s

मलेसिया जाने नेपाली कामदार स्वात्तै घटे

Year of Publication: 24 December 2015 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

नवराज ढकाल
 
मलेसियाको आर्थिक संकटको प्रत्यक्ष प्रभाव नेपालको वैदेशिक रोजगारीमा देखिन थालेको छ। मासिक औसतमा २० हजार नेपाली कामदार मलेसिया जाने गरेकोमा अहिले घटेर पाँच हजारमा सीमित भएको छ।गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ हजार २६ जना नेपाली काम गर्न मलेसिया गएका थिए। 
 
यस वर्ष सोही अवधिमा जम्मा ३१ हजार दुई सयजनामात्र गएका छन् । यो संख्या गत वर्षभन्दा ६९ हजार चार सय २५ जनाले कम हो । गत मंसिरको मात्रै तथ्यांक हेर्ने हो भने पनि मलेसिया जानेको संख्या १६ हजारभन्दा बढीले घटेको छ।
 
मलेसियाको आन्तरिक राजनीति अस्थिर बनेको तथा चीनको अर्थतन्त्र बिग्रिंदा सबैभन्दा ठूलो व्यापारिक साझेदार मलेसियाको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । चीनको आयातनिर्यात व्यापार र सेयर बजारमा संकुचन आउँदा समग्र अर्थतन्त्र शिथिल भएको छ।
 
वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा जम्मा पाँच हजार पाँच सय ६६ जनामात्र काम गर्न मलेसिया गएका छन्। गत वर्ष सोही महिनामा २२ हजार ७४ जना गएका थिए । मलेसियाको रोजगारी गुम्दै जानु सरकारका लागि टाउको दुखाइको विषय बनेको छ। 
 
तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प तयार नभएकाले मलेसियाको रोजगारी घट्दा मुलुक भित्रिने समग्र रेमिट्यान्समै नकारात्मक असर पर्ने वैदेशिक रोजगारका विज्ञले बताए।मलेसियाको मुद्रा रिंगेटको नेपाली मुद्रासँगको सटही दर निकै तल आइसकेको छ। 
 
नेपाल राष्ट्रबैंकले बुधबारका लागि तोकेको बिक्रीदरअनुसार रिंगेटको भाउ २४ रुपैयाँ ७८ पैसा छ। दुई वर्षअघि एक रिंगेट सटही गर्दा नेपालमा ३३ रुपैयाँ हात पथ्र्यो । मुद्राको विनिमयदर संकुचन हुँदा नेपालमा परिवारले पाउने पैसा घट्न जान्छ। 
 
यसको असर समग्रमा नेपाल भित्रिने कुल रेमिट्यान्समै पर्छ । दुई वर्षअघि ३३ हजार रुपैयाँ पठाउनेले अहिले सोही रकम नेपाल पठाउँदा यहाँका आफन्तले २४ हजार रुपैयाँमात्र हात पार्छन्। कामदारको तलबसुविधा नघटेको भए पनि मुद्राको विनिमयदर संकुचन हुँदा रेमिट्यान्समा प्रत्यक्ष प्रभाव परेको हो।
 
नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये झन्डै ४० प्रतिशत हिस्सा मलेसियाको छ। दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स नेपाल भित्रिन्छ। यो वर्ष ६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने अनुमान छ। 
 
६ खर्बलाई आधार मान्दा करिब दुई खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आउँछ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा २५ प्रतिशत छ। कृषिपछि जीडीपीमा सबैभन्दा बढी योगदान रेमिट्यान्सको छ। 
 
हुन्डीलगायतका अनौपचारिक माध्यमबाट समेत भित्रिने रेमिट्यान्स हिसाब गर्ने हो भने कृषिलाई समेत यसले उछिन्छ। जीडीपीमा कृषिको योगदान ३३ प्रतिशत छ।इन्टरनेसनल मनी एक्सचेन्ज (आईएमई) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये मलेसियाको हिस्सा ३० देखि ४० प्रतिशतसम्म रहेको बताए। 
 
 'मलेसियाबाट आउने रकम घटेमा समग्र रेमिट्यान्समा असर गर्छ,' उनले भने। मलेसियाको रोजगारी घटेकाले त्यहाँबाट आउने रेमिट्यान्स घट्ने क्रम भने अर्को वर्षदेखिमात्र सुरु हुने यसमा अध्ययन गरिरहेकाहरू बताउँछन्। 
 
आगामी वर्षदेखि बिस्तारै रेमिट्यान्सको वृद्धिदर संकुचन हुन थाल्ने र मलेसियाको सट्टा अन्य आकर्षक गन्तव्य मुलुकमा कामदार पठाउन पहल नगरिए दुईतीन वर्षपछि यहाँ भित्रिने रेमिट्यान्सको मात्रा घट्न थाल्ने रेमिट्यान्स व्यवसायीले बताए।वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले मलेसियाको आर्थिक संकट र निःशुल्क भिसाको व्यवस्थाले गर्दा त्यहाँ जाने कामदारको संख्या घटेको बताए। 
 
'मलेसियाका साना कम्पनीले नेपालबाट कामदार मगाउन छाडेका छन्। आर्थिक मन्दी आउँदा ठूला कम्पनीले पनि कामदार लिने अवस्था छैन,' उनले भने। अर्को वर्षदेखि मुलुक भित्रिने रेमिट्यान्समा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ।
 
सधैं परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा नेपाली कामदारले आकर्षक कमाई हुने मुलुकमा जान पाएका छैनन्। खाडी र मलेसियाको रोजगारी गुमेमा समग्र वैदेशिक रोजगारी संकटमा पर्ने स्थिति छ। खाडी मुलुक र मलेसियामा कामदार कटौती हुँदा मुलुक भित्रिने समग्र रेमिट्यान्समा ठूलो प्रभाव पर्छ।
 
सरकारले आकर्षक कमाई हुने युरोपेलीलगायतका बजारको खोजी गर्न सकेको छैन। वैदेशिक रोजगार व्यवसायीले भने मलेसियाको आर्थिक संकटभन्दा पनि निःशुल्क टिकट र भिसाको सबैभन्दा बढी प्रभाव परेको दाबी गरेका छन्। 
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसिया जाने कामदारको संख्यामा भारी गिरावट आउनुमा मलेसियाको आर्थिक संकटसहित निःशुल्क टिकट र भिसाको सबैभन्दा बढी प्रभाव परेको दाबी गरे। 'ठूला कम्पनीले नेपालबाट कामदार मगाउनै छाडेका छन्,' उनले भने।
 
Published on: 24 December 2015 | Annapurna Post
 

Back to list

;