s

मजदुरीको कमाइ बाटोमै लुटियो

Year of Publication: 1 November 2023 | Kantipur

Published by: CESLAM

कञ्चनपुर — भारतबाट घर फर्किरहेका दुई जना नेपाली कामदार बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा लुटिएका उनीहरू अलपत्र अवस्थामा बुधबार गड्डाचौकी पुगेका हुन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन् ।

सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो ।

दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए । शुक्रबार लद्दाखबाट हिँडेका उनीहरू एक दिन मनाली बसे । दोस्रो दिन कुल्लुमा दशहरा मेला हेरर तेस्रो दिन हरिद्वार पुगे । हरिद्वारमा बसबाट झर्नेबितिक्कै सुर्खेत घर बताउने एक जना नेपालीले चिया पिउन होटेलमा लगे । उनले चिया बिस्कुट खान दिए । चिया बिस्कुट खाएको केही बेरमै दुवैजना बेहोस भए ।

‘भोलिपल्ट होसमा आउँदा हरिद्वारको बसपार्कमा थियौं, झोला, मोबाइल र पैसा केही थिएन, शरीरमा भएको लुगा मात्रै बाँकी थियो,’ सुशान्तले भने, ‘खल्तीमा ६ सय बाँकी थियो, त्यसैले दुई जना बनबासासम्म पुग्यौं ।’ उनका अनुसार हरिद्वारदेखि बनबासासम्म एक जनाको भाडा ५ सय २० रुपैयाँ छ । तर आफूहरू लुटिएको भनेपछि बसमा छुट गरेर बनबासासम्म छाडेको उनले बताए ।

‘लद्दाखमा मजदुरी गरेको सबै लुटियो, अब घर जान पनि पैसा छैन,’ दिनेशले भने, ‘असारमा लद्दाख पुगेका थियौं, एक सिजनको ठेक्का लिएर काम गर्‍यौं, आम्दानी राम्रै भएको थियो, सबै बाटोमै लुटियो ।’ उनले होसमा आउँदा अन्य तीन/चार जना नेपाली पनि लुटिएको थाहा पाएको बताए ।

बुधबार बिहानै गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको छ । नागरिक सहायता कक्षका कर्मचारी नासु दानसिंह बोहोराका अनुसार दसैंका अवधिमा यसरी लुटिएका ५ जना पुगेका छन् । उनीहरु सबै हरिद्वारमै लुटिएका हुन् ।

‘अहिलेसम्म यहाँ पुगेकामध्ये अधिकांश हरिद्वारमै लुटिएका छन्,’ बोहोराले भने, ‘उत्तराखण्ड, हिमाचललगायतका क्षेत्रमा काम गर्ने सबै हरिद्वारमै झर्छन्, त्यहाँ नेपालीहरूबाटै लुटिन्छन् ।’ सुर्खेत, कालीकोट, अछाम आदि ठाउँमा आफ्नो घर बताउँदै कामदारहरूलाई पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुट्ने गरिएको उनले बताए ।

Published On: 1 November 2023 | Kantipur

Link

Back to list

;