s

कोरियामा नेपाली श्रमिकको माग बढ्यो

Year of Publication: 2 March 2023 | Gorkhapatra

Published by: CESLAM

सीता शर्मा

काठमाडौँ, माघ १८ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुभयो, “नेपालबाट ईपीएसमार्फत कोरिया जाने श्रमिक छनोट प्रक्रिया पारदर्शी छ, एचआरडीले तोकेको मापदण्डअनुसार छिटो श्रमिक तयार गर्न सकेका छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।”

कोभिड–१९ को महामारीमा करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि सुस्ताएको थियो । आर्थिक गतिविधि कम भएपछि श्रमिकको माग पनि कम थियो तर पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कोरियामा विदेशी श्रमिकको खाँचो बढेकाले कोरिया सरकारले मापदण्ड पूरा गरेर छोटो समयमा पठाउन सक्नेलाई प्राथमिकतामा राखेको छ । सन् २०२२ मा लगभग १५ हजार युवा ईपीएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

केही वर्षदेखि सरकारले ईपीएसअन्तर्गत सबै प्रक्रिया पूरा गराएर नेपाली युवालाई कोरिया पठाउँदै आएको छ । कोरिया जाने व्यक्तिले सबभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण हुनैपर्छ । त्यसपछि अन्य सामान्य प्रक्रिया पूरा गरेर कोटाअनुसार क्रमशः नेपाली युवा दक्षिण कोरिया जान पाउँछन् । भाषा परीक्षादेखि अन्य प्रक्रियामा स्वयं कोरियाली सरकारका प्रतिनिधि पनि संलग्न हुने गरेका छन् । ईपीएस प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली युवा जान लागेको डेढ दशकभन्दा धेरै भइसकेको छ ।

कोभिड–१९ महामारी सुरु भएको अघिल्ला दुई वर्षमा कोरिया प्रवेश गर्ने नेपालीको सङ्ख्या एक हजार ४१४ जना मात्रै थियो । कोरोना सङ्क्रमणअघिका १४ वर्षमा कोरियाले वार्षिक औसत पाँच हजार श्रमिक नेपालबाट लैजाँदै आएको छ । पछिल्लो एक वर्ष (कात्तिकदेखि पुससम्म) १५ हजारभन्दा बढी कोरिया पुगेका छन् । नेपाली युवा अहिलेसम्म कोरियामा मुख्य गरी दुई क्षेत्र कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न जाने गरेका छन् ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ मात्रै १० हजार ७५८ जनाको माग आएको छ । कृषितर्फको भाषा परीक्षा सम्पन्न गरी सीप परीक्षणको तालिम पनि सार्वजनिक गरिसकेको छ ।

सन् २००८ देखि बर्सेनि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा सन् २०२० र सन् २०२१ को दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । सन् २०२३ का लागि उत्पादनतर्फको माग भने आइसकेको छैन ।

कोरियाले यो वर्षदेखि देशगत रूपमा कोटा निर्धारण नगर्ने नीति लिएकाले नेपालीको कामप्रतिको लगनशीलता र इमानदारीका कारण उत्पादनतर्फ नेपालीका लागि ३० हजारकै हाराहारीमा माग आउने अपेक्षा गरेको शाखाले जनाएको छ ।

वैदेशिक रोजगारीको यस्तो कहालीलाग्दो अवस्थामा कोरियाजस्तो सुरक्षित र सुविधा बढी भएको मुलुकले धेरैको सङ्ख्यामा नेपाली लिन खोज्नु युवाका लागि खुसीको खबर हो ।

कोभिड महामारीपछि चर्को श्रमिकको अभाव खेपेको कोरियाले नेपाललगायत विभिन्न १६ राष्ट्रबाट एक लाखभन्दा बढी श्रमिक ल्याउने योजना बनाएको जानकारी आएको छ । श्रमिक आपूर्तिका लागि उसले विगतको देशगत रूपमा निर्धारण गरिने कोटा प्रणालीलाई हटाएर जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ ।

कोरियाले विदेशी श्रमिक माग गर्ने राष्ट्रहरूमध्ये नेपाल छिटोछरितो रूपमा श्रमिक पठाउने मुलुकमध्येमा पर्छ । यही कारण नेपालले आगामी दिनमा अझै धेरै कोटा पाउने सम्भावना बढेको छ ।

Published on: 2 March 2023 | Gorkhapatra

Link

Back to list

;