s

मलेसियामा अवैध आप्रवासी नेपालीमाथि अमानवीय व्यवहार, दूतावास बेखबर

Year of Publication: 5 January 2014 | Nagarik 

Publication Type: NEWS

Published by: CESLAM

मलेसियाले गत भदौमा पक्राउ गरेका नेपालीलगायत विभिन्न देशका अवैध कामदारलाई राम्रोसँग खानसमेत नदिएर अज्ञात रुपमा राखेको छ। त्यहाँको प्रहरी र प्रशासनले व्यापक धरपकड गरी नेपाली, बंगलादेशी, पाकिस्तानी, इन्डोनेसियाली, बर्मेली, भियतनामीसहित दुई हजारभन्दा बढी अवैध आप्रवासी पक्राउ गरेको थियो।

उक्त धरपकडमा ५ सयभन्दा बढी नेपाली कामदार पक्राउ परेका छन्। तर पक्रेको चार महिना भए पनि उनीहरुबारे सम्बन्धित देशका दूतावासलाई मलेसियाले अझै विस्तृत जानकारी दिएको छैन। त्यहाँको अध्यागमन विभागले नेपाली कामदारका विषयमा हालसम्म कुनै जानकारी उपलब्ध नगराएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 
मलेसियाका लागि नेपाली राजदूत निराजन बस्नेतले पटकपटक आग्रह गर्दा पनि पक्राउ परेका नेपालीबारे सम्बन्धित निकायले कुनै तथ्यांक र जानकारी नदिएको टेलिफोनमा नागरिकलाई बताए। पक्राउ परेका कामदारलाई ३२ वटा क्याम्पमा राखिए पनि ३ वटामा मात्र अनुगमन गर्ने अनुमति दूतावासलाई दिइएको छ। राजदूत बस्नेतले नेपाली कामदारको अवस्था बु‰न दूतावास लागिपरेको तर अनुमति नपाएको बताए। 
'जेल र क्याम्पमा पुग्न मलेसिया सरकारको अनुमति चाहिन्छ तर अहिलेसम्म अन्य क्याम्प र जेलका लागि अनुमति दिइएको छैन। न पक्राउ परेका कामदारको अवस्था र संख्या जानकारी दिइएको छ,' उनले भने। 
राजदूत बस्नेतसहित केही अधिकारी र प्रतिनिधिले केही दिनअघि ३ वटा क्याम्प अनुगमन गरेर पक्राउ परेका नेपालीबारे बुझेका थिए। तीनवटा क्याम्पमा एक सय ८०, एक सय ३७, र ५० जना गरी ३ सय ६७ कामदार रहेको दूतावासले जनाएको छ। आफूहरुलाई राम्रोसँग खान पनि नदिई राखिएको क्याम्पका कामदारले अनुगमन टोलीसँग गुनासो गरेका छन्। क्याम्पमा रहेका ओखलढुंगाका एक कामदारले खाना समयमा नदिने, कहिले एक छाकमात्र दिने र गाईको मासुसमेत दिएको गुनासो गरेको अनुगमनमा संलग्न एक अधिकारीले बताए। 
राजदूत बस्नेतले अनुगमन गरिएका ३ वटा क्याम्पमा कामदारलाई यातना नदिइएको तर खानाको विषयमा गुनासो आएको बताए। 'गाईको मासु दिइएको रहेछ, हाम्रो धर्मअनुसार हुँदैन भनेपछि त्यो रोकिएको छ,' उनले भने, 'हामीले बाँकी क्याम्पमा पनि बुझ्ने प्रयास गरेका छौं। अनुमति पाउनेबित्तिकै बाँकी क्याम्पको पनि अनुगमन गर्छौं। 
मलेसिया सरकारले गत भदौमा अवैध आप्रवासीविरुद्ध 'अपरेसन' गरेको थियो। उसको उद्देश्य गैरकानुनी कामदारलाई पक्रेर सम्बन्धित देश पठाउने भनिए पनि पक्राउ परेको ४ महिनासम्म कामदारलाई कानुनी कारबाही प्रक्रिया अगाडि नबढाई हिरासतमा राखिएको छ। अवैध आप्रवासीविरोधी धरपकडमा सरकारी र स्वयंसेवी संस्थाका १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाइएको थियो। त्यहाँ करिब ५ लाख अवैध आप्रवासी रहेको अनुमान छ। 
मलेसियाली अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल, र राष्ट्रिय दर्ता विभागले क्वालालम्पुर, पेनाङ, जोहरबरु, सेलानगर क्षेत्रका अवैध आप्रवासी पक्राउ गरी तत्काल स्वदेश फर्काउने अध्यागमन विभागका महानिर्देशक डटुक अलिस अहमदले बताएका थिए। 
मलेसियाकोे विभिन्न क्षेत्रमा रहेको १२ बन्दीगृहमा सबैलाई पक्राउ गरेर राख्दा त्यसको क्षमताले नपुग्ने भन्दै पक्राउ गर्नेबित्तिकै फिर्ता पठाउने नीति बनाइएको उनले बताए पनि अहिलेसम्म प्रक्रिया थालिएको छैन। पक्राउ परेका कामदारलाई मुद्दा चलाउने कि जरिवाना गरेर स्वदेश पठाउने भन्ने केही जानकारी पनि अहिलेसम्म नभएको मलेसियाको जोहरबरुमा रहेका महेन्द्र क्षत्रीले बताए। क्षत्रीले साथीको विषयमा बुझ्न खोज्दा केही जानकारी हासिल गर्न नसकेको नागरिकलाई बताए। 
मलेसिया सरकारले अवैध कामदारलाई आप्रवासी ऐन २००७ अन्तर्गत अवैध मानव ओसारपसार तथा तस्करीअन्तर्गत कारबाही गर्ने पनि जनाएको छ। सरकारले एक वर्षको समयमा दिँदा पनि अधिकांश अवैधानिक कामदारले देश नछोडेको भन्दै ठूलो संख्यामा प्रहरी र कर्मचारी लगाएर पक्राउ गरिएको जनाएको थियो। 
पछिल्लोपटक नेपाली कामदारको लागि प्रमुख गन्तव्य रहेको मलेसियामा नेपाली कामदार जाने क्रम बढेको छ। त्यस्तै मलेसियामा कम्पनी छोडेर अर्को कम्पनी जाने, त्यही विवाह गरेर बस्ने, धर्म परिवर्तन गरेर बस्ने अवैधानिक कामदारको संख्या बढ्दै गएको छ। मलेसियामा हाल करिब ७ लाख नेपाली कामदार रहेका छन् भने करिब १ लाख कामदार अवैधानिक रुपमा रहेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र १ लाख ५६ हजार ७ सय ७० नेपाली मलेसिया पुगेका थिए।

Published on: 5 January 2014 | Nagarik 

 

Back to list

;