s

नाच सिकाएर विदेशमा यौनधन्दा

Year of Publication: 22 September 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

कला देखाउने काम भन्दै गाउँका सोझासिधा बेरोजगार युवतीलाई तेस्रो मुलुक पु¥याएर यौनधन्दामा लगाउने गिरोहको सक्रियता पछिल्लो समय बढेको छ। भारतीय 'रेडलाइट' एरिया पुर्‍याएर बिक्री गरी यौनधन्दामा विवश तुल्याउने गरिएकामा पछिल्लो समय दिल्ली र मुम्बईका अलावा खाडी मुलुक, एसियाली र अफ्रिकी देशसम्म कलाकारको आवरणमा लगेर धन्दामा लगाउने क्रम बढ्दो छ ।

प्रहरीले भदौ अन्त्यतिर पक्राउ गरेको यस्तै एक गिरोहबाट अहिले नेपाली युवती स्थलमार्गबाट भारतमात्र होइन, कलाकार र पर्यटकको भिसामा हवाईमार्ग हुँदै दुबई, बहराइन, दक्षिण अफ्रिकाजस्ता देशमा रात्रिकालीन व्यवसायमा मनोरञ्जनको साधन बनाउने क्रम बढेको खुल्यो । 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो अधिकारीका अनुसार पछिल्लो समय दुबई, मलेसिया, बहराइन, बैंकक, सिंगापुरदेखि दक्षिण अफ्रिकासम्म दलालहरुले कलाकार र पर्यटकको आवरणमा नेपाली युवती पु¥याउने गरेका छन् ।

वेटर र डान्सर काम गर्ने भनेर त्यहाँ पु¥याइएका युवतीको काम यौनधन्दा नै हो । ब्युरो एसपी पिताम्बर अधिकारीका अनुसार पछिल्लो अनुसन्धानमा यस्तो समूहले विदेशमा आकर्षक कमाइ हुने र काम पनि सजिलो भएको जालो फ्याँक्दै ग्रामीण क्षेत्रका अविवाहित युवती खोजेर काठमाडौं ल्याई गेस्टहाउसमा राखेर नृत्यलगायत प्रशिक्षण दिन्छन् र विदेश पठाउँछन् ।

'स्थलगत प्रशिक्षण भन्दै उपत्यकाका विभिन्न डान्स–बारमा लगेर नचाउने गरेको समेत खुल्यो,' उनले भने, 'डान्स सिकाउने बहानामा कतिपय युवतीलाई विभिन्न डान्सबारमा लगेर यौनशोषण नै गरेको समेत देखियो ।'

प्रहरीका अनुसार नृत्यमा पोख्त भएपछि दलालले युवतीहरुलाई उपत्यकाका विभिन्न फोटो स्टुडियोमा लगेर आकर्षक भावभंगिमाका तस्बिर (फोटो सेसन) खिचाउँछन् । उनीहरु ती तस्बिर दुबई, भारत, मलेसिया र अफ्रिकी मुलुकमा रहेका दलालहरुलाई पठाउँछन् र युवती रोज्न लगाउँछन् । छनोटपछिमात्र विदेश पठाउने प्रक्रिया सुरु हुन्थ्यो । छनोटमा परेका युवतीको काठमाडौंको बसाइमा भएको खर्च, राहदानी बनाउने र सपिङबापतको रकमसमेत विदेशकै दलालले बेहोर्थे ।

एसपी अधिकारीका अनुसार विदेशका दलालले फोटोका आधारमा युवती छनोट गरेपछि उताबाट कलाकार, वेटर आदि भनेर उनीहरुका नाममा भिसा जारी हुन्छ । युवतीहरु इज्जतिलो काम पाएकोमा मख्ख पर्दै मनग्गे पैसा कमाउने सपना बुन्दै बिदेसिन्छन् ।

डान्सर र वेटरको भिसा बोकेर त्रिभुवन विमानस्थल हुँदै उनीहरु भारतको नयाँ दिल्ली, मुम्बई, दुबई, मलेसिया हुँदै अफ्रिकी मुलुकसमेत पुग्ने गरेका छन् । युवती खोजेबापत दलालले एउटीबापत ४० हजार रुपैयाँसम्म कमिसन पाउँदै आएको अनुसन्धानमा खुलेको छ । 'युवती छान्नेदेखि प्रशिषणलगायत सबै खर्च विदेशका दलालले नै बेहोर्ने गरेको पाइयो,' एसपी अधिकारीले भने ।

सरकारले उपत्यकामा रात्रिकालीन व्यवसाय १२ बजेसम्म मात्र खुला राख्न पाउने गरी नियम कसिलो बनाएपछि व्यापार ओरालो लाग्यो । लगत्तै यस्ता दलालहरु सक्रिय भए । दलालहरुले प्रारम्भमा डान्स–बारमा काम गर्ने अनुभवीलाई नै कलाकार बनाएर निर्यात गरे । जब डान्स–बार रित्तियो, अनि नयाँ युवतीको खोजी सुरु भयो |ठमेलका एक डान्स–बार सञ्चालक अहिले काठमाडौंका अधिकांश डान्स–बार यस्तै प्रशिक्षणका लागि ल्याइने युवतीले चलेको बताउँछन् । 'दुई–तीन महिना काम गर्छन्, पैसा दिए पनि भो, नदिए पनि,' नाम खुलाउन नचाहने ती सञ्चालकले भने, 'तीन महिनापछि फेरि नयाँ आउँछन् ।' केही डान्स–बार सञ्चालकहरु नै यस्तै गिरोहका सहयोगी रहेको उनको दाबी छ ।

कलाकारको रुपमा विदेशमा काम गर्न जाँदा पनि वैदेशिक रोजगार विभागको अनुमति आवश्यक पर्छ । विभागको वैध अनुमतिबाट पनि युवतीहरु बिदेसिँदै आएका छन् । यस्ता गिरोहको प्रभाव विभाग र विमानस्थलसम्मै देखिन्छ । कर्मचारीहरु अनुमति प्रक्रियामा आएकाहरु के–का लागि विदेश जाँदैछन् भन्ने जानकारी भए पनि रोकतोक गर्दैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि विभाग र विमानस्थलका कर्मचारी पक्राउ गरेकाले मात्रै दलालको सूचना चुहिएर प्रहरीसम्म आएको ब्युरोका अधिकारी नै खुलाउँछन् ।

तर, विभागका महानिर्देशक विनोद केसी भने कलाकारको भिसामा नेपाली महिला बिदेसिएर बेचिने गरेको तथ्य जानकारी नै नभएको दाबी गरे । भिसा दिने मुलुकको दूतावासबाट स्वीकृतिसहितको पत्र नआई विभागले अनुमति नदिने जानकारी दिँदै उनले भने, 'विदेशमा महिला जान नपाउने भन्ने हुन्न, प्रक्रिया पु¥याएर आएपछि अनुमति रोक्न मिल्दैन, हाम्रोमा उजुरी नआई उता गएपछि के काम गर्छन्, थाहा हुन्न ।'

यसरी खुल्यो रहस्य

करिब पाँच वर्षदेखि नै इज्जतदार काम र मनग्गे आम्दानीको प्रलोभन दिएर नेपाली युवती डान्सरको रुपमा विदेश पु¥याएर यौनधन्दामा लगाउने गिरोह सक्रिय रहे पनि प्रहरीको उदासीनताले उनीहरुको धन्दा बिनारोकतोक चलिरहेकै थियो ।

सिंगापुर लगेर डान्स–बारमा नग्न नृत्य गर्न बाध्य बनाएको अभियोगमा तीन वर्षअघि मोडलिङ पेसामा सक्रिय रमिता भण्डारी पक्राउसँगै मानव बेचबिखनको यस्तो धन्दामा गिरोह सक्रिय रहेको खुलेको थियो । सो घटना पर्दाफास भएलगत्तै प्रहरीले विमानस्थलमा कडाइ गर्दै केही युवतीलाई फर्काए पनि प्रहरी अभियानले निरन्तरता पाएन । एसपी अधिकारीका अनुसार कलाकारको रुपमा दुई युवती विदेश जाने तयारीमा रहेका दुई युवती ब्युरोको सम्पर्कमा आए । उनीहरुकै आधारमा ब्युरो दलालको खोजीमा जुट्यो । राहदानीमा कलाकारको भिसा भए पनि उनीहरु कलाकार थिएनन् । उनीहरुलाई दलालले गाउँमै गएर विदेश जाने प्रलोभनसहित काठमाडौं ल्याएर उत्तेजक हाउभाउकोे नृत्यमा पोख्त बनाएका थिए । तीनै युवतीबाट प्राप्त सूचनाका आधारमा सुरु भएको अनुसन्धान एक सातामै सफल भयो र एउटा गिरोह नै पक्राउ प¥यो ।

गिरोहमा थिए– ज्ञानबहादुर आचार्य, दीपक तामाङ, गौरीशंकर पाण्डे र राजेन्द्र सुवेदी खत्री । अनुसन्धानमा खुलेअनुसार नवलपरासी रामनगरका विपुल भन्ने गौरीशंकर पाण्डे यो गिरोहका प्रमुख हुन् । उनले काठमाडौं बालाजुमा बसेर गिरोह चलाउँदै आएका थिए । ज्ञानु भन्ने ज्ञानबहादुर युवती खोज्ने र नेपालका अन्य दलालसम्म पु¥याउन सक्रिय थिए । सिन्धुपाल्चोकका दीपक विदेशी दलालसँग सम्पर्क राखेर विदेश पठाउने र नेपालका अन्य दलाललाई युवती दिने काम गर्दै आएका थिए । राजन भन्ने राजेन्द्र तस्बिर खिचाउने, भिसा मगाउने र विदेशमा रहेका दलालसँग समन्वय गर्दै आएका थिए ।

प्रहरी अनुसन्धानमा यो गिरोह तीन वर्षदेखि विभिन्न आवरणमा युवतीहरुलाई विदेश पठाउने यौन व्यवसायमा धकेल्न सक्रिय रहेको खुल्यो । 'विदेशमा युवती पठाउने विभिन्न गिरोहमध्ये यो बढी सक्रिय गिरोह रहेको देखियो,' अनुसन्धानमा संलग्न एसपी अधिकारीले भने, 'तर कति युवतीलाई विदेश पु¥याए, अझै खुलाउन सकिएको छैन ।'

Published on: 22 September 2013 | Nagarik

Back to list

;