s

मलेसियामा जाने श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षा

Year of Publication: 16 February 2021 | Nagarik

Published by: CESLAM

रुद्र खड्का

सर्वाधिक श्रम स्वीकृति लिने र धेरै नेपाली श्रमिकको मृत्यु हुने गन्तव्यको रूपमा चिनिएको मलेसियामा रोजगारीका लागि जाने नेपालीलाई त्यहाँको सामाजिक सुरक्षा संस्था (सोक्सो) मा आबद्ध गराइने भएको छ। केही दिनअघि मन्त्रिपरिषद् बैठकले नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउने प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई जिम्मा दिएको छ।

यद्यपि मलेसिया सरकारले भने नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउने प्रक्रियामा सहमति जनाउन अघिल्लो वर्षदेखि नै सम्पर्क बढाइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। सोक्सोमा आवद्ध भएपछि श्रम स्वीकृति लिएर मलेसिया गएका श्रमिकको निधन भएको खण्डमा आश्रित परिवारले आजीवन पेन्सन पाउने बोर्डले जनाएको छ।

श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पेन्सन पाउने श्रेष्ठले जानकारी दिए।सोक्सोमा आबद्ध हुने श्रमिकले अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्योपचार, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा र अन्तिम संस्कारको खर्चसमेत प्राप्त गर्ने श्रेष्ठले बताए।

मृतक कामदारको दाहसंस्कार गर्न सोक्सोले दुई हजार रिंगेट (अहिलेको दर अनुसार करिब ५७ हजार ६ सय ८० रूपैयाँ) प्रदान गर्नेछ। तर कामदारको शव नेपाल ल्याउनुपरेमा सोक्सोले ६ हजार पाँच सय रिंगेट (करिब एक लाख ८७ हजार रूपैयाँ) प्रदान गर्नेछ।श्रमिक दुर्घटनामा परी अंगभंग भएमा सबै उपचार खर्च सोक्सोले नै बेहोर्नेछ। 

मन्त्रिपरिषद्ले स्वीकृति दिएकाले केही दिनमै बोर्ड र सोक्सोबीच सम्झौता हुने तयारी गरिएको छ। कोरोना महामारीका कारण करिब एक वर्षदेखि नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाएका छैनन्। सम्भवतः चैत महिनादेखि मलेसिया रोजगारी सुचारु हुने र त्यतिबेलादेखि नै त्यहाँ जाने सबै श्रमिक सोक्सोमा आवद्ध हुन पाउने गरी तयारी गरिएको छ।

मलेसिया जाने श्रमिकलाई त्यहाँका रोजगारदातामार्फत सोक्सोमा दर्ता गरिनेछ। सोक्सोमा आवद्ध हुँदा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १.६० प्रतिशतबराबर रकम जम्मा गर्नुपर्नेछ। यो रकम रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिकबाट कटाउन भने पाउने छैनन्। रोजगारदाताले श्रमिक लैजाने निश्चित भइसकेपछि सोक्सोमा श्रमिकको विवरण दर्ता गराउनुपर्नेछ। 

हरेक वर्ष दुई सय बढीको मृत्यु

रोजगारीका लागि मलेसिया जाने श्रमिकमध्ये हरेक वर्ष दुई सय बढी नेपालीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ। बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्ममा मलेसियामा काम गर्ने एक सय ६५ नेपाली श्रमिकको मृत्यु भएको छ। आव २०७६/७७ मा एक सय ७६, आव २०७५/७६ मा दुई सय २९, आव २०७४/७५ मा दुई सय ८९ को निधन भएको थियो। त्यस्तै आव २०७३/७४ मा दुई सय ६०, आव २०७२/७३ मा तीन ३९, आव २०७१/७२ मा चार सय २५ र आव २०७०/७१ मा तीन सय तीनको निधन भएको थियो। 

मलेसिया नेपाली श्रमिकले श्रम स्वीकृति लिएर जाने सर्वाधिक ठूलो गन्तव्य हो। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख नेपाली मलेसिया गएका थिए। तीमध्ये अझै पनि करिब चार लाख उतै रहेको विभागको अनुमान छ। तीमध्ये केही कागजातविहीन रहेको बताइन्छ। 

कागजातविहीन भएका श्रमिक भने सोक्सोमा आबद्ध हुन पाउने छैनन्। श्रम विज्ञहरू मलेसिया जाने श्रमिक सोक्सोमा आवद्ध हुन पाउने भएजस्तै अब अन्य गन्तव्य मुलुकले पनि त्यस्तै गर्नुपर्ने बताउँछन्। सरकारले विश्वका एक सय १० (हाल तीन बन्द) गन्तव्यमा रोजगारीका लागि जाने श्रमिकलाई श्रम स्वीकृति दिने गर्छ। तर श्रम स्वीकृति लिनेमध्ये मलेसिया, कतार, युएई, साउदी अरेबिया, बहराइन, ओमानमा करिब ९० प्रतिशत जाने गर्छन्।

Published on: 16 February 2021 | Nagarik

Link

Back to list

;