s

मलेसियाको डब्लूआरपी कम्पनीका दुई हजार नेपाली श्रमिक आन्दोलित

Year of Publication: 29 January 2019 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

हड्तालस्थलमा दूतावासले टोली पठायो

होम कार्की

तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् ।

कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । ‘हामीले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छौँ । तोडफोड नहोस् भनेर प्रहरीले हामीलाई घेरा हालेर राखेको छ’, खोटाङका ललित घलानले भने,‘नियमीत तलब नपाउँदा हामीलाई निकै समस्या भइरहेको छ ।’
 
डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताए ।
 
नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको बताए । उनले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताए ।
 
श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताए । दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । ‘सकभर वार्ताबाटै समस्या समाधान गर्न प्रयासरत हुनेछौँ । वार्ता नमिलेमा कानुनी प्रक्रियामा जानेछौँ’, उनले भने ।
 
दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ । ती श्रमिकहरुको जनवरी अघिबाट एकहजार रिंगेट न्यूनतम् तलब पाउथे । जनवरीबाट भने ११ सय रिंगेट लागू भएको छ ।
 
Published On: 29 January 2019 | Kantipur

Back to list

;