s

मलेसियाद्वारा स्वास्थ्य संस्था थप गर्न प्रक्रिया सुरु

Year of Publication: 5 November 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्न आइतबारबाट प्रक्रिया सुरु गरेको छ । उसले नेपाल सरकारबाट सूचीकृत ८६ संस्थालाई निरीक्षण गर्न आउनको लागि आबेदन खुल्ला गरेको हो। नेपाल र मलेसियाबीच गत भदौ २६ गते सम्पन्न दोस्रो प्राविधिक कार्य समूहको बैठकमा सहमति भएअनुसार स्वास्थ्य संस्था थप गर्नको लागि आवेदन माग गरेको हो। जसमा नोभेम्बर पहिलो सातादेखि स्वास्थ्य संस्थालाई निरीक्षणको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो। मलेसियाले डिसेम्बर ४ सम्ममा आवेदन दिन पाउने समय तोकिएको छ। आवेदनमा छनोट भएका स्वास्थ्य संस्थालाई स्थलगत निरीक्षण गर्न आउने सूचनामा उल्लेख छ।

सरकारले मलेसियाबाट प्राप्त स्वास्थ्य मापदण्ड र स्वास्थ्य परीक्षण निर्देशिका (एसओपी) पुरा गरेका ३६ सहित एकसय २२ वटा स्वास्थ्य संस्थाको प्रस्तावित सूची पठाएको थियो। ३६ वटा स्वास्थ्य संस्था भने यसअघि नै बायोमेडिकल प्रणालीमा जडित भएका थिए। उनीहरुले आवेदन दिन नपर्ने सूचनामा उल्लेख छ। मलेसियाले नेपालले सूचीकृत गरेका ८६ वटाभित्रबाट मात्रै स्वास्थ्य संस्थालाई निरीक्षण गरी उत्तीर्ण भएकालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ। बायोमेडिकल प्रणाली अनुसार उत्तीर्ण भएको स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि मात्रै अध्यागमन विभागले मलेसिया आउने कामदारको प्रवेश भिसा (कलिङ भिसा) जारी गर्छ।

मलेसियाले नेपालसहित स्रोत मुलुक देशहरुमा बायोमेडिकल प्रणाली सञ्चालन गर्न वेस्टिनेट बिएचडीलाई जिम्मा दिएको छ। बायोमेडिकलमा पास भएपछि कामदारले मेडिकल शुल्क मलेसिया पुगेको पहिलो महिनाको तलबमा फिर्ता पाउने दुईदेशवीच सहमति छ। श्रम समझदारी अघि मेडिकलको शुल्क कामदार आफैंले तिर्नुपर्दथ्यो। काठमाडौंमा मेडिकल गर्दा ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लाग्छ। जसमध्ये स्वास्थ्य परीक्षण वापत ४ हजार ५ सय रुपैयाँ, बायोमेडिकल सेवा शुल्कवापत २८ सय रुपैयाँ र भ्याट वापत ३ सय ६४ रुपैयाँ खर्च हुन्छ।

Published on: 5 November 2019 | Kantipur

Link

Back to list

;