s

'मलेसियाले फर्काइदियो, होटल खोल्दा हामीले छोएकै नखाने भन्छन्, अब के गर्नु!'

Year of Publication: 20 December 2023 | Setopati

Published by: CESLAM

हेटौंडामा जन्मिएका दिपेश (परिवर्तित नाम) सानैदेखि केटी साथीहरूसँग घुलमिल हुन्थे। उनीहरूसँगै भाँडाकुटी र चुंगी खेल्थे।

सँगैका केटाहरू फुटबल र गाडी खेल्न रमाउँथे। यस्ता खेलमा उनलाई कुनै रूचि हुन्थेन। केटाहरूसँग खेल्न कहिल्यै जाँदैन थिए।

उनलाई त लिपस्टिक-गाजल लगाई चिटिक्क बनेर हिँड्न मन लाग्थ्यो। कहिलेकाहीँ लगाएर ऐना हेर्दै दंग पर्थे।

आमाबाका पाँच छोरामध्ये कान्छा थिए उनी। उनको यस्तो व्यवहार परिवारलाई मनपरेको थिएन। छोरा भएर के गरेको भनेर गाली गर्थे। हकार्थे। उनलाई हप्काइ खानुपर्दा नराम्रो लाग्थ्यो।

'छोरा भएर जन्मिए पनि मलाई छोरीजस्तै राम्री भएर हिँड्न मन लाग्थ्यो,' उनलाई त्यो बेला अझै ताजै लाग्छ।

उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। खान-लाउनै कठिन, लेखपढ गराउन सक्ने अवस्था थिएन।

उनी लगभग १२ वर्षका हुँदाको कुरा हो। फुपूका घरमा बसेर पढ्न भनेर परिवारले उनलाई काभ्रे पठायो। बिहान बेलुका काम गर्थे। दिउँसो स्कुल जान्थे। त्यहाँ कक्षा ५ सम्म पढे। पढाइ खासै राम्रो भएन। त्यहाँ बस्न पनि मन लागेन उनलाई। आफ्नै घर गए।

बालख दिपेश किशोर हुँदा घर पुगेका थिए। उनलाई आमाबाबुले नै चिनेनन्।

अहिले उनको यस्तो अनुमान छ, 'म हुर्किने क्रममा फरक देखिएँ होला। मेरो हाउभाउ र बोलीका कारण उहाँहरू झुक्किनुभयो होला। रेडियो नेपाल मात्र बज्ने पालामा लामो समय देखभेट हुन नपाएपछि कसरी चिन्नु र!'

घरमा केही समय बसेपछि उनी काम गर्न काठमाडौं आए। गाडीमा सामान राख्ने र झार्ने काम गरे। सहचालक पनि भए। केही समयपछि ज्यामी काम गरे। दिनभर काम गर्दा पनि जीन्दगी सोचेजस्तो चल्न सकेन। दुःख एकनास थियो। उनी गाउँ नै फर्किए।

गाउँमा ‍बाआमाले बिहेको कर गरे। त्यति बेलासम्म दिपेशले आफू किन अरू केटाभन्दा अलग छु भन्ने भेउ पाएका थिएनन्। बिहे गर्न मनै थिएन तर बाध्यतामा परे।

'बिहे भइहाल्यो, उनीसँग कहिलेकाहीँ शारीरिक सम्बन्ध हुन्थ्यो। तर साह्रै उकुसमुकुस हुन्थ्यो। माधुर्यता थिएन,' त्यो समय आज पनि दिमागमा घुमिरहन्छ उनको।

उनका दुई छोरा जन्मिए। जिम्मेवारी थपिएसँगै कमाइले पुगेन। गाउँका थुप्रै युवाझैं उनले पनि विदेश जाने सोचे। सन् २०१० मा मलेसिया उडे। पुरूष कोटामा 'लेबर' कामका लागि गएका उनलाई मलेसिया विमानस्थलले झन्डै फर्काएन।

उनको पासपोर्टको फोटोमा कपाल लामो थियो। पासपोर्ट र अनुहार जुधाउँदै विमानस्थलका कर्मचारीले हेरे। उनीहरूको कुरा दिपेशले बुझेनन्। उनीसँगै गएका साथीले 'तिमी केटा हो कि केटी भनेर हेर्दैछ' भनिदिए।

दिपेश झसंग भए। त्यो बेलासम्म पनि उनी आफ्नो पहिचानबारे स्पष्ट थिएनन्।

कर्मचारीले निकै बेरपछि उनलाई पठाइदिए। काम गर्न गएको कम्पनी लिन आएको थियो। उनलाई लगेर अरू नेपाली पुरूषसँगै राखिदियो। उनी असहज महसुस गरिरहेका थिए। त्यसबेलै दिपेश गाजल लगाउँथे। ओठमा हल्का लिपस्टिक पनि दल्थे। साथीहरू उनको हाउभाउ हेरेर जिस्काउँथे।

'यो त केटी हो कि क्या हो भन्थे। लुगा खोलेर हेरौंसम्म भन्थे,' त्यो सम्झिँदा उनको मन अहिले पनि चिसो हुन्छ।

कम्पनीका मेनेजरले पनि उनलाई नियालिरहेका थिए। उनको व्यवहार अरू पुरूष श्रमिकको भन्दा फरक देखेपछि म्यानेजरले एक दिन भने — तिमी अर्कै समुदायको मान्छे रहेछौ, यहाँ तिमीहरू जस्ता मानिसको संस्था छ, म लगिदिन्छु!

दिपेशले त्यो बेला कुरा बुझेनन्। उनलाई त आफ्नोबारे थाहै थिएन। उनले मेनेजरलाई केही जवाफ फर्काएनन्।

करिब एक महिना पुरूषहरू सँगै बसेका उनलाई पछि छुट्टै कोठामा राखियो। दिपेशले किन यसो गरेको भनेर साथीहरूलाई सोधेका थिए।

साथीहरूले मजाक उडाउँदै जवाफ दिए, 'तिम्रो बानीबेहोरा केटी जस्तो भएर छुट्टै राखेको रे, हामीले तिमीलाई छोइदिन्छौं, बिगारिदिन्छौं भनेर रे।'

त्यसपछि कम्पनीले गर्ने व्यवहार पनि फरक भयो। पुरूष साथीहरूसँग लामो समय गफ गर्न र नजिक बस्न दिएन। आफूलाई किन फरक व्यवहार गरिँदैछ भन्ने प्रश्नले दिपेशलाई सताइरहन्थ्यो। तर छुट्टै कोठामा बस्नुपर्दा दुःखी थिएनन्। एक हिसाबले ढुक्क भएको थियो।

त्यसपछि उनले कपाल पाले। लिपस्टिक गाढा बनाएर लगाउन थाले। टीका, गाजल र नङपालिस पनि लाए। तर उनको यो फरकपन कम्पनीलाई स्वीकार्य भएन। उनलाई नेपाल फिर्ता पठाइदियो।

'मेरो फरक यौनिकताकै कारण फेरि मलेसिया जान नपाउने गरी मलाई डिपोर्ट गरियो,' उनको जीवनको पीडादायी दिन थियो त्यो।

उनले मलेसियामा करिब एक वर्ष काम गरे। फर्किँदा दुई लाख रूपैयाँ ल्याएका थिए। जाँदा लागेको ऋण बाँकी नै थियो। करार अवधि भर पनि काम गर्न पाएनन्। मलेसियाबाट डिपोर्ट भएर आएपछि उनले काठमाडौंमै मजदुरी गरे। पेट भरथेग गर्न पनि मुस्किल हुन्थ्यो। त्यसमाथि मानिसहरू गिज्याइरहन्थे।

एक दिन पशुपति जंगलमा हिँडिरहँदा उनको भेट नीलहिरा समाज (ब्लुडाइमन्ड सोसाइटी) का एक सदस्यसँग भयो। उनले दिपेशको फरक पहिचानबारे प्रस्ट बुझाइदिए। उनैले दिपेशलाई नीलहीराको कार्यालय पुर्‍याए। त्यहाँ उनी जस्तै मानिसहरू थिए। त्यसपछि मात्रै उनलाई आफू पारलैंगिक महिला (ट्रान्सवुमन) हुँ भन्ने थाहा भयो।

आफू महिला भएको निधो गरेपछि उनले नाम पनि फेरिन्, सुनिता।

'आफ्नो पहिचान थाहा हुँदा त पिँजडाबाट फुत्केको चरी जसरी उडेँ नि,' सुनिताले भनिन्, 'वर्षौंदेखि गुम्सिएको मन चंगा भयो।'

परिवारलाई भने उनको यो पहिचान स्वीकार गर्न गाह्रो पर्‍यो। पहिलो पटक सुनाउँदा त कुरै सुनेनन्।

'तँ छोरै होस्, यो सबै तेरो नौटंकी हो भनेर बुबाले गाली गर्नुभयो। आमा पनि अचम्म पर्नुभयो,' उनले भनिन्।

सबभन्दा ठूलो पीडा त उनकी श्रीमतीलाई भएको थियो। उनको घर र उनीसँगका दुई सन्तान सम्हालिरहेकी उनी छाँगाबाट खसेझैं भइन्।

'मेरो शरीरमा पुरूष अंग भए पनि म तिमी जस्तै हुँ भनेको थिएँ। उनी थचक्क बसिन्। पसिना खलखल थियो। केही बोलिनन्,' सुनिताले सुनाइन्।

पछि उनीहरूको सम्बन्ध बिच्छेद भयो।

सुनिता आफ्नै पहिचान बोकेर काठमाडौं आइन्। गुजाराको संघर्ष चलिरहेकै थियो। एक दिन साथीले उनलाई ठमेल जाने सुझाव दिए।

'बहिनी राती ठमेल जाऊ, राम्रा राम्रा विदेशी आउँछन्, पैसा दिन्छन् भन्नुभयो,' उनले सम्झिइन्, 'मलाई त ठमेल कहाँ हो, कस्तो हो भन्ने नै थाहा थिएन। पैसा माग्नुपर्छ अनि दिन्छन् होला भन्ने लागेको थियो।'

त्यसबेला उनी चाबहिल बस्थिन्। ठेगाना सोध्दै उनी एक साँझ ठमेल पुगिन्। गल्लीहरूमा सिँगारपटार गरेर बसेका युवती देखिन्। उनीहरूलाई जिस्काइरहेका पुरूषहरू पनि देखिन्।

सुनिता रातभर तिनै चहलपहल हेरेरै बसिन्।

'ओहो फिल्मका हिरोइनजस्ता राम्रा युवतीहरू, अनि उनीहरूलाई जिस्काउने पुरूषहरू, हेर्दाहेर्दै उज्यालो भइसकेछ। म पनि त्यस्तै राम्री कहिले हुने होला भन्ने सोच्दै फर्किएँ,' उनी अहिले पनि सम्झिन्छिन्, 'पछि साथीहरूले कति जनाले लगे भनेर सोधे। मलाई त केटाहरूले लैजान्छन् भन्ने नै थाहा थिएन। साथीहरूले गए पो पैसा दिन्छन् भनेपछि मैले बल्ल कुरा बुझेँ।'

उनले फेरि ठमेल जाने तयारी गरिन्। दाह्री-जुँगा सिनित्त खौरिइन्। सिँगार गरिन्। महिलाको कपडा लगाइन्। अहिले त हर्मोन पाइन्छ, शरीर चाहेजस्तो बनाउन सकिन्छ। त्यो बेला केही थिएन।

'दुइटा बेलुन फुलाएर छातीमा राखेँ। मेकअपले कति राम्री देखिएकी थिएँ,' पहिलोपटक पूर्ण महिला रूपमा खुलेर निस्किँदाको क्षण उनले सम्झिन्, 'तर अरूले के भन्लान् भन्ने डर थियो नै। मेकअप देखेर मान्छे तर्सिन्थे। छक्का भन्दै जिस्काउँथे।'

ठमेल पुगेपछि पुरूषहरूका आँखा उनीमाथि परे। उनी खुसीले गजक्क परिन्। उनका धेरै साथीहरू यौन पेसामा थिए। साथीहरूको कुरा सुनेर यो पेसा अँगाल्न राजी भइसकेकी थिइन्। आर्थिक अवस्था बलियो भएको भए, पढे-लेखेको भए यो पेसामा लाग्न पर्दैन थियो भन्ने उनलाई लाग्छ।

सजिएर हिँडेको तेस्रो रातबाट सुनिताले यौन पेसा सुरू गरिन्। त्यसको कष्ट उनले अहिले पनि बर्सिएकी छैनन्। हिँडडुल गर्न पनि असहज भएको थियो। धेरैजसो नराम्रो सोचका मान्छे भेटिन्थे। हेपाइ र हिंसा सहनुपर्थ्यो। कतिपयले अपशब्द बोलेर गाली गर्थे। कतिले त कुटपिट पनि।

'तँ छक्का केटी बनेर उभिएको भनेर कति केटाले मेरो टाउको फुटाए। टाउको पछाडि सात टाँका लगाएको छ,' उनले भनिन्।

लैंगिक तथा यौनिक समुदायका व्यक्तिलाई अरू पेसामा पनि सहज नभएको उनी बताउँछिन्। लान्छना र आरोपहरूको नमीठो अनुभव छ।

उनले यौन पेसासँग दिकदार भएर एकपटक होटल खोलेकी थिइन्। साढे दुई लाख रूपैयाँ लगानी भएको थियो। राम्रै चलिरहेको थियो। एक दिन एक जना ग्राहक आए। उनले सुनितालाई चिनेका रहेछन्, उनी यौन पेसामा हुँदै। ती व्यक्तिले 'आबुई दिदी, तपाईंको होटल पो हो' भनेर अरू ग्राहकसँग कानेखुसी गर्न थाले।

त्यसको भोलिपल्टदेखि होटल सुनसान हुन थाल्यो। सधैंजसो आउने ग्राहक आएनन्। पकाएको खानेकुरा खेर गयो। दिनदिनै होटल घाटामा जान थाल्यो।

सधैं आउने मान्छेहरूलाई सुनिताले भेटेका बेला आजकाल किन आउनु हुन्न भनेर सोधेकी थिइन्।

'तपाईं त महिला होइन रहेछ, अर्कै रहेछ, तपाईंकहाँ कसरी खानु? तपाईंलाई त बिहानै देख्यो पनि साइत बिग्रिन्छ भने,' उनले दुःख व्यक्त गरिन्, 'हामीलाई केही गरे सुख छैन। अरू काम गर्दा पनि रत्नपार्क र ठमेल गएर कमाउनु नि, किन यहाँ काम गरेको भन्छन्। यौनकर्मी बन्नुको विकल्प छैन।'

सुनितालाई त्यो बचनले धेरै दिन घोचिरह्यो। केही दिनपछि उनले होटल बेचिदिइन्। डेढ लाख रूपैयाँ घाटा खाएर।

मानिसहरूले आफूप्रति गर्ने नराम्रो व्यवहारका कारण मनमा धेरैपटक नराम्रा सोच उब्जिए। तर मन बलियो बनाएर अघि बढिन्।

'मान्छेले लान्छना लगाउँदा, अपशब्द बोल्दा चोट लाग्छ। हामी पनि मान्छे हौं नि। पहिचान नै फरक भयो त मेरो दोष होइन, मेरा बाआमाको पनि दोष होइन,' उनी भन्छिन्।

होटल व्यवसाय गर्न कस्सिएकी उनी फेरि यौन पेसामै फर्किन बाध्य भइन्।

पछि उनले स्तन बढाउने हर्मोन प्रयोग गरिन्। दाह्रीजुँगा पनि हटाउन लगाइन्। यौन पेसासँगै मेकअप आर्टिस्ट बन्ने योजना बुनेर तालिम लिइन्। रत्नपार्कको फुटपाथमा मेकअप सामग्रीको पसल पनि थालेकी थिइन्। राम्रै चलिरहेको थियो। काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवस्थित गर्ने भन्दै हटाइदियो।

'महानगरको काम बेठीक त भन्दिनँ। तर फुटपाथ व्यवसायीलाई पनि विकल्प दिनुपर्छ,' उनले भनिन्।

चार दशक उमेर नाघेकी सुनिता पछिल्लो समय सामाजिक काममा पनि सक्रिय छिन्। हिंसारहित यौन पेसा गर्न पाउनुपर्छ भनेर आवाज उठाइरहेकी छन्। आफूजस्ता पारलैंगिक महिलाहरूको हकअधिकारको विषय संसदमा लैजाने सोच छ।

'हामीलाई राज्यले चिन्दैन। हिंसामा परेर गुनासो गर्दा कसैले सुन्दैन। उजुरी गर्दा प्रहरीले लिन मान्दैन। प्रहरीले त उल्टै दुर्व्यवहार गर्छ। हामीले अधिकार माग्ने कहाँ?,' उनी भन्छिन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरूलाई उनीहरूकै परिवारले समेत चिन्दैन। सुनिताका दाजुहरूले अझै स्वीकार गरिसकेका छैनन्। बाबुआमाले भने पछिपछि छोरी भनेर बोलाउन थालेका थिए। तर अब उनीहरू रहेनन्।

सुनिताका आफ्ना भनेका दुई छोरा छन्। उनीहरू हुर्किसके। पहिले बाबा भन्ने उनीहरू अहिले उनलाई आमा भनेर बोलाउन थालेका छन्। समाजले थोरै भए पनि बुझ्न थालेजस्तो उनलाई लागेको छ। तर अझै आत्मसम्मान साथ बाँच्न पाउने वातावरण छैन।

'काम गर्न खाडी जाऊँ, हामीलाई बस्नै दिइँदैन। विकसित मुलुक जान सकिँदैन। हामीले त यौन पेसा मात्र गर्ने हो जस्तो भइसकेको छ। अरू अवसर छैनन्,' उनी भन्छिन्।

सरकारको आँकडाले वैदेशिक रोजगारीमा महिला र पुरूष मात्रै गइरहेको देखाउँछ। महिला र पुरूषकै पहिचानमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिस पनि गइरहेका छन्। त्यसो हुँदा कति संख्यामा उनीहरू वैदेशिक रोजगारीमा जाने र समस्यामा पर्ने गरेका छन् भन्ने आँकडा छैन।

यो समुदायका व्यक्तिहरूको हकहितमा काम गर्दै आएको संस्था मितिनी नेपालकी प्रोग्राम अफिसर विमला गुरूङका अनुसार यस्तो संख्या ठूलो छ। गन्तव्य मुलुक पुगेपछि समस्यामा परेका ८० जनाभन्दा बढीले मितिनी नेपालमा गुनासो गरेका छन्।

'महिला वा पुरूषको पहिचान बोकेर गएका हुन्छन्, केही समस्या पर्दा उजुरी गर्न पनि अप्ठ्यारो। धेरै जना शोषणमा परेर फर्किनुपरेको छ,' उनले भनिन्।

वैदेशिक रोजगार ऐनले पनि यो समुदायलाई समेटेको छैन। ऐनमा उनीहरूको वैदेशिक रोजगारीको अधिकारको विषय पनि समेट्नुपर्ने गुरूङको भनाइ छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती भने गन्तव्य मुलुकको मागअनुसार श्रमिक पठाउनुपर्ने भएकाले मुस्किल भएको बताउँछन्।

'यो समुदायका श्रमिक भनेर गन्तव्य देशबाट माग आउँदैन। हामीले मागका आधारमा पठाउने हो। महिलाको माग छ भने पुरूष पठाउन सकिँदैन, पुरूष मागेको भए महिला पठाउन सकिँदैन,' उनले भने।

Published on: 20 December 2023 | Setopati

Link

Back to list

;