s

'मानव तस्करी' गर्ने ४९ जनालाई कारबाहीको तयारी

Year of Publication: 24 March 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगारको नाममा अवैध रूपमा नेपाली महिलालाई लैजाने गिरोहलाई कारबाही गर्न सरकारलाई सूची पठाएको छ । 

दूतावासले सरकारी प्रक्रियाबाट स्वीकृति नलिई अवैध रूपमा महिलालाई पठाउने ४९ जना गिरोहको पूर्ण विवरण प्रधानमन्त्री, पराराष्ट्र र वैदेशिक रोजगार विभागलाई पठाएको हो । यसरी पठाएको गिरोहलाई पक्राउ गरी कारबाही गर्न वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको अनुसन्धान ब्युरोबीच समन्वय भई काम अगाडि बढेको छ ।
 
पीडित महिलाले आफूलाई प्रलोभनमा पारी पठाएको दलालको विवरण दूतावासलाई दिएका हुन् । 'हामीले कारबाही गर्न पठाएको सबै दलालबाट गैरकानुनी ढंगले काम गरेको प्रमाण छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'कडा कारबाही गर्न सम्बन्धित निकायलाई विवरण पठाएका छौं ।'
 
अवैध रूपमा साउदी पठाएर ती दलालले वैदेशिक रोजगारको नाममा मानव तस्करी गरेको भन्दै विभागले मानव बेचबिखन मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न ब्युरोसँग सहकार्य गरेको जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले अवैध रूपमा मानिसलाई पठाउने काम 'मानव तस्करी' भएको बताए । हाल एम्नेस्टी इन्टरनेसनलले वैदेशिक रोजगारसम्बन्धी प्रतिवेदन जारी गर्दै यस्तो कार्य मानव तस्करीमा पर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
 
जुनसुकै नाममा भए पनि खुला सिामानको दुरुपयोग गरी अवैध रूपमा कामदार पठाउने कार्य मानव बेचबिखन तथा ओसार प्रसारसँग बढी आबद्ध रहेकाले अनुसन्धान गर्न दुई निकायबीच सहकार्य बढाएको हो । 'अवैध काम गर्नेलाई वैदेशिक रोजगार सुधार कार्यदलको ३० बुँदे सुझावमा विभागलाई मानव तस्करीसँग सम्बन्धित मुद्दाहरू अनुसन्धानको निमित्त अवलम्बन गर्न सुझाव समेत दिइएको छ,' उनले भने, 'यसलाई कार्यान्वयन गर्न प्रहरीसँग समन्वय भइरहेको छ ।' वैदेशिक रोजगारमा अवैध रूपमा पठाउनेलाई अहिलेसम्म मानव बेचबिखन मुद्दामा कारबाही भएको छैन ।
 
साउदीमा झन्डै ६७ हजार नेपाली महिला घरेलु काममा कार्यरत रहेका छन् । उनीहरू सबै मानव तस्करको रूपमा साउदी पुर्यातइएको हो । त्यसरी पुगेका महिलाहरू शारीरिक, मानसिक शोषणमा परेका छन् । यातना सहन नसक्नेहरू भने आत्महत्या गरिरहेका छन् । दूतावासले हरेक महिना ३० भन्दा बढीलाई उद्धार गरेर पठाएको छ ।
 
राजदूत पाण्डेले अवैध काम गर्नेलाई कारबाहीका लागि पहलको सुरुआत भएको बताए । त्यसका लागि दूतावासलाई साउदीस्थित नेपाली समुदाय, सामाजिक संघ-संस्थाबाट समेत सहयोग मिलेको छ । एनआरएन साउदीले त्यस्तो दलाललाई पक्राउ गर्नेलाई प्रतिदलाल १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । 'सोझा महिलालाई चंगुलमा पारेर पठाउने काम रोकिएन,' एनआरएन साउदीका अध्यक्ष धरम केसीले भने, 'त्यसरी पठाउने दलाल समात्नेलाई १० हजार रुपैयाँ दिनेछौं । त्यसका लागि हाम्रो कल्याणकारी कोषबाट एक लाख रुपैयाँ निकासा गरेका छौं ।' 
 
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारको नाममा अन्तर्राष्ट्रिय मानव तस्कर सञ्जाल रहेकाले त्यसलाई रोक्न वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव तस्करको घटनालाई छुटयाउन खोजेको बताए । 'अवैध रूपमा लगिएकाले गन्तव्य मुलुकमा बेचबिखन भए पनि त्यसलाई ठगीको रूपमा हेरिँदै आएको थियो,' उनले भने, 'अब बेचबिखनलाई बेचबिखनकै रूपमा हेरेर कारबाही हुन्छ ।'
महिलालाई पठाउने भुक्तभोगीहरूका अनुसार एक जनालाई पठाउँदा एक लाख रुपैयाँसम्म कमिसन पाउने यो काम सञ्जालको रूपमा अघि बढेको छ । साउदी दूतावासको एक विज्ञप्तिअनुसार जेद्दा, रियाद, दमामा सहरका महिला आपूर्ति केन्द्रबाट किनबेच नै हुने गरेको छ । 'त्यहाँबाट साहुले महिलाको उमेर, जिउडाल, रूप, अरबी/अंगेजी भाषाको ज्ञान भए/नभएको आधारमा १२ हजार देखि १६ हजार साउदी रियाल -तीन लाख २० हजार रुपैयाँ) मा खरिद गरी लान्छन्,' दूतावासले भनेको छ, 'ती खरिद गरिएका घरेलु कामदारको काममा चित्त नबुझेमा साहुले आफ्नो रकम फिर्ता पाउन ती कामदारलाई उक्त आपूर्ति केन्द्रमा केही समयका लागि छोडिदिन्छन् । यस अवधिमा अर्को साहुले ती कामदारलाई खरिद गरी लगेमा पहिलेको साहुको रकम फिर्ता हुन्छ । यस क्रममा कुनै महिला कामदारहरू ७/८ साहुहरूको खरिदबिक्रीको साधन बनिसकेका हुन्छन् ।'
 
सरकारले यसरी किनबेचलाई रोक्न र भारतीय बाटो हुँदै जाने प्रवृत्तिलाई रोक्न साउदीका लागि मात्रै छुट्टै कार्यविधि जारी गरेको छ । साउदीको नागरिकले सरकारको कार्यविधिभित्र रहेर नेपालबाट हाउसमेड लैजान पाउने भट्टराईले बताए ।
 
Published on: 24 March 2012 | Kantipur

Back to list

;