s

मृत्युदण्ड अभियोग लागेका लामालाई सफाइ

Year of Publication: 10 March 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

 

मृत्युदण्डको अभियोग लागेका अशोक लामालाई मलेसिया उच्च अदालतले बुधबार सफाइ दिएको छ । हत्या अभियोगमा प्रहरीले उनलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।

मलेसियास्थित नेपाली दूतावासले लामाको पक्षमा वकिल राखेर मुद्दा लड्दै आएको थियो । ‘हाम्रा वकिलले कुशलतापूर्वक भूमिका निर्वाह गरेकाले लामाको ज्यान बच्यो,’ मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्नेतले भने, ‘उनको ज्यान जोगिएको सुनाउन पाउँदा हामी खुसी छौं ।’ लामालाई प्रहरीले फौजीदारी अपराधको कानुन नम्बर ३०४ अन्र्तगत मुद्दा चलाएको थियो । लामालाई जेलबाट डिपोर्टेसन सेन्टरमा ल्याएर राखिएको छ । ‘नेपाल पठाउने तयारी भइरहेको छ,’ उनले भने ।

नेपाली दूतावासका अनुसार लागूऔषध कारोबार र हत्या अभियोग लागेका थप ६ नेपालीको मुद्दा उच्च अदालतमा चलिरहेको छ । हत्या अभियोग लागेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ र लागूऔषध अभियोग लगेका राजकुमार शाह छन् । प्रहरीले उनीहरूलाई पनि मृत्युदण्ड सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

 मलेसियामा पाँच वर्षअघि सर्वोच्च अदालतले मृत्युदण्ड फैसला सुनाएका नुवाकोटका हरिबहादुर घलेलाई सजाय दिइएको छैन । उनलाई बचाउन दूतावासले कूटनीतिक पहल जारी राखेको छ । पुनरावेदन अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका सुुरजबहादुर सुनार र सुविर गोलेले सर्वोच्च अदालतमा अपिल गरेका छन् । दुवैलाई हत्या अभियोग लगाइएको छ । जेलमा रहेका ती नेपालीको पक्षमा अदालतमा मुद्दा लड्न ४ देखि १० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने दूतावासले जनाएको छ ।


published on: 10 March 2017 | Kantipur

Back to list

;