s

कुमारका आफन्त कहाँ होलान् ?

Year of Publication: 11 May 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की
 
पर्वत गामा ७ का २६ वर्षीय कुमार फकामी पुन संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबी नजिकै सहरस्थित अल गर्बिया अस्पताल (मादिनट जायद अस्पताल) को एउटा बेडमा सुतिरहेको २२ महिना पुग्यो । उनी बोल्न, हिँड्न र चल्मलाउन सक्तैनन् ।
 
अस्पतालले २४ सै घण्टा अक्सिजन दिएर बचाएर राखेको छ । ‘गएको डिसेम्बरमा फकामीको निकै ठूलो अप्रेसन गरियो । त्यतिखेर उनी कोमाबाट बाहिर निस्कन्छन् भन्ने आशा थियो,’ नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले भने, ‘ब्युझिएनन् ।’ 
 
कुमार १८ नोभेम्बर २०१३ मा यूएई आएका थिए । उनी सियोङ कन्स्ट्रक्सनमा श्रमिकका रूपमा काम गर्थे । जुलाई २०१५ मा साउदी सीमा नजिक वेस्टर्न जोनमा काम गरिरहेका बेला उनी दुई फिट माथिबाट लडेर टाउकोमा चोट लाग्दा कोमामा गए । ‘अहिलेसम्मको सबै खर्च कम्पनीबाटै बेहोरिँदै आएको छ । बेलाबेला हामी अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिइरहेका छौं,’ अर्यालले भने, ‘हामीलाई एउटै चिन्ता भनेको उहाँको परिवार खोज्न सकेनौं ।’ 
 
उपचार गरेको दुई वर्षपछि कम्पनीले घर पठाउन खोज्ने भएकाले दूतावासले कुमारको परिवारसँग सम्पर्क गर्न खोजिरहेको उनले बताए । ‘उहाँको परिवार पत्ता लगाउन सकिए मात्रै पनि कुमारको अवस्थाबारे जानकारी दिनुहुन्थ्यो,’ उनले भने, ‘न परिवारबारे हामीले सूचना लिन सकेका छौं । न उहाँबारे परिवारलाई सूचना दिन सक्यौं ।’
 
Published on: 11 May 2017 | Kantipur

Back to list

;