s

कोरियामा पनि कहाँ सुख छ र?

Year of Publication: 5 January 2011 | Nagarik 

Publication Type: NEWS

Published by: CESLAM

अनिता शिवाकोटी

बहादुर! भारतीयहरूले आफ्ना घरमा काम गर्ने दरबान तथा घरेलु कामदारलाई सम्बोधन गर्ने शब्द हो, बहादुर। खासमा यो एउटा गाली हो।

नेपालीलाई अपमानित गर्न संकीर्ण र हेपाहा भारतीयहरू अहिले पनि यो शब्द खुब प्रयोग गर्छन्। हिन्दी सिनेमामा पनि बग्रेल्ती प्रयोग हुन्छन् ‘बहादुर' पात्रहरू। नेपाली मजदुरहरू जहिँतहीँ हेपिन्छन्। अरेबियाली मुलुक होस् या युरोपेली, सोझा र श्रममा विश्वास गर्ने नेपाली कामदार अपमान खेपिरहेका छन्। कोरिया पनि यस्तै मुलुकको सूचिमा परेको छ। 
 
सन् २००८ नेपाली बेरोजगारहरूका लागि विशेष वर्ष साबित भयो। बेरोजगारीको भुंग्रोमा पिल्सिएकाहरूका लागि यो वर्षले दक्षिण कोरियामा रोजगारीको संभावनाको शीतलता लिएर आयो। दुःख पाइने खाडी मुलुकबाहेक वैदेशिक रोजगारीको विकल्प गन्तव्य अर्काे कुनै थिएन, सामान्य आर्थिक हैसियत भएका बेरोजगार युवाका लागि। नेपाल र कोरियाबीच श्रम सम्झौता भएपछि धेरै नेपाली युवाले आफ्नो भाग्य खुलेको ठाने। 
थोरै लगानी गरेर धेरै कमाउन सकिने भएकाले कोरिया धेरै युवाको ‘ड्रिम डेस्टिनेसन' बनेको छ। कमाउन विदेशिन चाहने जो कोही कोरिया नै ताक्छन्। त्यसमा पनि सरकारी स्तरबाट जाने भएपछि न ठगिने डर, न पैसा फस्ला भन्ने डर। त्यसैले जो कोही निर्धक्क भएर कोरियाको यात्रा गर्न तयार छन्। 
 
खाडी मुलुकमा आठ/दश हजार रुपैयाँको तलब लिन ७० हजार रुपैयाँभन्दा बढी लगानी गर्नुपर्छ। यति लगानी गरियो भने कोरियामा महिनाको कम्तीमा ७० हजार रुपैयाँदेखि बढीमा डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्छ। 
 
७० वर्षअगाडि दक्षिण कोरिया र नेपाल बराबर आर्थिक हैसियतका थिए। तर, अहिले कोरिया विश्वका धनाढ्य देशमध्ये एक हो। कोरियाले अभूतपूर्व आर्थिक क्रान्ति गर्‍यो। यहाँ प्रशस्त उद्योग खुलिरहेका छन्। कृषि क्षेत्रमा पनि चामत्कारिक विकास भइरहेको छ। त्यसैले तीन सय जनाभन्दा थोरै कामदार भएका साना तथा मझौला उद्योग तथा कृषि, मत्स्यपालन, निर्माणलगायत क्षेत्रमा यहाँ विदेशी मजदुर ल्याउने चलन छ। कोरियाको आर्थिक अवस्थाको पहिचान तथा आन्तरिक श्रम बजारको मूल्यांकन गरेर प्रत्येक वर्ष लिइने प्रवासी मजदुरको संख्या निर्धारण गरिन्छ। यही नियमअनुसार अहिलेसम्म झन्डै नौ हजार नेपाली कोरिया पुगिसेकेका छन्। 
 
कोरियाको यो आकर्षण र क्रेज सोचेजस्तो र सुनेजस्तो छैन। यथार्थ बिलकुल भिन्न छ। कोरियामा पैसाका बोट छैनन्, पुग्नेबित्तिकै टिप्न पाइयोस्। कोरिया पुगेपछि थाप्लोमा हात राखेर रुने नेपाली धेरै छन्। राम्रो काम पाउनु, राम्रो व्यवहार गर्ने मालिक पाउनु भाग्यको कुरा हो। मालिकका दुर्व्यवहारले नेपाली कामदारलाई साह्रै दुःखी र मर्माहत पार्छ। लम्जुङ, बाहुनडाँडा-५ का धनराज घलेले मालिककै दुर्व्यवहारका कारण आत्महत्या गरेका थिए। सन् २०१० मा कोरिया पुगेका थिए उनी। प्रोडक्सन कम्पनीमा काम गरिरहेका धनराजलाई कम्पनीको व्यवस्थापन पक्षबाट धेरै नै अपमानजनक व्यवहार गर्न र तनाव दिन थाले। व्यवस्थापन पक्षले उनलाई जबर्जस्ती कामबाट निकालेर आफुखुसी निस्किएको भनी कागज पनि गराएका थिए। व्यवस्थापन पक्षले दिएको मानसिक यातना सहन नसकेर उनले २०११ जुन ११ मा कम्पनीभित्रै पासो लगाएर आत्महत्या गरेका थिए। 
 
डेन्जरस, डर्टी र डिफिकल्ट काम 
इपिएस प्रणलीअर्न्तगत कोरिया पुग्नेमा पढेलेखेकाहरू नै धेरै छन्। एसएलसीदेखि एमएसम्म पास गरेकाहरू कोरिया हानिएका छन्। स्वदेशमा खासै काम नगरेका युवाहरू त्यहाँ पुगेपछि एक्कासि चर्काे मेहनत गर्नुपर्दा हायलकायल हुन्छन्। धेरै खाले समस्यासँग पौँठेजोरी खेल्न परेको छ उनीहरूले। १८ वर्ष कोरिया बसेर यही साता नेपाल फर्किएका डेबिड राई भन्छन्, ‘कहिल्यै काम नगरेका युवाले एकै ठाँउमा बसेर १२/१५ घण्टा काम गर्नु भनेको सानो कुरा होइन। उनीहरू दिक्क र फ्रस्ट्रेटेड हुने गरेका छन्। त्यहाँको ट्रेड युनियनमा आबद्ध भएर आठ वर्ष काम गरेका डेविडले धेरै नेपाली कामदारका समस्या समाधान गरेका छन्। उनीकहाँ साहु र आफ्नै सहकर्मी कोरियाली कामदारको पिटाइ खाएर आउने धेरै हुन्थे। उनका अनुसार कृषि क्षेत्रमा काम गर्न गएकाहरू उत्पादनमूलक क्षेत्रका कामदारभन्दा बढी पीडित छन्। 
 
जति नै शिक्षित भए पनि त्यहाँ नेपालीहरूले गर्ने काम भनेको तल्लो स्तरको नै हो। (उसो त कुनै पनि काम तल्लो या माथिल्लो स्तरको भन्ने हुँदैन। यहाँ प्राविधिक हिसाबले मात्रै त्यसो भन्न खोजिएको हो।) कोरियाले नेपालसँग माग्ने भनेकै अदक्ष कामदार हो, विशुद्ध श्रमिक। त्यहाँ नेपालीहरूले ह्वाइट कलर जब (व्यवस्थापन या उपल्लो स्तरको काम) पाउने कुरै भएन। नेपालीहरू थ्री डी (डेन्जरस, डर्टी र डिफिकल्ट अर्थात् खतरनाक, तल्लो स्तरको र गाह्रो) कामका लागि कोरिया पुग्छन्। ‘सानो तिनो काम त हो नि, गरिहालिन्छ' भन्ने मानसिकता बोकेर विदेशियका धेरै नेपाली मजदुर दुखेसो पोख्न संस्थामा आउने डेबिड बताउँछन्। 
 
कोरियन कामदार अत्यधिक परिश्रमी हुन्छन्। ‘जति धेरै काम गर्‍यो, कम्पनी उति नाफामा जान्छ र हामीले त्यहीअनुसार पैसा पाउँछौँ' भन्ने सोच उनीहरूमा हुन्छ। यस्तो काम संस्कृति भएका कोरियालीहरूसँग नेपालीले काम गर्नुपर्ने हुन्छ। १० वर्षसम्म कोरिया बसेर नेपाल आएका हर्कमान् नुगो भन्छन्, ‘एकै ठाँउमा बसेर ८/९ घण्टासम्म मेसिनले जसरी काम गर्नुपर्छ। काम सजिलो भए पनि चाँडो चाँडो काम गर्नुपर्ने भएकाले धेरै गाह्रो हुन्छ।'
 
कहिल्यै हँसिया नसमातेको हातले १०/१२ घण्टासम्म फलफूल काट्नुपर्‍यो भने के होला? सहजै अनुमान लगाउन सकिन्छ। कोदालो देख्यो कि, ‘मेरो त पढ्नु छ' भन्दै भाग्ने युवा त्यहाँ बारीे खनिरहेका छन्। उत्पादनमूलक कम्पनीमा पाइने काम भनेको फलाम या गह्रुँगो सामान उठाएर मेसिनमा हाल्ने नै हो। यस्तो काममा ज्यान नै जोखिममा हुने गरेको हर्कमान् बताउँछन्। ‘धेरै ठूला भारीलाई तह लगाउनुपर्ने हुन्छ,' भुक्तभोगी हर्कमान् भन्छन्, ‘अल्छी लाग्यो, आज काम गर्ने मुड छैन, मलाई गाह्रो भयो भन्ने त कुरै हँुदैन। कम्पनीभित्र कसैको कसैसँग बोल्ने फुर्सदसम्म हँुदैन। त्यस्तै कृषि, माछापालन र फार्मको काममा पनि धेरै गाह्रो हुन्छ।' 
 
कामको प्रकृति 
कोरिया सरकारसँग पाँच क्षेत्रमा कामदार जान पाउने सम्झौता भएको छ। उत्पादनमूलक क्षेत्र, निर्माण, कृषि, मत्स्यपालन र कृषि उत्पादन क्षेत्रमा नेपालीहरू जाने भने पनि धेरै नेपाली उत्पादनमूलक क्षेत्रमा नै गइरहेको छन्। सन् २०११ मा १३ हजार नेपालीले उत्पादनमूलक क्षेत्रका लागि भनेर नै फारम भरेका थिए। 
 
कृषि क्षेत्रअर्न्तगत अन्नबाली उत्पादन गर्ने काम तथा पशुपालन र कृषिजन्य व्यवसायमा सहयोगीको रूपमा नेपालीहरू पुग्ने गरेका छन्। अन्न उत्पादन, बगँैचा, च्याउ, फलफूल, सागपात, बिउ उत्पादनलगायत काम नेपालीहरूले गर्दै आएका छन्। पशुपालनमा गाईबाच्छा, सुंगुर, घोडा, कुखुराको स्याहार गर्नुपर्ने हुन्छ। 
 
उत्पादनमूलक क्षेत्रमा मजदुरले विषेश गरी खाना, सुर्तीजन्य पदार्थ, काठका बस्तु, कागज, काजगका समग्री, केमिकल, तेलजन्य पदार्थ, जुट, प्लास्टिक, मेसिनरी पाटर्पूजा उत्पादन गने उद्योगमा काम गर्नुपर्ने हुन्छ। कृषि क्षेत्रका धेरै जसो कम्पनीहरूको खाना र बस्ने व्यवस्था निःशुल्क गर्छन्। तर, प्रत्येक कम्पनीको कार्य अवस्था भने फरक फरक हुने गर्छ।
 
मत्स्यपालनमा गएकाहरूका समस्या 
कहिल्यै जहाज नै नदेखेका नेपालीहरूले पाँच/छ दिनसम्म जहाजमा बसेर माछा मार्न हिँड्नु पर्दा आत्तिन्छन्। ट्रेड युनियनमा एक वर्षसम्म काम गरेर फर्किएका संजीव चापागार्इँका अनुसार कोरियाको सुमद्रबाट माछा मार्दै कामदारहरू जापान र चीनका छेउछाउसम्म पुग्ने गर्छन। जहाजबाट ओर्लिएको एक/दुई दिनसम्म त जिउ ब्यालेन्समा ल्याउन पनि गाह्रो हुने नेपाली युवाका अनुभव छ। हप्ता दिनसम्म समुद्र र माछाको संसर्गमा रहनुपर्दा कोही त डिप्रेसनको सिकार पनि हुने गर्छन्। डेबिड भन्छन्, ‘डिप्रेसनग्रस्त चार/पाँच जनालाई त मैले नेपाल पठाइदिएको छु।' 
 
कृषि मजदुरका समस्या 
कृषिको काम सिजनेबल हुन्छ। काम भएको बेला मारामार काममा खटिनुपर्छ भने काम नभएको बेलामा उपर्खुट्टी लगाएर बसे पनि केही छैन। तर काम नगरी पैसा दिने पक्षमा मालिक हुँदैनन्। त्यसैले काम नभएको बेलामा कामबाट निकालिदिन्छन्। यस्तो बेलामा धेरैको बिचल्ली हुने गरेको छ। उत्पादनमूलक क्षेत्रमा काम गर्न गयो गैरकानुनी मानिन्छ। त्यतिकै बस्दा के खाने? के लाउने? 
 
कृषि क्षेत्रका लागि महिला कामदार कोरिया पुगेका छन्। पुरुषको तुलनामा महिलालाई त्यहँा धेरै समस्या हुने गरेको छ। साहुले कामबाट निकालिदिएका बेलामा उनीहरूको बिजोग हुने गर्छ। महिला कामदारका समस्या अचाक्ली बढ्न थालेपछि चार महिनाअघिमात्रै उनीहरूका लागि एउटा सेल्सट नै खोलिएको छ। 
 
कृषि, माछापालनमा काम गर्नेहरूका लागि के दिन, के रात, जतिखेर पनि काम गर्नुपर्ने हुन्छ। तर ओभरटाइमको भने व्यवस्था हुँदैन। बेसिक तलब थाप्यो, बस्। त्यही पनि सबै मालिकले कहाँ दिन्छन् र? ‘नेपाली कामदारलाई मज्जाले हेपे हुन्छ' भन्ने मानसिकता छ कोरियन मालिकहरू। कृषि क्षेत्रका धेरै मालिकहरूलाई त सम्झौताका बारेमा भुत्लोभाङ थाहा हुँदैन। त्यसैले जतिसक्यो थोरै पैसा दिन खोज्छन्। त्यसमा पनि भनेको बेलामा पैसा नपाउनु अर्को समस्या हो। जागिर छाड्नु न समात्नुको दोधारमा धेरै नेपाली कामदार छन्। ‘छाडै एकवर्ष जतिको तलब लिन बाँकि छ, नछाडे काम गर्नै नसक्ने भइयो,' कृषि क्षेत्रमा काम गर्ने धेरैको गुनासो यस्तै हुने बताउँदै डेबिड भन्छन्। अझ बंगुर फार्ममा काम गर्नेहरूको बेहाल हुन्छ। ‘जतिसुकै नुहाए पनि, जतिसुकै पर्फ्युम हाले पनि बंगुर फार्ममा काम गर्नेहरूको शरीरबाट गन्ध आइरहेको हुन्छ,' उनी भन्छन्। 
 
संजीव चापागार्इँका अनुसार त्यहाँ ग्रिन हाउसमा काम गर्न धेरै गाह्रो हुन्छ। हावा नलाग्ने भएकाले बाफिनुपर्छ। त्यसमाथि लेखपढ नभएका कोरियनहरूले नेपालीलाई दासको जस्तै व्यवहार गर्छन्। ‘कुरा बुझाउन खोज्यो कुरै सुन्न मान्दैनन्,' संजीव भन्छन्, ‘ कामदारको तलब दिलाइदिन पनि कानुनीरूपमा नै अगाडि बढ्नुपर्छ।' 
 
उत्पादनमूलक क्षेत्र होस् वा कृषि, नेपालीको संगत हुने कोरियन भनेका नपढेका र गरिब नै हुन्। ‘उनीहरू प्रवासी नागरिकलाई मान्छे मान्न तयार छैनन्,' हर्कमान् भन्छन्, ‘नेपालीलाई उनीहरू केही खान नपाएर हाम्रो देशमा आएका हुन् भन्ने सोच्छन्। हामी यिनीहरूका मालिक हौँ, यिनिहरू हाम्रा दास हुन् भन्ने मानसिकता हुन्छ उनीहरू। कोही त मालिकले दिएको दुःख सहन नसकेर भागेर गैरकानुनी रूपमा बस्दै आएका छन्।' 
कोरियामा तीनवर्षमा तीनटामात्र कम्पनी परिवर्तन गर्न पाइन्छ। त्यो पनि कम्पनीको कुनै गल्ती भएमा। कामदार आफैँले कम्पनी छाडेमा, तीनटाभन्दा बढी कम्पनी फेरेमा ऊ गैरकानुनी मानिन्छ। 
 
कृषि क्षेत्रमा काम गर्ने कामदारलाई ओभरटाइमको व्यवस्था हुँदैन। काम भने दिन रात गर्नुपर्छ। तर कम्पनीमा भने यस्तो हुँदैन। महिनामा झन्डै डेढ लाखको कमाउने नेपालीहरू पनि कोरियामा छन्। आफूसँगै गएका साथीहरूले कमाएको देखेर नेपालीहरू बिनाकारण कम्पनीमा झगडा गरेर निस्कन्छन् र अर्को कम्पनीमा पुग्छन्। तर सबै कम्पनी एकैनासे कहाँ हुन्छन् र? कानुनअनुसार गएका नेपालीहरू पनि भिसा अवधिमै गैरकानुनी बन्छन्। हर्कमान् भन्छन्, ‘कानुनी रूपमा गएका युवा पनि कम्पनी चहार्ने बानीले गैरकानुनी भएर बसेका छन्।' 
०००
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरू अहिले झन्डै पाँच सयको हाराहारीमा छन्। अहिलेसम्म आठ हजार आठ सय सात जना नेपाली कोरिया गइसकेका छन्। 
 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत २०११ मा लिएको परीक्षामा पास भएकाहरू दुई महिनापछि कोरिया जान पाउने भएका छन्। उत्तीर्ण भएका सबैको रोस्टर तयार भइसकेको छ। इपिएस नेपाल कार्यालयका संयोजक महेश आचार्यका अनुसार १५ हजार ७९ जना रोस्टरमा छानिएका छन्। स्वास्थ्य परीक्षण गरिसकेको कामदारको नामावली कोरियाको मानव संसाधन कार्यालयमा पठाइसकिएको आचार्य बताउँछन्। उनी भन्छन्, ‘जनवरी १५ पछि श्रम सम्झौता आउनेछ।' योग्यता परीक्षण (स्किल टेस्ट)मा सहभागी भएकाहरू पहिले कोरिया जान पाउनेछन्। भाषा परीक्षामा शतप्रतिशत अंक ल्याएका दुई हजार छ सय कामदार स्किल टेस्टमा सहभागी भएका थिए। 
 
भाषा परीक्षा पास गरेको दुई वर्षभित्र कोरिया गइसक्नुपर्छ। नेपाली कामदार इमानदार, मेहनती भएको भन्दै कोरियाले नेपाली कामदारको कामको प्रशंसा गर्दै आएको छ। त्यसैले उसले नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राखेको छ । कोरियाली उद्योगीहरूले मन पराएको र थोरै लगानीमा धेरै कमाउन सकिने भएकाले कोरिया नेपालीका लागि राम्रो गन्तव्य भएको छ। त्यसैले १५ हजार कामदार मागेको ठाउँमा ५० हजार जतिले भाषा परीक्षा दिएका थिए।
 
Published on: 5 January 2011 | Nagarik 

Back to list

;