s

मलेसियामा १९ नेपाली कामदार अलपत्र

Year of Publication: 9 January 2022 | Kantipur

Published by: CESLAM

हरिराम उप्रेती

गोरखा — रोजगारीको शिलशिलामा मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन् । आठ दिनदेखि उनीहरू केलाङ भन्ने सहरको एक भवनभित्र तेस्रो तलामा बन्धक बनाइएका छन् ।

काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए ।

जनवरी १ तारिखका दिन कम्पनीको ‘बोस’ले रौतहट घर भएका हिरालाल राउतलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अन्धकार कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जाल मार्फत् हारगुहार गरेका छन् ।

बारम्बार कम्पनीका बोसबाट कामदारलाई कुटपिट र यातना दिने क्रम नरोकिएपछि विरोध गर्दा आफूहरुलाई कम्पनीले निकालेको गोरखाको सहिद लखन गाउँपालिका–६ का ठाकुर रेग्मीले बताए । ‘१ तारिखका दिन २५/२५ किलोको दुईवटा बोरा एकै पटक दुई हातले उचाल्न नसकेको भन्दै एक जना साथी(हिरालाल राउत) माथि कुटपिट भएछ, सामान्य विषयमा कुटपिट गरेको साथीले भनेपछि हामीले ठूलो बोसलाई कुटपिटका बामा बतायौँ,’ उनले भने,‘हामीसँगै हुँदा ठूलो बोसले सानो बोसलाई किन कुटिपट गरेको भनेर पनि सोधे, केही बेरपछि चाइनिज एजेन्ट आए, हाम्रो भिसा लागेको पासपोर्ट कागजपत्र सबै खोसेर गाडीमा राखी कम्पनी भन्दा १५ किलोमिटर परको एउटा घरमा ल्याएर राखेका छन् ।’

सुरुमा कम्पनीमा काम गर्ने २८ जनालाई केलाङको पुर्‍याएर राखिएको थियो । तीन दिनपछि भने २८ मध्ये नौ जनालाई कम्पनीमा फर्काइएको छ ।

कम्पनी मालिक, मलेसियाको पुलिस, चाइनिज एजेन्टले आफूहरुलाई अनकन्टार बन्द कोठामा पुर्‍याएर अलपत्र परेकाहरूले बिलौना गरे । ‘पानी, बत्ती केही पनि छैन, अन्धकार कोठाभित्र १९ जना छौं,’ रेग्मीले भने,‘सुरुको दिनमा त ३६ घण्टासम्म केही खान पाएनौँ, अहिले कहिले दुई छाक, कहिले एक छाक खान चाहिँ दिएका छन् ।’ आफूहरुलाई राखेको ठाउँ नजिकै पुलिस स्टेसन, दुई वटा प्रेट्रोलपम्प रहेको भोजपुर घर भएका बाबुराम वास्तोलाले भिडियो कुराकानीमा बताए ।

‘हामीसँग कागजपत्र नभएपछि बाहिर हिँडडुल गर्न पनि मिल्दैन, पुलिसको चाल बुझेर कहिलेकाहीँ बाहिर निक्लन्छौँ,’ वास्तोलाले भने,‘सबै कागजपत्र खोसेर राखेपछि हामी इलिगल भयौँ, नेपाली पार्टनरको चाइजिन एजेन्टले यहीँ मरोस, यहीँ सडोस्, मतलब छैन, भन्दै उनीहरुकै भाषामा कुरा गर्छन् ।’

गोरखाको सहिद लखन गाउँपालिका–६ का ठाकुर रेग्मी, भिमसेन थापा गाउँपालिका–८ का विष्णु प्रसाद ढकाल, भिमसेन थापा–७ का टिकाराम गोतामे र सुजन गोतामे, सहिद लखन गाउँपालिका–८ का कमलबहादुर श्रेष्ठ अलपत्र परेका हुन् ।

त्यस्तै भोजपुरका बाबुराम वास्तोला, सप्तरीका सुनिल अधिकारी, बैतडीका कैलाश लोहार, रौतहटका वीरवल राय यादव, हजारी प्रसाद पटेल, रौतहटका हिरालाल राउत, उदयपुरका चन्द्रबहादुर खत्री, धादिङका बाबुलाल विक, सुरज खड्का, चितवनका सन्तोष परियार, मकवानपुरका प्रदिप कोइराला, भुवन कोइराला, ईश्वर कोइराला र भेषबहादुर सुवेदी अहिले अलपत्र छन् । उनीहरुले सकुशल नेपाल आउने वातावरण बनाइदिन बिलौना गरेका छन् । ‘हामी बारम्बार मानसिक र शारीरिक याताना सहेर बस्न सक्दैनौं,’ कान्तिपुरसँगको भिडियो कुराकानीमा भोजपुरका बाबुराम वास्तोलाले भने,‘सकुशल नेपाल पुग्न पाउँ भन्ने हाम्रो माग हो ।’ कम्पनीले गरेको व्यवहारबारे मलेसियास्थित राजदूतावासलाई पनि जानकारी गराएको उनीहरुले बताएका छन् ।

Published on: 9 January 2022 | Kantipur

Link

Back to list

;