरण बन्न सक्छ। राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता रक्षाका लागि आम नागरिक, राजपरिवार र सरकारी अधिकारीको ऊर्जा साँच्चै लोभलाग्दो छ। यसलाई कतारीहरू ‘सिर्जनात्मक इख’ भन्छन्। त्यही इखले कतार अहिले झन् उकासिएको भन्दै नाकाबन्दीको कुनै प्रभाव नपरेको बताउँछन् कतारका कूटनीतिज्ञ।
 
सुरुवातमा अत्तालिएका कतारी व्यवसायीले गत वर्ष नै सम्भावनामा परिणत गर्दै संकट चिरेका थिए। जुन देशसँग सबैभन्दा बढी निर्यात निर्भरता थियो, त्यसकै नेतृत्वमा अप्रत्याशित भोगाइले कतारीले जे सिके नेपालीले पनि सिक्न आवश्यक छ। उत्पादनमा जोड दिन आवश्यक रहेको भन्दै कतारीले यो वा त्यो होइन सबै क्षेत्रमा आरम्भ गरेको उत्पादन निकै उपयोगी हुनेछ। त्यो सामग्री कतारले विदेशमा निर्यात गर्न सक्ने स्थितमा पुगेको छ। निर्माण र डेरी प्रोडक्टमा कतार माथि उठ्दै छ। त्यहाँ अन्तर्राष्ट्रिय उद्यमीलाई भिœयाउने काम गरेको छ।
 
अन्तर्राष्ट्रिय जगत् मूकदर्शक
 
नाकाबन्दीले नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित हुँदा पनि अन्तर्राष्ट्रिय जगत् मूकदर्शक बनेको गुनासो कतारले पटकपटक गरेको छ। उसले विश्वभरि कूटनीतिक लबिङ तीव्र पारे पनि आश्वासन र धाप मात्र पायो तर साउदी अरेबियालाई त्यसले छोएन। संयुक्त राष्ट्र संघको दुई महासम्मेलनमा समेत नाकाबन्दीको चर्चा चल्यो तर कसैले पनि साउदीलाई हल्लाउन सकेन। कतार वार्तामा बस्न तयार हुँदा साउदीले बेवास्ता गरेको धारणा बाहिर आयो।
 
कतिपय आफन्त कतार आउँछन् त कतिपय आफन्त तेस्रो मुलुक पुगेर भेटघाट गरिरहेका छन्। मुस्लिम समुदायको पवित्रस्थल साउदी अरबका मक्का र मदिनासमेत जान नपाएकोमा अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्दा पनि सुनुवाइ नभएको गुनासो कतारीको छ। अमेरिकाको पहल र कुवेतको मध्यस्थतामा पनि नाकाबन्दी खुलाउन नसकेपछि कतार आफ्नै तवरले आत्मनिर्भरतामा लागेको हो।
 
कतारको टर्की र इरानसँगको सम्बन्ध, आतंककारीलाई प्र श्रय दिएको आरोपका साथै अल–जजिरा टेलिभिजनलाई प्रमुख विषय बनाएर नाकाबन्दी लगाएको हो। कतारले पछिल्लो समय केही गल्ती भए माफ माग्नसमेत तयार हुँदा पनि नाकाबन्दी नखुलेपछि समस्या उस्तै छ। कतारले सन् २०२२ मा विश्वकप खेलाउँदै छ। त्यसको लागि सफल कूटनीति अवलम्बन गरेको कतार आफूमाथि आइलाग्न सक्ने विभिन्न समस्याबारे बेखबर हुनु वा छिमेकीको डाहा बढ्नु नै नाकाबन्दीको कारण हुनसक्ने उनीहरू बताउँछन्।
 
Published on: 22 May 2019 | Annapurna Post

Back to list

;