s

‘मानव तस्करी’ अभियोगमा फिनल्यान्डका नेपाली दम्पतीलाई सजाय

Year of Publication: Published on: 2 May 2023 | Kantipur

Published by: CESLAM

देवेन्द्र भट्टराई

काठमाडौँ — फिनल्यान्डको हेलसिन्कीस्थित रेस्टुरेन्टमा दुई नेपाली कामदारलाई वर्षौंसम्म मानसिक–शारीरिक प्रताडना दिएको र मानव तस्करी गरेको अभियोगमा स्थानीय अदालतले नेपाली दम्पतीलाई सजाय सुनाएको छ ।

फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा अदालतले शुक्रबार पीडितका पक्षमा फैसला सुनाएको हो । वर्षौंसम्म तोकिएको तलब सुविधा नदिइएको, मानसिक–शारीरिक प्रताडना र अमानवीय व्यवहार गरिएको भन्दै दोलखा मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले मुद्दा दायर गरेका थिए ।

अदालतले शर्मा दम्पतीलाई २० महिना ऐच्छिक जेलको सजाय सुनाएको छ । तर, यसको हकमा ऐच्छिक भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरेर ठगी तथा मानव तस्करीका अरू प्रकरण बाहिर नआएको खण्डमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ ।

अदालतले पीडित थापालाई झन्डै २ करोड ४० लाख रुपैयाँ (१ लाख ६५ हजार ६ सय ५८ युरो) र खरेललाई झन्डै १ करोड ८२ लाख रुपैयाँ (१ लाख २५ हजार ६ सय ९१ युरो) क्षतिपूर्ति रकम भराउन आदेश दिएको छ । यसबाहेक अपमान, मनोवैज्ञानिक क्षति र जरिवानाबापत दुवै कामदारलाई झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गरी गुल्मी, अर्घाखाँची, बागलुङ, पाल्पासहितका जिल्लाबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए । सुरुमा फिनल्यान्ड जाँदा निःशुल्क लगिए पनि उता पुगेपछि सेवा सुविधा हेरी ७ देखि ८ हजार युरो शर्मा दम्पतीले लिने गरेको र फिनल्यान्डको श्रम ऐनअनुसार तलब, काम गर्ने समय तथा अवधिसमेत आफूखुसी गरिएपछि उनीविरुद्ध स्थानीय प्रहरी–प्रशासनमा उजुरी थपिँदै आएका थिए ।

फिनल्यान्डको नियममा घरेलु कामदारकै हकमा मासिक १२ सय युरो दिनुपर्नेमा शर्माले कागजमा मात्रै त्यस्तो प्रबन्ध गरेको र कामदारलाई भने नेपालको बैंक खातामा ३०/४० हजार रुपैयाँ (३/४ सय युरो) मासिक पठाउने गरेको प्रमाणसमेत अदालतले संकलन गरेको छ । गैरआवासीय नेपाल संघ फिनल्यान्डका पूर्वअध्यक्ष शेखर आचार्यका अनुसार फिनल्यान्डमा ५० भन्दा बढी नेपाली रेस्टुरेन्ट छन् । औपचारिक तथ्यांकमा फिनल्यान्डमा ३ हजार ५ सय नेपाली रहेको भनिए पनि यो संख्या ५ हजारसम्म रहेको हुन सक्ने देखिएको छ । फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामिला डेनमार्कस्थित नेपाली दूतावासले हेर्दै आएको छ ।

यस्तै, मानव तस्करी र ठगीसहितको प्रकरणमा अदालती फैसलापछि फिनल्यान्डको तामपेरे सहरको कारागारमा गुल्मीका डिलाराम र रीमा सापकोटा दम्पती गत डिसेम्बरदेखि ३ वर्ष ८ महिना थुनामा परिसकेका छन् ।

सापकोटा दम्पतीले तामपेरे सहरस्थित आफ्नो रेस्टुरेन्टमा नेपाली कामदार ल्याएर बन्धक बनाई काम लगाएको उजुरी परेको थियो ।

०००

व्यवसायी देवीदत्त शर्माकै सेटिङमा ११ वर्षअघि फिनल्यान्ड पुगेकी दोलखा, मैनापोखरीकी थापा हेलसिन्की पुगेपछिका ५ वर्षसम्म बेहोरेका पीडा र दासता सम्झन चाहन्नन् । संयोगले पारिवारिक काममा अघिल्लो साता काठमाडौं आएकी उनी कान्तिपुर कार्यालयमा आफूले फिनल्यान्डमा नेपाली मालिकबाट बेहोरेको अमानवीय व्यवहार सुनाउन आएकी थिइन् ।

‘म दोलखाबाट घरेलु काम गर्न काठमाडौं आएकी थिएँ, अहिले फिनल्यान्ड बस्ने देवीदत्तकै जेठी श्रीमती अप्सराको घरमा काम गर्दै थिएँ,’ उनले सुनाइन्, ‘फिनल्यान्डबाट घर आएका देवीदत्तले मलाई काममा विदेश लैजाने र राम्रो पैसा, सुविधा दिने भनेर फकाए । म पनि सबै कागजी प्रक्रिया पुर्‍याएर फिनल्यान्ड पुगें ।’

दोलखाबाट बिहे गरेर आएकी र यता घरेलु काममा छँदा नाबालक दुई छोरीसहित घर धानिरहेका बेला तारा फिनल्यान्ड पुगेकी थिइन् । ‘यताबाट लैजाँदाको सर्तमा मासिक १२ सय युरो तलब पाउने भनिएको थियो तर श्रीमान्का खातामा मासिक ४० हजार रुपैयाँ मात्रै देवीदत्तले पठाउने गरेका थिए,’ सुरुदेखि खेपेको अन्याय सम्झँदै ताराले सुनाइन्, ‘उता हेलसिन्कीको बैंकमा पनि मेरो खाता खोलिदिएका थिए तर उताको नियम–कानुनलाई देखाउन मात्रै मेरो खातामा १२ सय युरो महिनाको जान्थ्यो, पैसा हालिदिए पनि एटीएम कार्ड मसँग थिएन ।’

सुरुमा घरेलु काममा मात्रै भनिए पनि केहीपछि देवीदत्तले उनकै रेस्टुरेन्टमा काम लगाएको र दिनरात वा साताको छुट्टी नभनी काममा खटिएपछि आफू बहुलाउन मात्रै नसकेको ताराले सुनाइन् । ‘मेरैजस्तो हालत अरूको पनि थियो तर कामबाट निस्कनुपर्ला भनेर बोल्न सक्ने कोही थिएन,’ उनले ती दिन सम्झेर आँसु पुछ्दै सुनाइन्, ‘खोइ के हो, नेपाली समाजका ठूला मान्छे भएकाले देवीदत्तको घरमा सातामा ३/४ रात तास खेल्नेहरू आउँथे । तिनको सेवामा खटिँदा म सुत्नसम्म पाउँदिनथें, हदैको अन्याय भएपछि मैले काठमाडौंमा फोन गरेर देवीदत्तकी जेठी श्रीमतीलाई दुखेसो पोखेकी थिएँ । त्यसपछि मलाई अनेक आरोप लगाउँदै देवीदत्त र उनकी श्रीमती मञ्जुले २०१७ मार्च २३ मा कामबाट र घरबाटै बाहिर निकालिदिएका थिए ।’

कमाएर पठाउली र गरिखान सजिलो होला भनेर श्रीमान् र दुई छोरी काठमाडौंमा पर्खिरहेका हुन्थे । उता तारा भने कहिले स्थानीय ‘सोसल’ (समाज कल्याणजस्तै) र कहिले प्रहरीको सहारामा दिनरात गुजार्दै थिइन् । देवीदत्तको घरबाट कामदार निकालिएको भनेपछि फिनल्यान्डको एनआरएन पनि तैं चुप मै चुप थियो । त्यसपछि आफ्नै बलबुता र केही नेपाली महिला सहृदयीको सहयोगमा २०१९ अप्रिलमा तारा स्थानीय अदालतमा पुगेकी थिइन् । ‘त्यसबीचमा अनेक दुःख गरेर मैले फिनल्यान्डको भाषा र केही अंग्रेजीसमेत सिकेकी थिएँ, मैले देवीदत्त र उनकी श्रीमती मञ्जुले आफूमाथि गरेको शोषणबारे त्यहाँको प्रहरी, वकिल र अदालतलाई बताउन सकें,’ संघर्षका दिन सम्झेर ताराले सुनाइन्, ‘एउटा विकास भएको देशमा कसैलाई अन्याय गर्नुहुन्न भन्ने बुझ्नेहरू पनि हुनेरहेछन् । ती प्रहरी र वकिलले मैले खानै नपाएको, सुत्न नपाएको र ममाथि दुर्व्यवहार भएको सबै कुरा टिपेका थिए । एउटा तलब दिने भनेर अर्कै दिएको बारे पनि मैले भनेकी थिएँ ।’

संयोगले यो संघर्षसँगै भाषा र स्थानीय कामकाजको पकडले गर्दा ताराले आफ्ना श्रीमान् राजेन्द्र थापा र दुई छोरीलाई पनि तीन वर्षअघि फिनल्यान्ड लगिसकेकी छन् । ‘मैले केही गरेर देखाउनैपर्छ भनेर दिनरात काममा लागिरहें, छोरीहरू पढाउन र बूढालाई भाषा सिकाउनमा पनि लागें,’ जम्मा ७ कक्षा पढेकी ताराको अठोट थियो ।

आफूले दायर गरेको मुद्दाको गत शुक्रबार सुनुवाइ भएको थाहा पाएपछि र आफूले पहिलो चरणको न्याय पाएको बोध गरेपछि ताराले सोमबार फोनमै सुनाइन्, ‘अहिले पनि मजस्ता पीडित र मानव तस्करीको फन्दामा पर्ने दाजुबहिनीहरू फिनल्यान्डमा धेरै छन्, उनीहरू धेरैजसो आफ्नै नातेदारको घेरामा बसेका छन् । ती रेस्टुरेन्टभित्रका काममा बँधुवा मजदुरजस्तै बसेका छन् । म अब ती सबैका लागि पनि बोल्न तयार छु । अब दबिएर बस्ने होइन, आफ्नो न्याय र अधिकारका लागि अघि आउनुपर्छ भनेर म फिनल्यान्ड गएर अभियानै चलाउनेछु ।’

०००

अदालतले शुक्रबार गरेको फैसलाबाट न्याय पाउने अर्का पात्र हुन्– गुल्मी, आँपचौरका ५० वर्षीय दिल खरेल । एक दशकअघि रोजगारीका क्रममा भारतदेखि खाडी मुलुकसम्म चहारिरहेका बेला फिनल्यान्डमा गुल्मेली आफन्तहरू एकपछि अर्को काममा जान थालेको चाल पाएका थिए । त्यही बेला फिनल्यान्डका गुल्मेली अगुवा एवं रेस्टुराँ व्यवसायी देवीदत्त शर्मालाई हारगुहार गरेर ९ वर्षअघि हेलसिन्की पुगेका थिए । त्यहाँ देवीदत्तकै हिमालयन रेस्टुराँमा कुक बनेर काम गर्न थाले । काम गर्ने कति घण्टा हो, छुट्टी सातामा कति दिन हो भन्नेसम्म थाहा नभएकै अवस्थामा दिल काममा जोतिएका थिए । तलबको पनि त्यति टुंगो थिएन । त्यसमाथि नेपालबाट काममा लगिदिएबापत उनले देवीदत्तलाई ७ हजार ६ सय ५० युरो बुझाइसकेका थिए ।

काम गर्दै जाने क्रममा त्यही हिमालय रेस्टुराँमा काम गर्ने दोलखाकी तारा थापामाथि भइरहेको दिनरातको अन्यायबारे उनले थाहा पाइसकेका थिए । तारालाई रेस्टुरेन्ट र देवीदत्तको घरबाट निकालिएपछि दिललाई पनि देवीदत्तले ‘जबर्जस्ती बिदा’ मा नेपाल पठाएका थिए । ‘मेरो तारासँग चिनजान छ र उनीप्रति सहानुभूति छ भन्ने थाहा पाएर त्यही बेला उठीबास लगाउन लागिएको थियो,’ दिलले हेलसिन्कीबाट फोनमा सुनाए, ‘म पनि देवीदत्तका विरुद्ध उजुरी दिनेमा परेको थिएँ । पछि नेपालबाट फर्किएपछि मलाई एयरपोर्टबाटै प्रहरीले सोधपुछमा लगेको थियो, विशेष सुरक्षा दिएर राखेको थियो ।’

अदालतमा मुद्दा हालेको चार वर्षमा प्रारम्भिक फैसला आएको र यसबाट आफू खुसी रहेको दिलले सुनाए । अहिले फिनल्यान्डकै आवासीय कार्ड बनाएर एउटा छोरोसमेत गुल्मीबाट लिएर गएका उनी आफू र ताराजस्तै अन्याय बेहोरेर बस्नेहरू अरू पनि उत्तिकै रहेको बताउँछन् । ‘धेरै भए देवीदत्तहरू यो फैसलाको पुनरावेदनमा जान सक्छन् तर फिनल्यान्डजस्तो देशमा हामीजस्ता सामान्य कमदारको आवाज सधैं दबिएर बस्न सक्दैन भन्ने लागेको छ,’ उनले सुनाए ।

०००

एनआरएन फिनल्यान्डका संस्थापकसमेत रहेका देवीदत्त शर्माको मानव तस्करी प्रकरण बाहिर आएपछि हेलसिन्कीवासी नेपाली समाजका अगुवा र एनआरएनकर्मीहरू ‘लज्जित’ बनेका छन् । ‘मानव शोषण र तस्करीको अभियोग यसरी पुष्टि भएको अवस्थाले नेपाली समाजलाई क्षति पुर्‍याएको छ,’ फिनल्यान्डस्थित एनआरएनका पूर्वअध्यक्ष शेखर आचार्यले कान्तिपुरसँग भने, ‘फिनल्यान्डमा रेस्टुराँ व्यवसाय र नेपाली खानाको पहिचान बढाउने स्वयं देवीदत्त शर्मा नै हो तर यहाँको नियम–कानुनविरुद्ध उभिएपछि कसैले केही भन्न सक्ने स्थिति रहन्न ।’

अर्का पूर्वअध्यक्ष वसन्त गौतमले देवीदत्तको मानव तस्करीको प्रकरण यसअघि एनआरएनमा बहसमा आए पनि हस्तक्षेप गर्न सकिने विषय नरहेको बताए । ‘यस्ता मामिलामा कुनै प्रकारको मेलमिलाप वा सहमति गरिने अवस्था यहाँको कानुनमा झनै घातक हुन सक्छ,’ उनले भने, ‘तर, यो गम्भीर मामिला हो । यसलाई सामान्य रूपमा लिन मिल्दैन ।’ एनआरएनका कार्यवाहक अध्यक्ष सुवास रिजालले भने यो प्रकरणमा अदालतको पूर्णपाठ नआई तत्काल केही भन्न नसकिने प्रतिक्रिया दिए ।

Published on: 2 May 2023 | Kantipur

Link

Back to list

;