s

कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण

Year of Publication: 9 May 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारको पीडा

राजेन्द्र नाथ
 
कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्याएएकी ती युवती दुई वर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् ।
 
आफूलाई ललाइफकाई अवैध तरिकाले विदेश लग्ने बाँकेका तीन जनाविरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा 'मानव बेचबिखन तथा ओसारपसार' मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपितमध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।
 
राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश फर्किएकी परासन ७, धनसिंहाकी ती १८ वर्षीया युवतीले घरेलु कामदारका रूपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्याीइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताइन् । 'दिउँसो घरमालिकले कोठामा थुनेर बाहिरबाट ताल्चा लगाउँथे,' उनले बयानमा भनेकी छन्, 'राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।'
 
बहिनी र परिवारका अन्य सदस्यसहित मुद्दा दर्ता गर्न आएकी युवती मानसिक रूपमा विक्षिप्त छिन् । जाहेरी लेखाउँदा पनि उनी एकोहोरो टोलाउने र निराशाका कुरा गर्ने गरेको अधिवक्ता राजेन्द्र शर्माले बताए । 'दैनिक १०/१२ जनाले यौन शोषण गर्ने र नमाने टाउको भित्तामा ठोकेर तथा चुरोटले शरीर पोलेर यातना दिने गरेको उनले बताइन्,' पीडितका तर्फबाट जाहेरी लेखेका उनले भने । ०६७ कात्तिक २६ गते रझेना ७ की देवी सुनार ती युवतीको परासन ७ स्थित घरमा पुगेका थिए । उनले राम्रो जागिर लगाउने प्रलोभनमा उनलाई आफूसँगै ल्याएका थिए । पीडितका अनुसार आएको १५/२० दिनपछि उनले 'यताको भन्दा राम्रो जागिर मुम्बईमा पाइन्छ' भन्दै त्यहाँ पुर्या एका थिए । मुम्बई पुगेपछि सुनारले ती युवतीलाई खाँद्वयको जिम्मा लगाएका थिए । उनीहरूले नै नक्कली कागजात बनाएर साउदी पुर्या एको युवतीले बताएकी छन् । उनलाई पुर्याउउन ती दुवै सँगै गएका थिए । 'यस्तो ठाउँमा नबस्ने बताएपछि खाँद्वयले 'तिमीलाई सुनारले बिक्री गरिसकेको छ । त्यसैले खुरुक्क भनेको मान' भनेर धम्क्याएको ती युवतीको बयानमा उल्लेख छ । अरबी मालिक र उसका घरका सदस्य रमाइलोमा भुलिरहेको मौका छोपेर पीडित युवती घर बाहिर निस्केर बहिनीलाई फोन गर्न सफल भएकी थिइन् । त्यसपछि दूतावास, वैदेशिक रोजगार बोर्ड र त्यहाँस्थित नेपालीले उनले पासविक यातना पाएको घर, ठेगाना पत्ता लगाएर उद्धार गरेका हुन् । पछिल्लो समय गैरकानुनी तरिकाले भारतको बाटो खाडी मुलुक जाने महिलाको संख्या बढेको छ । मानव दलालले राम्रो जागिर दिलाइदिने प्रलोभन देखाएर अवैध तरिकाले लग्ने गरेकाले त्यहाँ पुगेपछि नेपाली चेलीहरू असुरक्षित हुँदै आएको चेलीबेटीका क्षेत्रमा कार्यरत माइती नेपालले जनाएको छ । घटनामा पीडितलाई कानुनी उपचारका लागि सहयोग गरिरहेका माइती नेपालका संयोजक केशव कोइरालाले भने, 'उद्धारका लागि बर्सेनि डेढ हजारसम्म उजुरी पर्छन् । त्यसमा ७० प्रतिशत खाडी मुलुक गएका महिला छन् । त्यहाँ उनीहरू यौन शोषणलगायत विभिन्नखाले हिंसाको सिकार हुन बाध्य छन् । तर उद्धार संयन्त्र प्रभावकारी नहुँदा समस्या भएको छ ।'   
 
Published on: 9 May 2013 | Kantipur

Back to list

;