s

मलेसिया नफापेका कृष्णप्रसादको गाउँमै दूध विक्री गरेर दुई लाख आम्दानी

Year of Publication: 1 August 2023 | Gorkhapatra

Published by: CESLAM

म्याग्दी, साउन १६ गते । बेनी नगरपालिका ७ टुनीखर्कका कृष्णप्रसाद शर्मा हिजोआज म्याग्दीकै धेरै दूध विक्री गर्नेमध्ये पर्नुहुन्छ । उहाँले घरमै व्यावसायिक रुपमा भैँसी पालन गर्नुभएको छ ।

जीवनको जवानी उमेर विदेशमा बिताए पनि केही नभएपछि घर फर्केर भैँसी पालन सुरु गर्नुभएका उहाँको हिजोआज फुर्सद पनि छैन पैसाको अभाव पनि छैन । रोजगारीका लागि मलेसियामा नौ वर्ष बिताउनुभएका कृष्णप्रसाद शर्माले गाउँ फर्किएर व्यावसायिक रूपमा पशुपालन गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो ‘‘रोजगारीका क्रममा पटक पटक गरेर नौ वर्ष विदेशी भूमिमा श्रम पसिना बगाइयो, पछिल्लो पटक मलेसिया गएको थिएँ बिरामी परेपछि अस्पतालको बेडबाटै भैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएँ ।’’

विदेशबाट फर्किएपछि गाउँका साथीभाइ मिलेर केही वर्ष सामूहिक रूपमा पशुपालन व्यवसाय गरेको बताउने शर्माले पाँच वर्ष अघिदेखि एकल रूपमा भैंसीपालन व्यवसाय गर्दै आउनुभएको छ ।

साझेदारीमा सहभागी भएकाहरू केहीले सरकारी जागिर गर्न लागे कोही विदेश गए कृष्णप्रसादले भन्नुभयो, ‘‘२०७५ सालबाट मैले एकल रूपमा शर्मा कृषि तथा पशुपक्षी फर्म स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेको हुँ ।’’ थोरै लगानीबाट सुरु गरेको व्यवसायमा अहिले एक करोडभन्दा बढी लगानी पुगिसकेको उहाँले बताउनुभयो । आधुनिक भैँसी गोठ शर्माले निर्माण गर्नुभएको छ ।

अहिले कृष्णप्रसादको गोठको पूर्वाधार निर्माण र गाई भैँसी गरेर एक करोडभन्दा बढीको लगानी भइसकेको छ । आफ्नै चालिस रोपनी जमिनमा गोठको संरचना निर्माण र गाईभैंसीलाई आवश्यक पर्ने घाँस रोप्नुभएको छ । घाँस काट्ने र गोठमा काम गर्न चार जनालाई रोजगारी पनि दिनुभएको छ ।

कृष्णप्रसादको गोठमा अहिले एक लाख पचास हजारदेखि दुई लाख रुपियाँ सम्म मूल्य पर्ने मुर्रा क्रस जातका भैँसी छन् । शर्माको भैँसी गोठमा यतिखेर होलस्ट्यान जातका तिन वटा गाई मुर्रा क्रस जातका २० वटा दुहुना भैँसी र पन्ध्र वटा ब्याउने भैँसीसहित ३५ वटा छन् । गाईले दिनमा २० लिटर र भैँसीले १० देखि १७ लिटर सम्म दूध दिने कृष्णप्रसाद बताउनुहुन्छ । १० लिटरभन्दा थोरै दूध दिने भैँसी पालेर फाइदा नहुने उहाँको भनाइ छ ।

एक महिनाअघि सम्म दैनिक रूपमा दुई सय लिटरसम्म दूध बजार पुर्याउथे उहाँले भन्नुभयो, ‘‘भैँसी धेरै भएपछि पाल्न दुःख भयो १० वटा भैँसी विक्री गरेकाले अहिले एक सय पचासदेखि एक सय ७० लिटरसम्म दूध बजारमा लैजाने गरेको छु ।’’ उत्पादित दूधलाई बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

‘‘बेनी बजारमा रहेको धवलागिरि डेरीसँग प्रतिलिटर एक सय २० रुपियाँमा सम्झौता गरेको छु । हाम्रो दूधमा पानी मिसावट हुँदैन । उत्पादन गर्न सके विक्री हुन्छ । किसान,डेरी सञ्चालक र उद्योग वाणिज्य सङ्घसहितको समझदारीमा समय अनुसार मूल्य बढाउने सहमति गरेका छौँ ।’’

मासिक रूपमा ६ देखि सात लाख रुपियाँसम्मको दूध विक्री गर्दछु उहाँले भन्नुभयो, ‘‘सबै खर्च कटाएर मासिक रूपमा अहिले दुईदेखि साढे दुई लाखसम्म बचत हुने गरेको छ ।’’

दूध विक्री गरेर अहिले सम्म भएको आम्दानी गोठको संरचना निर्माणमा खर्चिएको र अब कमाएको पैसा बचत हुने उहाँले बताउनुभयो । व्यावसायिक भैंसीपालन सुरु गर्दा सुरुवाती चरणमा आम्दानी नहुँदा आत्तिनुहुँदैन उहाँले भन्नुभयो, ‘‘भैँसी पालनमा समय दिन सक्नुपर्दछ । कडा परिश्रम गर्नुपर्दछ । गोठको सही व्यवस्थापन र भैँसीको राम्रोसँग स्याहारसुसार गर्नुपर्दछ ।’’ जिल्ला भेटेरिनरी र बेनी नगरपालिकाको पशु सेवा शाखाबाट प्राविधिक सहयोग पाएको उहाँले बताउनुभयो । गोठ सुधारका लागि थोरै थोरै अनुदान रकम पनि पाउने गरेको उहाँले सुनाउनुभयो ।

किसानलाई नगद अनुदान दिनुभन्दा पशुपालनसम्बन्धी तालिम,औषधि उपचार र गोठको सही व्यवस्थापनसम्बन्धी ज्ञान र सीप सिकाउनुपर्ने उहाँको सुझाव छ । कृष्णप्रसाद शर्मा अहिले जिल्लामै नमुना पशुपालन किसानका रूपमा परिचित हुनुहुन्छ । विदेश जानुभन्दा स्वदेशमै पशुपालन र कृषि पेसा गरे राम्रो आम्दानी लिन सकिने भएकाले विदेश नजान र स्वदेशमै कृषि पेसा अँगाल्न युवालाई शर्माको सुझाव छ ।

Published on: 1 August 2023 | Gorkhapatra

Link

Back to list

;