s

लिबियामा १२ नेपाली बन्धक

Year of Publication: 28 January 2019 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

खिलानाथ ढकाल

नेपाली तथा पाकिस्तानी दलालले आप्रवासको आश्वासन दिँदै इटाली लगेका १२ जना नेपाली लिबियामा बन्धक बनाइएका छन्।लिबियामा अलपत्र युवाबारे आफन्तले जानकारी दिएपछि घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले ११ जना नेपालीको पहिचान गरिसकेको छ। एक जनाको पहिचान खुलेको छैन।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहका अनुसार लिबियामा बन्धक बनाइएकामा धाइरिङ–९ पर्वतका सुरेश केसी, पोखरा–९ का ओम गुरुङ, पोखरा–१९ का रञ्जीत केसी, म्याग्दीका अमन लजा, चिमखोला–३ म्याग्दीकै धीरज थापा छन्। यी पाँच जनालाई नेपालबाट भदौ २२ गते दुबई उडाइएको थियो।
 
त्यस्तै, रुकुमका मनराज पुन, बालकृष्ण बाठा, दत्तबहादुर बाठा, सुनिलकुमार गिरी, महेश डाँगी र हरिमान बुढा बन्धक बनाइएका छन्। यो समूहमा रहेका अर्का एक नेपालीको पहिचान खुलेको छैन।
 
‘एकपटक पाँच र अर्कोपटक सात जना गरेर लगिएका थिए। पहिचान नखुलेका एक जना को हुन् भनेर हामी खोजबिन गरिरहेका छौं,’ सिंहले सेतोपाटीसँग भने, ‘यी १२ जनामध्ये दुई जनालाई एउटा ठाउँ र १० जनालाई अर्को ठाउँमा राखिएको अनुसन्धानमा खुलेको छ।’
 
उनीहरूलाई लिबियाको राजधानी बेङ्गाजीको त्रिफुलीस्थित घरमा बन्धक बनाएर राखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन्। उनीहरू सबैलाई पर्यटक भिसामा सुरूमा युएई, त्यसपछि जोर्डन हुँदै लिबिया पुर्याइएको थियो।
 
लिबियाबाट इटाली लैजाने क्रममा पाकिस्तानी दलालहरूबीच लेनदेनमा विवाद भएपछि युवाहरूलाई बन्धक राखिएको अपराध महाशाखाले जनाएको छ। लिबियामा बन्धक नेपालीहरू तीन जना पाकिस्तानी दलालको घेरामा रहेको एसएसपी सिंहले जानकारी दिए।
 
एक महिनाअघि आएको उजुरीमाथि अनुसन्धान गरिरहेको प्रहरीले युएई, जोर्डन र लिबिया हुँदै इटालीतर्फ मानव तस्करीमा संलग्न दुई जनालाई पक्राउ पनि गरेको छ। मेचीनगर–१० काँकडभिट्टा बस्ने सन्तोष पराजुली आइतबार कमलपोखरीबाट समातिएका छन्। त्यस्तै, लामाचौर कास्कीका जसकाजी गुरुङलाई पोखरा प्रहरीले समातेको छ।
 
एसएसपी सिंहका अनुसार युवाहरू खोजी गर्ने र उनीहरूबाट पैसा उठाउने कार्यमा गुरुङको संलग्नता छ। नेपालबाट सबै कागजात तयार गरी पाकिस्तानी दलालसम्म पुर्याउनमा पराजुलीको संलग्नता खुलेको छ।
 
पक्राउ परेका पराजुलीको बयानअनुसार यही समूहले हालसम्म १७ जना नेपाली इटाली लगिसकेको खुलेको सिंहले बताए। ‘पराजुलीले पाकिस्तानी मानव तस्कर समूहसँग मिलेर नेपाली युवालाई इटाली लैजान भूमिका खेलेको अनुसन्धानमा पत्ता लागेको छ,’ सिंहले भने, ‘उनीमाथि अनुसन्धान गरिरहेका छौं, पहिले लिबियाको बाटोबाट इटाली लगिएकाहरू को थिए, अनुसन्धान भइरहेको छ।’
 
जोर्डन, लिबिया र इटालीमा नेपाली कामदार लैजान अनुमति छैन। लिबियामा नेपाली दूतावास नरहेकाले इजिप्टको दूतावासमार्फत् बन्धक नेपाली युवाको उद्धार प्रयास भइरहेको महाशाखाले जनाएको छ। लिबियामा बन्धक युवाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको एसएसपी सिंहले बताए।
 
यसरी पत्ता लाग्यो पाकिस्तानी–नेपाली गिरोह
 
प्रहरीका अनुसार सुरेश केसी र ओम गुरुङको परिवारले एक महिनाअघि युवाहरू बन्धक बनाइएको उजुरी गरेका थिए। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले युवाहरूलाई लिबिया पुर्याउने गिरोहको खोजी थालेको थियो। त्यस क्रममा दलाल सन्तोष पराजुली र जसकाजी गुरुङले पाकिस्तानी दलालमार्फत् युवालाई लिबिया पुर्याएको खुलेको हो।
 
सुरूमा पाँच युवा बन्धक बनाइएको पत्ता लागेको थियो। पराजुली पक्राउपछि अन्य सात जना युवा पनि बन्धक अवस्थामा रहेको थाहा भयो।
 
प्रहरीका अनुसार पराजुलीले युवाहरूलाई पाकिस्तानी दलाल आशिक हमिदको युएईस्थित सम्पर्क स्थानसम्म पुर्याएका थिए। सुरूमा नेपालबाट भदौ २२ गते रुकुमका सातबाहेक पाँच युवा काठमाडौंबाट युएई उडेका थिए। दोस्रोपटक लगिएका सात जना कहिले उडेका थिए भन्ने पत्ता लागिनसकेको महाशाखाले जनायो।
 
महाशाखाका अनुसार हमिदका दुई सहयोगी तारिक र पोलाले युएईबाट युवाहरूलाई युएई, जोर्डन हुँदै लिबिया पुर्याएका थिए। ‘यही समूहले सन् २०१६ यता १७ नेपालीलाई लिबिया हुँदै इटाली लगिसकेको पराजुलीले बयान दिएका छन्,’ एसएसपी सिंहले भने।
 
सिंहका अनुसार पराजुली र जयकाजीले युएई उडाएबापत प्रतिव्यक्ति १३ लाख रुपैयाँ लिएका थिए। इटाली पुगेपछि थप १३ लाख दिने मौखिक सम्झौताअनुसार युवाहरूलाई युएईबाट लिबिया पुर्याइएको बताइएको छ।
 
लिबिया पुर्याइएपछि दलालले थप पैसा माग्दै युवाहरूलाई यातना दिएका थिए। यातना दिएको फोटो र भिडियो एक महिनाअघि फेसबुकमार्फत् पठाएपछि आफन्त प्रहरीको सम्पर्कमा पुगेका थिए। ‘उद्धार गर्न माग गर्दै आफन्त आएपछि दलालको खोजी थालिएको हो,’ सिंहले भने।
 
पक्राउ परेका जसकाजीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी छ। विभागले पक्राउ पूर्जी जारी गरेका उनी गैरकानुनी वैदेशिक रोजगारीमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ।
 
पराजुली भने सन् २०१६ देखि इटालीमा मानव तस्करीमा संलग्न हुँदै आएको खुलेको छ। काठमाडौंमा एक भारतीय नागरिकसँग कपडा पसल गर्ने पराजुली र लिबियामा बसोबास गरिरहेका बाग्लुङका राजेश सुनारबीच तीन वर्षअघि चिनजान भएको प्रहरीले जनाएको छ।
 
सुनारकै सम्पर्क सूत्रबाट सुरूमा १७ नेपालीलाई लिबिया हुँदै इटाली पुर्याइएको पराजुलीको बयानबाट खुलेको महाशाखाले जनायो।
 
‘पराजुली र सुनारबीच फेसबुकमार्फत् चिनजान भएर पहिला १७ नेपाली युवालाई इटाली लगिएको पत्ता लागेको छ,’ एसएसपी सिंहले बताए। पछिल्लोपटक १२ नेपाली लैजाँदा भने पराजुली र सुनुवारबीच सम्पर्क नदेखिएको उनले बताए।
 
हुनेखाने परिवारका पराजुली सन् २००५ मा काठमाडौंमा डिप्लोमा इन्जिनियरिङ पढेर पढाइकै सिलसिलामा १० महिना युके गएका थिए। युकेमा पढाइ पूरा नगरी फर्केका पराजुली पुतलीसडकस्थित वेस्टर इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा काम गर्थे।
 
कन्सल्टेन्सी सञ्चालक जनक वाइबाले पराजुलीलाई वर्किङ भिसामा अस्ट्रेलिया लगिदिने भन्दै १४ लाख रुपैयाँ ठगेका थिए। बैंकक हुँदै फिजी पुगेपछि ठगिएको थाहा पाएर नेपाल फर्केका पराजुलीले काठमाडौंमा भारतीय नागरिकसँग मिलेर कपडा पसल खोलेको प्रहरीको भनाइ छ।
 
‘यही क्रममा सुनारसँग चिनजान भएपछि उनी नेपालबाट इटालीतर्फ मानव तस्करी गर्ने गिरोह बनेको पत्ता लागेको छ,’ सिंहले भने।
 
सुनारमार्फतै पाकिस्तानी मानव तस्कर समूहसँग सम्पर्क भएर पराजुलीले नेपालका युवालाई लिबिया हुँदै इटाली लैजान थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
 
पराजुलीले पहिला पाँच, त्यसपछि ६ र अर्कोपटक ६ जनालाई नेपालबाट युएई उडाएको महाशाखाले जनाएको छ। हाल बन्धक बनाइएका १२ नेपालीमध्ये पहिलोपटक पाँच र दोस्रोपटक सात जनालाई युएई पठाएको खुलेको महाशाखा प्रमुख सिंहले बताए।
 
Published On: 28 January 2019 | Setopati

Back to list

;