s

म्यानपावर कम्पनीको ठगी नियन्त्रणमा विभाग अक्षम

Year of Publication: 12 February 2024 | Nagarik

Published by: CESLAM

सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्। युएईमा ‘हेभीट्रक ड्राइभर’ को माग आएको भन्दै २५ जना युवालाई घर न घाट बनाएका काठमाडौं सामाखुसीस्थित फिस्टेल ओभरसिज प्रालि रातारात भागेको पीडितको आरोप छ। म्यानपावरका सञ्चालक रेशमराज लामिछानेले ती युवाबाट प्रतिव्यक्ति ६ देखि सात लाख रकम उठाएको विभागमा उजुरी पनि परेको छ।

विभागमै पीडितले दिएको जाहेरीअनुसार विभागले कानुनी कारबाही गर्न नसक्दा म्यानपावर कम्पनीको ठगी गर्न तँछाडमछाड भएको छ। वैदेशिक रोजगार विभागमा पीडितको उजुरी परेको दुई महिनाभन्दा बढी हुदाँसम्म पीडितहरूले न्याय पाउन सकेका छैनन्। विभागले त्यस्ता म्यानपावर कम्पनीहरूलाई कानुनी कारबाही गर्नुपर्ने ठाउँमा उल्टै पीडितहरू म्यानपावरका पछि कुदिरहेका छन्।

‘फिस्टेल ओभरसिज म्यानपावरविरुद्ध विभागमा उजुरी परेको धेरै महिना बितिसक्दा पनि हाम्रो पैसा आएन। म्यानपावरले आजभोली भन्दाभन्दै दुई महिना बितिसक्दा पनि झुलाएको छ,’ एक पीडितले भने, ‘हिजो मात्रै त्यो म्यानपावरमा पुगेका थियौँ। भोलि आउनु भनेर बोलाएको थियो। तर, आज बिहानै सामाखुसीस्थित फिस्टेल ओभरसिज म्यानपावर पुग्दा कोठा नै खाली थियो,’ उनले थपे, ‘रातारात म्यानपावर कम्पनी भागेको छ। हिजो राति नै सबै सामान गाडीमा हालेर खै कता गएको हो भन्ने खबर स्थानीयबाट पायौं। हामी दुःखी गरिबलाई रुवाएर के पाइन्छ होला ? विभागले कडा कारबाही नगर्दा हामी नै म्यानपावरको पछि लाग्नुपरेको छ। त्यो म्यानपावर नै विभागको हाकिम जस्तो भएर हिँडेको छ।’

ठगीमा परेका युवा यतिबेला म्यानपावरको ठेगाना खोज्दै हिँड्दा त्यसका सेयरधनीमध्ये खिमकुमारी मल्ललाई उनीहरूले प्रहरीको हवाला गरिदिएका छन्।

‘धेरै साथीहरू बिहानभर ओभरसिज म्यानपावरलाई खोज्दै हिँड्दा अन्तै कोठा सार्दै गरेको भेटेका थियौं। समातेर प्रहरीकोमा बुझाएका छौं। यसबारे विभागलाई पनि खबर गरेको हो। तर, त्यसको केही प्रतिक्रिया आएन। तिमीहरूको पैसा लिएको सञ्चालक लामिछानेले हो। उसलाई पक्राउ गर्नुपर्छ, विभागको अधिकारी भन्छन्,’ पीडितले भने।

हामी आफैंले उक्त म्यानपावरका सेयरधनी मल्ललाई समातेर ल्याउँदा पनि यहाँ कसैले मतलव गरेका छैनन्। उनलाई हामी आफैंले समातेर प्रहरीलाई बुझाएका छौं। तर, वैदेशिक रोजगार संघका व्यवसायी आएका छन्। उनीहरूकै हालीमुहाली छ। छुट्टाएर लैजाने होला। हाम्रो पक्षमा बोलिदिने न कानुन रहेछ न त अरू नै,’ विलौना गर्दै एक पीडितले भने।

बाध्यताले वैदेशिक रोजगारमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्।पीडितले मुद्दा कहाँ पुग्यो भनेर विभाग गए पनि त्यहाँका अधिकारीले फाइल मन्त्रालय पुगेको जानकारी दिएका छन्। विभागमा भने मन्त्रालय सुझाव दिएको पीडितले बताए।

किन मन्त्रालय जानेभन्दा जवाफमा विभागका अधिकारीले उनीहरूलाई दिएको जवाफ उद्धृत गर्दै पीडितले भने, ‘तिमीहरूलाई हतार भएको भए मन्त्रालयतिर जाओ। श्रम मन्त्रालय जाँदा मन्त्री विदेश गएका जानुभएको छ। मन्त्री आएपछि तिमीहरूको फाइल हेर्नुहुन्छ भन्छन्। अब जाने कहाँ हो ?’

ओभरसिज म्यानपावरका सञ्चालक लामिछानेले लाखौंलाख असुलेर युवालाई विभिन्न देशमा पठाइरहेका पीडितहरूले बताएका छन्। ‘अझै किन सञ्चालनमा छ त्यो म्यानपावर ? किन समातिँदैनन् सञ्चालक लामिछाने ?’ पीडित युवाको प्रश्न छ, ‘विभागले कारबाही गर्नै खोजेको छैन। फिस्टेल ओभरसिज म्यानपावरले विभिन्न प्रलोभन देखाएर युवालाई विदेश पठाइरहेको छ। फिस्टेल म्यानपावरले खुलेआम युवा ठगिरहेको छ,’ काभ्रेका पीडितले भने। तर सञ्चालक लामिछाने अझै सम्पर्कविहीन रहेको पीडितहरूले बताए।

उनीहरू आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका थिए। गत जेठ देखि असार असारको विभिन्न मितिमा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका थिए। विदेश पुगेका उनीहरू आफ्नै हवाई खर्चमा स्वदेश फर्किएका थिए। कतिपयि भिसा अवधि सकिएका कारण ‘ओभर स्टे’ मा जेल पनि परेका थिए।

म्यानपावर लामिछानेले युएईमा कामसँगै तलब पनि तीन हजार दिराम हुने र खाना खर्च छुट्टै हजार दिराम पाइने भनी विदेश पठाएको पीडितहरूको दाबी छ, तर उनीहरू जुन कम्पनीमा भनेर गएका थिए, त्यो कम्पनी नै नरहेको उनीहरू बताउँछन्।

म्यानपावरका सञ्चालक लामिछानेले युएईमा पाँच महिनादेखि अलपत्र अवस्थामा पारेका सिन्धुपाल्चोकका सरोज श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, अनिश परियार र काभ्रेका सञ्जीव कार्की रहेका छन्। त्यस्तै दोलखाका बमबहादुर लोहार, हर्कबहादर बस्नेत र धादिङका सुरेश भुजेल भने ‘ओभर स्टे’ मा युएईमै जेलमा पनि परेका थिए। तर, अहिले उनीहरू सबै स्वदेश फर्किएर म्यानपावरको पिछा गरिरहेका छन्।

लामिछानेमार्फत विदेश पु¥याइएका युवा मात्र ठगीमा परेका होइनन्, स्वदेशमै रहेका थुप्रै जनालाई विदेश उडाउने विभिन्न सपना देखाउँदै लाखौंलाख पैसा असुल्दै आएको विदेश जान बाँकी पीडित पनि म्यानपावर नै उठिबास भएपछि त्यसका सञ्चालकको खोजीमा छन्।

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनाका उजुरी लिने र मिलापत्र गराउने, उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिबाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ओभरसिज म्यानपावर विरुद्ध दुईथरीका मुद्दा परेका छन्। उक्त म्यानपावरका सञ्चालक लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। लामिछाने पक्राउ नपरेको भुसालले जानकारी गराए।

‘ठगीमा परेका विदेश जान बाँकी युवाको उजुरी विभागको मुद्दा शाखामा रहेको छ,’ उनले भने, ‘विदेश गएर अलपत्रमा परी नेपाल फर्किएका युवाको हकमा उनीहरूले पाउने क्षतिपूर्तिवापतको रकम निर्णय गरेर म्यानपावरलाई पठाएका छौं।

उनीहरूको ३५ दिनभित्रमा पुनरावेदन गर्ने अधिकार हुन्छ। त्योअन्तर्गत श्रम मन्त्रालयमा पुनरावेदन गरे नगरेको भन्नेबारे बुझ्न केही समय अघिमात्रै पत्र पठाएको छौं। तर, श्रम मन्त्रालयबाट कुनै जवाफ आएको छैन।’

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार वैदेशिक रोजगारीका क्रममा ठगी सम्बन्धित कुल तीन हजार चार सय ९५ उजुरी परेका छन्। तीमध्ये फछ्र्याैट संख्या एक हजार पाँच सय ६० छ। साउनदेखि पुस मसान्तसम्म विभागको उद्धार राहत तथा समन्वय शाखामा ६ सय ९० उजुरी परेका थिए।

यस अवधिमा विदेशमा समस्यामा परेका ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ। जसमा एक सय ७२ जनाले क्षतिपूर्ति पाएका छन्, भने ७९ उजुरी दुई पक्षबीच आपसी सहमतिमा फछ्र्याैट भएको विभागको तथ्याकंमा उल्लेख गरिएको छ।

Published on: 12 February 2024 | Nagarik

Link

Back to list

;