खेमराज केशरी अधिकारी
म मलेसिया आएको झण्डै ३ वर्ष हुन लाग्यो । म एसटिएस नामको कम्पनीमा भनेर आएको थिएँ । यहाँ आइसकेपछि कन्ट्र्याक्ट रहेछ भन्ने थाहा पाएँ ।
त्यसले ठगिएँ कि भन्ने त लागिरहेको थियो । केही साथीहरुले आफूहरु कम्पनीकै काममा भनेर आएको भन्दै गुनासो गरे । तर कम्पनीका साहुले ‘तिमीहरु बेचिएका जनावर हौ, धेरै कुरा नगर’ भनेपछि साथीहरु रोए ।
म चाहिँ रोइन । किनकी म अहिलेसम्म दुःखमा रोएको छैन । त्यसको केही दिनमा धेरै वटा कम्पनीबाट हामीलाई छान्न मान्छे आए । सुरु सुरुमा उनीहरुले चट्ट ज्यान मिलेकाहरुलाई छानेर लगे ।
म ११ दिनमा छानिएँ कामका लागि । काम त थालें तर तलबको आधा भन्दा धेरै काटेर राख्दो रहेछ । सुरुको महिना जम्मा ३० रिंगिट मात्रै पैसा थियो । दोस्रो महिना ३ सय २९ र तेस्रो महिना ६ सय २९ रिंगिट दिँदै गयो ।
११ महिना पुग्दा तलब बढेर ९ सय ६० रिंगिट पुग्यो । १२ महिनामा मेडिकल गर्नुपर्ने भयो । त्यतिबेला हामीले कम्पनीलाई ९ सय ६० रिंगिट तलबमा काम गर्न नसक्ने भन्दै यदी तलब नबढ्ने भए घर फर्किने भन्यौं ।
हामीलाई तलब बढ्ने आश्वासन दियो । तलब एक हजार रिंगिट पुग्यो । यो काम अनुसार हो र ? म यही सोच्थें । किनकी हामीले सुरु नै देखि १२ घण्टा काम गर्नु परेको थियो । ओभरटाइम कस्तो हुन्छ देखेका थिएनौं ।
काम धेरै अनि पैसा त्यो अनुसार हामीले यदी काम अनुसारको तलब हुँदैन भने हड्ताल गर्छौं भन्यौं । हामीसँग अरु विकल्प बाँकी थिएन । त्यसपछि काम गर्ने समय दुई घण्टा घटाइदियो ।
अहिले १० घण्टा काम गर्दा महिनाको एक हजार ५० रिंगिट तलब आउँछ । त्यसमा खानाको खर्च आफ्नै हो । अनि हप्ताको एक दिनपनि छुट्टी छैन । यति वर्ष काम गर्दा आउँदा लिएको ऋण पनि तिर्न सकेका छैनौं ।
त्यसैले दुःख मानेर समय बिताउँदै छौं म सहित मसँगै काम गर्ने साथीहरु । अब सकुशल ज्यान लिएर घर फर्किन पाए पुग्छ भन्ने नै लागिरहेको छ ।
Published on: 2 March 2018 | Ujyaaloonline
GET IN TOUCH