s

कोरियन भाषा परीक्षा उत्तीर्ण कामदारलाई धेरै नकुराउन आग्रह

Year of Publication: 29 November 2019 | Onlinekhabar

Published by: CESLAM

कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपिएस प्रणालीको प्रभावकारिताका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आ-आफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए।

कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपीएस प्रणालीबाट रोजगारीका लागि कोरिया गएर अवधि पुरा भैसकेपछि पनि गैरकानूनी तवरले बसिरहेका नेपाली कामदारहरु र इपीएस टोपिक भाषा परीक्षा तथा दोस्रो चरणको दक्षता परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणका लागि थप कदमहरु चाल्न अनुरोध गरेका थिए ।

साथै इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रहरुमध्ये कम्प्यूटरमा आधारित परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी रहेको र नेपालले पनि यथाशीघ्र त्यसको लागि चाहिने भौतिक पूर्वाधार तयार गर्न समेत उनले अनुरोध गरेका थिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले कोरियन पक्षले उठाएका विषयहरुमा विभाग गम्भीर भएको जानकारी गराउँदै नक्कली परीक्षार्थीहरुलाई कानूनअनुसार सार्वजनिक मुद्दा दायर गर्ने तयारीमा विभाग रहेको बताए ।

उनले ओभरस्टे बसेका नेपालीहरुका कारण अन्य नयाँ कामदारहरुलाई पर्न जाने असरलाई ध्यानमा राख्दै कोरियास्थित नेपाली राजदूतावासले कोरियामा र वैदेशिक रोजगार विभागले नेपालमा विभिन्न कदमहरु चालिरहेको तथा कम्प्यूटरमा आधारित परीक्षा प्रणालीका लागि आगामी जेठ १५सम्ममा भवन लगायतका पूर्वाधार तयार गर्ने गरी काम भइरहेको जानकारी गराए ।

त्यसैगरी महानिर्देशक भुसालले इपिएस प्रणालीबाट कोरिया जाने नेपालीहरुका लागि उपदान लगायतका व्यवस्था गर्न कोरिया सरकारका सम्बन्धित पक्षसँग छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको तथा सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गर्नेहरु र प्रतिबद्ध सूचीमा रहेका कामदारहरुलाई यथासम्भव छिट्टै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गरिदिन अनुरोध गरे।

जवाफमा महानिर्देशक किमले यी चासोका बिषयमा आफूले औपचारिक माध्यमबाट आएपछि आवश्यक संवादका लागि समन्वय गर्ने र कोरियाली अर्थतन्त्रमा आएका संरचनागत परिवर्तनले गर्दा पहिले नै भाषा परीक्षा गरेका नेपाली कामदारहरु रोजगारीका लागि जान समय लागेको विचार व्यक्त गरे ।

उक्त छलफलमा कोरियाली प्रतिनिधि मण्डलकोतर्फबाट महानिर्देशक किम, कोरियाली रोजगार सूचना सेवाका निर्देशक किम योङ्ग हउन र नेपालस्थित एचआरडी कोरिया सेन्टरकी निर्देशक सङ्ग हि पार्कको सहभागिता थियो भने विभागको तर्फबाट महानिर्देशक भूसाल र इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालको सहभागिता रहेको थियो।

Published on: 29 November 2019 | Onlinekhabar

Link

Back to list

;