s

म्यानपावर व्यवसायीसँग निःशुल्क भिसा र टिकटमा पठाएको विवरण माग

Year of Publication: 8 July 2024 | Gorkhapatra

Published by: CESLAM

काठमाडौँ, असार २२ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीसँग निःशुल्क भिसा र टिकटमा पठाएका श्रमिकको सम्पर्क नम्बरसहितको विवरण मागेको छ । विभागले सूचना सार्वजनिक गर्दै दर्ता भएर सञ्चालित सबै म्यानपावर कम्पनीसँग यस्तो विवरण माग गरेको हो ।

विभागका अनुसार म्यानपावरले दिने विवरणमा रोजगारीका लागि जाने श्रमिकको नम्बरसहित उल्लेख गरी १५ दिनभित्र विवरण पठाउन निर्देशनसहितको सूचना सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार व्यवसायीले मध्यपूर्व पर्ने खाडीका छ राष्ट्रसहित मलेसियामा रोजगारीका लागि माग ल्याउँदा निःशुल्क भिसा र टिकटको कोटा भएको कागजात सरकारी निकायमा बुझाएर विज्ञापनमा समेत निःशुल्क भिसा र टिकट उल्लेख गरी श्रमिक पठाउने गरेका छन् । विभिन्न अध्ययन अनुसार ९८ प्रतिशत श्रमिकले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

म्यानपावर व्यवसायीले बर्सौंदेखि निःशुल्क भिसा र टिकटमा माग ल्याएर श्रमिक पठाउन सम्भव नहुने भन्दै सरकारी नीतिको आलोचना गर्दै आएका छन् । अधिकांश म्यानपावर व्यवसायीले मलेसिया र मध्यपूर्वका श्रमिकलाई १० हजार रुपियाँको रसिद थमाएर अवैध रूपमा लाखौँ रुपियाँ असुल्ने गरेको गुनासो छ । यो विषयमा सरकारका जिम्मेवार निकाय जानकार छन् ।

यी विषयमा सरकारको चर्को आलोचना हुँदै पनि आएको छ । सम्बन्धित निकायले नियमन गर्न नसक्दा नीति कार्यान्वयन वा परिवर्तनको विकल्पसमेत नहुँदा व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गरेर मागसमेत किनेर ल्याइरहेका कारण लागत बढ्ने क्रमै रहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले निःशुल्क भिसा र टिकट भनेर विज्ञापन गरेका व्यवसायीले त विवरण पनि उपलब्ध गराउन सक्नु प¥यो भनेर नै विदेश जाने श्रमिकको सम्पर्क नम्बरसहितको विवरण माग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै व्यवसायीबाट विवरण आइरहेको छ । त्यो विवरणको सबै परीक्षण गर्छौं गलत गर्नेलाई त कानुन अनुसार कारबाही गरिने पनि प्रवक्ता सुवेदीको भनाइ छ । विभागका अनुसार नेपालमा शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायी पनि १० वटा रहेका छन् । अहिलेसम्मको विवरण हेर्दा १० वटा व्यवसायी कम्पनीले शून्य लागतमा राम्रै कमाइ हुने गरी मलेसियामा श्रमिक पठाउँदै आएको पाइएको विभागले जनाएको छ ।

Published on: 8 July 2024 | Gorkhapatra

Link

Back to list

;