s

मलेसियामा पक्राउ परेका नेपालीको संख्या यकिन हुन सकेन

Year of Publication: 24 January 2014 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

मलेसिया सरकारले आफ्नो मुलुकमा गैरकानुनी रूपमा बसेका विदेशी कामदारमाथिको धरपकड जारी राखेको छ। नेपालीसहित विभिन्न मुलुकबाट मलेसिया पुगेका अवैध कामदार फिर्ता गर्न मलेसियाले धरपकड अभियान थालेको हो।

यसक्रममा केही नेपाली कामदार पक्राउ परेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार पक्राउ परेका नेपाली कामदारको संख्या यकिन हुन नसके पनि ५० भन्दा बढी पक्राउ परेका छैनन्। विभिन्न ठाउँबाट कामदार पक्राउ परेको हुनाले यकिन विवरण संकलन गर्न कठिनाइ भएको छ।

मलेसियाका लागि नेपाली राजदूत नीरञ्जनमान सिंह बस्न्यातले मलेसियाले गैरकानुनी कामदार (अनडकुमेन्टेड) लाई धमाधम पक्राउ गरिरहेको बताए। नेपालीसहित अन्य मुलुकका कामदार पनि पक्राउ परिरहेका छन्। राजदूत बस्न्यातले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा पक्राउ परेका नेपाली कामदारको संख्या यकिन हुन नसकेको जानकारी दिए।

मलेसियामा ४० हजारदेखि ५० हजार हाराहारीमा गैरकानुनी नेपाली कामदार रहेको अनुमान छ। हाल यो मुलुकमा चार लाख ५० हजारभन्दा बढी नेपालीले काम गरिरहेका छन्। नेपाली दूतावासले बिदाको दिनसमेत कार्यालय खोलेर ट्राभल डकुमेन्ट जारी गरिरहेको छ। हालसम्म एक हजार आठ सयजनालाई यात्रा अनुमतिपत्र जारी गरिसकिएको राजदूत बस्न्यातले जानकारी दिए। दूतावासले अनुमतिपत्र लिएर स्वदेश फिर्ता हुन गैरकानुनी कामदारसँग आग्रह गरेको छ।

मलेसियाले पक्राउ गरेर फिर्ता पठाएका कामदारलाई फेरि मलेसिया प्रवेश निषेध गर्ने सम्भावना रहेको छ। मलेसियाले गैरकानुनी कामदार आफ्नो मुलुकबाट हटाउन तीन महिनाअघि पनि धरपकड अभियान सञ्चालन गरेको थियो।

त्यसबेला सोचेअनुसार गैरकानुनी कामदार पक्राउ गर्न नसकेपछि अहिले फेरि विशेष तयारीसहित धरपकड सुरु गरेको हो। सन् २०१८ भित्र मलेसियालाई विकसित मुलुकको दर्जामा पुर्‍याउन अदक्ष विदेशी कामदारको संख्या घटाउने रणनीति त्यहाँको सरकारले बनाएको छ।

यही योजनाबमोजिम पहिलो चरणमा गैरकानुनी कामदारलाई पक्राउ गर्न थालिएको हो। गैरकानुनीको संख्या निर्मूल पारेपछि अदक्ष कामदारको संख्या कटौती थाल्ने मलेसिया सरकारको योजना छ।

Published on: 24 January 2014 | Annapurna Post

Back to list

;