s

मध्यपूर्वी देशमा युद्धको त्रासः नेपालीको उद्धारमा सरकार उदासीन

Year of Publication: 6 August 2024 | Nagarik

Published by: CESLAM

मध्यपूर्वी दुई देश लेबनान र इजरायल युद्धको संघारमा पुगेका छन्। लामो समयदेखि हमाससँग युद्धमा रहेको इजरायलले लेबनानी लडाकु समूह हिजबुल्लाहसँग पनि युद्ध छेडेको हो। उसले हिजबुल्लाह लक्षित आक्रमण सुरु गरेको समाचारहरुमा उल्लेख छ।

इजरायली सेनाद्वारा हमास प्रमुख इस्माइल हानिया मारिएपछि लेबनान रुष्ट बनेको हो। त्यसकै कारण दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो। ईरान समर्थित हिजबुल्लाह र इजरायलले एक अर्कामाथि हवाई आक्रमण तीव्र बनाउँदै लगेका छन्। यी सबका बीच लेबनानमा रहेका विश्वका विभिन्न मलुकका नागरिकहरूको जीवन नै संकटमा देखिएको छ।

ईरानले आफ्ना पाहुनाको हत्या गरेको भन्दै इजरायलसँग बदला लिने घोषणा गरिसकेको छ। यस अवस्थामा लेबनानमा रहेका आफ्ना नागरिकलाई भारतसहित अमेरिका, बेलायत लगायतका मुलुकले तत्काल स्वदेश फिर्ता हुन आदेश दिइसकेको छ। तर, नेपाल भने आफ्ना नागरिकलाई लेबनानबाट फिर्ता ल्याउने विषयमा हालसम्म मौन देखिएको छ।

वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्। यसमध्ये ११५ जना त पछिल्लो २ वर्षमा मात्रै रोजगारीका लागि लेबनान पुगेको सुवेदीले बताए। उनीहरू घरेलु कामदार, होटल र फ्याक्ट्रीमा कार्यरत छन्। वैदेशिक रोजगारीमा जाने बाहेक अन्य नेपाली नागरिक पनि गैर कानूनी रुपमा त्यहाँ भएको हुन सक्ने उनको भनाइ छ।

यस्तै पछिल्लो २ वर्षमा १ हजार ७१४ जना नेपाली नागरिक इजरायल गएका छन्। उनीहरू अध्ययन र रोजगारीको सिलसिलामा त्यहाँ पुगेको विभागले जनाएको छ।

पहिलेदेखि युद्धमा रहेको इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए भने वेपत्ता विपिन जोशीको अवस्था अझै अज्ञात छ। यस अवस्थामा हिजबुल्लाहसँग युद्धको तयारीमा रहेको इजरायल र लेबनानमा रहेका नेपालीको सुरक्षाबारे नेपाल सरकारले अझै कुनै पहल नथाल्नु आश्चर्यजनक देखिन्छ।

युद्ध चर्किने चर्चा भइरहँदा लेबनान र इजरायलमा रहेका नेपालीको सुरक्षा र उनीहरूलाई स्वदेश फिर्ता ल्याउने विषयमा के भइरहेको छ भनेर प्रश्न गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारीले अनभिज्ञता व्यक्त गरेका छन्।

मन्त्रालयका सुचना अधिकारी कृष्णप्रसाद भुसालले हालसम्म यसबारेमा कुरै नभएको बताए।

उनले भने, ‘मन्त्रालयमा यस विषयमा हालसम्म केही कुरा भएको छैन्। कुरा भएको भए निर्णय भइहाल्थ्यो। हामीलाई यसबारे केही जानकारी छैन्। परराष्ट्र मन्त्रालयले यसबारे निर्णय गर्छ।’

यता परराष्ट्र मन्त्रालयलाई लेबनानमा रहेका नेपाली नागिरकको उद्धारको बारेमा के तयारी हुँदैछ भनेर बुझ्न खोज्दा मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले आफूलाई यसबारे जानकारी नभएको भन्दै प्रवक्तालाई सम्पर्क गर्न अह्रयाए। जबकी प्रवक्ता अमृत राईसँग सम्पर्क नै हुन सकेन। पटकपटक फोन सम्पर्क गर्दा पनि प्रवक्ता राईको फोन उठेन।

सरकारको तयारी नै सुरु नभएको अवस्थामा फेरि कुनै अप्रिय घटना घटिसकेपछि तयारी गर्ने परम्पराभन्दा समयमै ध्यान दिन आवश्यक देखिन्छ।

Published on: 6 August 2024 | Nagarik

Link

Back to list

;