s

लिबियामा नेपाली घरफिर्ती टिकट पर्खदैं

Year of Publication: 17 August 2014 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

एजेन्टको युरोप लैजाने प्रलोभन

लिबियाको सिर्तेस्थित एक कन्स्ट्रक्सन कम्पनी बन्द भएपछि घरफिर्ती उद्धार मागिरहेका १२६ नेपाली कामदारमध्ये ५४ जना मात्रै ट्युनिसिया हुँदै काठमाडौं फर्किएका छन् । उद्धार पर्खिरहेका ७२ जना भने घरफिर्ती टिकट किन्ने पैसा समेत नरहेको अवस्थामा ‘सम्पर्कहीन’ बनेका छन् ।

लिबिया मामला हेर्ने कायरोस्थित नेपाली दुतावासको आग्रहमा त्रिपोलीको भारतीय दुतावासले १२६ नेपालीलाई लिबिया सिमाबाट ट्युनिसिया जाने ‘कागजी प्रबन्ध’ जुटाएपनि घरफिर्ती पैसाको अभावमा ५४ जना त्रिपोली आएर सम्पर्कहीन बनेका हुन् । ‘कायरोस्थित नेपाली दुतावासको आग्रहमा हाम्रो त्रिपोलीमा रहेको भारतीय दुतावासले नेपाली कामदार समेतलाई यात्रा अनुमतीपत्र र अन्य कागजातको प्रबन्ध गरिदिएको हो,’भारतीय विदेश मन्त्रालयका प्रवक्ता साइद अकरुबद्धिनले कान्तिपुरसँग भने—‘सहयोग र सहकार्यका आधारमा हाम्रो दुतावासले नेपाली कामदार समेतलाई घर फिर्तीका लागि आवश्यक समन्वय जुटाएको हो ।’

त्रिपोलीबाट ६ सय किलोमिटर दुरीमा रहेको सिर्तेस्थित दुसान ह्याभी इन्डष्ट्रीज एण्ड कन्स्ट्रक्सन कम्पनी बन्द भएपछि सुरक्षित क्याम्प खोज्दै हिँडेका सुनसरीका गोपाल धमलाले आफ्नै समूहका थुप्रै पैसाको अभावमा बाटैबाट सम्पर्कहीन बनेको बताए । धमला भने ट्युनिसिया हुँदै शनिबार अपरान्ह काठमाडौं फर्कने तयारीमा छन् । धमलाका अनुसार, लिबिया आइपुगेका केही नेपाली एजेन्टले आफूसहित नेपाली कामदारलाई पानी जहाजको बाटोबाट युरोपको इटली वा स्पेन लैजाने भनेर प्रलोभन दिइरहेको समेत जनाउ दिए । ‘यसका लागि एजेन्टले थप १५ सय दिराम (डलर) शुल्क जनही कामदारसँग मागिरहेका छन्,’उनले भने ।

यसबाहेक, त्रिपोलीबाट ३५ किलोमिटर टाढा आजुरास्थित अर्को एक शिविरमा रहेका ९ जना नेपाली पनि घर फिर्ने खर्च नभएको र पासपोर्ट समेत लिबियन बिद्रोहीबाट लुटिएको अवस्थामा छन् । ‘हामीले घर फिर्न चाहेको ७ महिना भइसक्यो, यहाँको स्थिती झनै बिग्रदो छ,’पर्वत, देउपुर मुलघर भएका चिरञ्जीवि शर्माले फोनमा भने । उनले घरफिर्ती टिकटको व्यवस्था हुनासाथै इजिप्टको कायरोस्थित नेपाली दुतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराइदिने भनेकाले टिकट–सहयोगको आशमा क्याम्पमा लुकेर बसिरहेको बताए । उनको समूहमा लालबहादुर घर्ती(रोल्पा), ऋषिराम बास्तोला(कास्की), रामकान्त शाह(सप्तरी), ध्रुबकुमार चौधरी(सप्तरी), यादवराज दाहाल(कास्की), भजबीर बुढा(रोल्पा), राम महत(काठमाडौं), टोकबहादुर तामाङ(सिन्धुपाल्चोक), कमलकुमार गौचन(गुल्मी) छन् ।

आन्तरिक द्धन्द्धको चपेटामा फँसेको लिबियामा रहेका आफ्ना नागरिकलाई फिर्ता गराउन भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्ससहितका मुलुकले तत्काल उद्धार तदारुकता देखाएपनि नेपाल सरकारले पनि आफ्ना नागरिक फिर्ता गराउन कुनै सहयोग प्याकेजको घोषणा गरेको छैन । उत्तर अफ्रिकी मुलुक लिबियामा द्वन्द्व चर्किएपछि पछिल्लो एक सातामा भारत सरकारले चार्टड विमानबाट तत्काल उद्धार कार्य थाल्दै २ हजारभन्दा स्टाफ नर्स र अन्य कामदार भारतीयलाई देश फर्काइसकेको छ । लिबिया राजधानी त्रिपोलीसहित कुनै पनि भागमा हवाइ सेवा अवरुद्ध बनेपछि र लिबियामा अन्र्तराष्ट्रिय आप्रवासन संगठन(आइओएम)को उपस्थिती नरहेका कारण झण्डै १० देशका नागरिक आफ्नो सरकारको उद्धार सहयोगमा समेटिएर घर फिरिसकेका छन् ।

Published on: 17 August 2014 | Kantipur

Back to list

;