s

मध्यपूर्वका देशभन्दा मलेसियामा आकर्षण

Year of Publication: 3 January 2023 | Gorkhapatra

Published by: CESLAM

सीता शर्मा

काठमाडौँ, पुस १९ गते । पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । मध्यपूर्वका देशमा भन्दा मलेसियामा तलब सुविधा राम्रो हुँदै गएकाले नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बन्न सफल भएको हो । गएको मङ्सिरमा मात्रै मलेसियाका लागि करिब ३६ हजार जनाले श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागअन्तर्गतको वैदेशिक रोजगार ताहाचल कार्यालयका अनुसार मङ्सिरमा संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति गरी ९४ हजार ४१२ जनाले श्रम स्वीकृति लिएकामा ३५ हजार ८८९ जनाले मलेसियाका लागि मात्रै श्रम स्वीकृति लिएका छन् । यसमा संस्थागत रूपमा ६८ हजार ५६५ जनाले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि मात्रै २६ हजार छन् । सो अवधिमा पुनः श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या २१ हजार ५०८ रहेको छ भने व्यक्तिगत रूपमा श्रम स्वीकृति लिनेको सङ्ख्या चार हजार ३४० रहेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा खाडीका (कतार, साउदी, यूएई, ओमान)लगायतका देशमा जाने नेपाली ८० हजारको हाराहारीमा पुग्दा मलेसियामा जानेको सङ्ख्या भने एक लाख ६६ हजार नाघेको छ ।

विभागका अनुसार मङ्सिरसम्म एक लाख ६६ हजार ४७० जना नेपाली मलेसिया गएका छन्, जुन गत वर्षको सोही अवधिको तुलतामा पाँच गुणाले वृद्धि देखिएको छ । गत वर्ष पहिलो श्रम गन्तव्य बनेकोे कतार यस पटक दोस्रो स्थानमा छ ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले मलेसिया खाडीको तुलनामा पारिश्रमिकदेखि श्रमिकका अधिकारका क्षेत्रमा सुधारिँदै गएकाले नेपाली श्रमिकको पहिलो रोजाइ हुन पुगेको बताउनुभयो । “पहिलो, मलेसियाको हावापानी काठमाडौँ उपत्यकाको जस्तै हुन्छ, त्यसैले पनि नेपालीको रोजाइमा पर्छ । अर्को, मलेसियामा गत वर्ष र यो वर्ष २५/२५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको छ,” उहाँले भन्नुभयो, “तलब सुविधा बढी हुने देशमा जानु स्वाभाविक नै हो ।”

बर्सेनि पारिश्रमिक वृद्धि

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक गत वर्ष एक हजार दुई सय रिङ्गेट भएकामा अहिले एक हजार पाँच सय रिङ्गेट पुगेको छ । अहिले बढाएको पारिश्रमिक केही समयपछि लागू हुने दूतावासले जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय रिङ्गेट नभए मागपत्र प्रमाणित गर्दैन । राजदूतावासले गत मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक बढेको जनाएको थियो ।

मलेसियाले राजधानी क्वालालम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक लागू गरेको छ । अर्कोतिर पछिल्लो समय मलेसियाले त्यहाँको श्रम कानुनलाई आप्रवासी श्रमिकमैत्री बनाउँदै सेवासुविधा, सामाजिक सुरक्षा राम्रो दिनुका साथै अन्य सुरक्षाको प्रत्याभूत गरेको छ । गत वर्षदेखि मलेसियाको सामाजिक सुरक्षा कोषमा नेपाली श्रमिकसमेत सूचीकृत हुँदै आएका छन् । यस्तो व्यवस्था अन्य श्रम गन्तव्यमा हालसम्म लागू गरिएको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष रोहन गुरुङले पारिश्रमिक वृद्धि, मौसम तथा खाडी राष्ट्रको तुलनामा कार्यस्थल धेरै भएका कारण पछिल्लो समय मलेसिया जाने नेपालीको सङ्ख्या बढेको बताउनुभयो । विभागका महानिर्देशक उमाकान्त आचार्यले पछिल्लो समय साउदी अरब जाने नेपाली विभिन्न वहानामा स्वदेश फर्कने र मलेसिया जाने प्रवृत्ति बढेको अनुभव सुनाउनुभयो ।

साढे तीन लाखले लिए श्रम स्वीकृति

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा झन्डै साढे तीन लाखले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा तीन लाख ४९ हजार ८२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जब कि गत आर्थिक सोही अवधिमा दुुई लाख ३० हजार ४१० जनाले श्रम स्वीकृति लिएका थिए । यो वर्ष श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या गत वर्षभन्दा एक लाख १८ हजार १८ हजार ६७२ ले बढी हो ।

Published on: 3 January 2023 | Gorkhapatra

Link

Back to list

;