s

कुबेतमा सचेत रहनू

Year of Publication: 15 June 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

कुबेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई परिचय खुल्ने वैधानिक कागजात साथमा राख्न आग्रह गरेको छ। कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत दूतावासले सचेत गराएको छ।

कुबेती प्रहरीले विभिन्न स्थानमा छापा मार्दा पाँच सयभन्दा बढी अवैध नेपाली कामदार पक्राउ परेपछि दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै सजग रहन आग्रह गरेको हो। पक्राउ परेका केही नेपालीको कोठाबाट रक्सीका बोतल, रक्सी बनाउने सामग्री र वेश्यावृत्तिमा समेत संलग्न रहेको भेटिएपछि दूतावासले गैरकानुनी क्रियाकलापमा संलग्न नहुन भनेको हो। 

'अवैधानिक रूपले बसिरहेका आप्रवासीलाई पक्राउ गरी स्वदेश फर्काउन कुबेत प्रहरीले केही समयदेखि कडा चेकजाँच गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'अवैधानिक कामदारलाई तुरुन्तै स्वदेश फर्काएको हुँदा यस्तो असहज परिस्थितिबाट बच्न आफ्नो परिचयपत्र, राहदानी, भिसा, विवाह दर्ता प्रमाणपत्र, करारनामा जस्ता कागजात साथमा राख्न दूतावास अनुरोध गर्दछ।' 

आफ्नो परिवारका सदस्यबाहेक कसैलाई पनि आफ्नो सवारी साधनमा ओसारपसार नगर्न, मोबाइलमा भिओआइपी एप्लिकेसन नराख्न, मदिराजन्य कुनै पनि चिजको उत्पादन तथा सेवनबाट टाढा रहन पनि दूतावासले अनुरोध गरेको छ। वैधानिक कागजात भए, कुबेती प्रहरीले पक्राउ नगर्ने जनाउँदै कहीं कसैलाई त्यस्तो अवस्थामा पनि पक्राउ गरे, तुरुन्त सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ।

Published on: 15 June 2013 | Nagarik

Back to list

;