s

कोरियाले नेपाली कामदारको कोटा घटायो

Year of Publication: 28 April 2016 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

 
नवराज ढकाल
 
काठमाडौं: कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो।
 
सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्र भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ।गत वर्ष आठ हजार पाँच सयजना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये अहिलेसम्म २५ सय मात्रै काम गर्न कोरिया जान पाएका छन्। 
 
गत वर्ष भाषा परीक्षा पास गरेकालाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ। परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिएको हुन्छ। सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर काम गर्न बोलाउने गर्छन्।
 
पछिल्लो समय कोरियाको अर्थतन्त्रमा सामान्य मन्दी आएको छ। आन्तरिक बजारमा पनि रोजगारीको माग बढेको अनुमान छ। यसले पनि विदेशी कामदारको कोटा केही घटाएको हुन सक्ने इपीएस कोरिया शााखाको बुझाइ छ।
 
गत वर्ष भूकम्पका कारण कोरियाले नेपालको कोटा बढाएको थियो। सोही कोटाअनुसार अहिले कामदार पठाउने कार्य भइरहेको छ।पछिल्लो समय कोरियाले अनुभवी कामदारलाई प्राथमिकता दिन थालेको छ। 
 
काम गरेर फर्किएकालाई लैजाने क्रम बढेको छ। कोरियामा चार वर्ष १० महिना काम गरेर फर्किएकाले केही समय नेपालमा बसेपछि फेरि जान पाउने नियम छ। 
 
काम गरेर फर्किएकाले कम्प्युटरमा आधारित सामान्य किसिमका परीक्षा (सीबीटी) पास गरेपछि पुनः जान पाउँछन्। प्रत्येक तीन महिनामा यस्तो सीबीटी परीक्षा सञ्चालन हुने गरेको छ। काम गरेर नेपाल फर्किनेको संख्या ६ हजार पुगिसकेको छ।
 
कोरियाली कानुनअनुसार विदेशी कामदार चार वर्ष १० महिनाभन्दा बढी बस्न मिल्दैन। बढी अवधि बस्नेलाई कोरियाले अवैध घोषाणा गर्छ।
 
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आगामी वर्षका लागि कोरियाले कोटा घटाएको जानकारी दिए। 'गत वर्ष आठ हजार पाँच सय जना भाषा परीक्षामा पास भएकामा यसपटक जम्मा ३१ सयलाई मात्र पास गराउने जानकारी कोरियाले दिएको छ', उनले भने।
 
गत वर्षका जान बाँकी रहेका, कोरियाको अर्थतन्त्रमा मन्दी, काम गरेर फर्किएकाले फेरि जान प्रोत्साहित गरिएकाले नयाँको कोटा घटेको उनको बुझाइ छ।
 
कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। नेपाल सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको हो। जानेबित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख १२ हजार हाराहारीमा कमाउन सक्छन्। अनुभव भएपछि कमाइ अझ बढ्छ। अतिरिक्त समय काम गर्नेले मासिक साढे दुई लाखदेखि तीन लाखसम्म पनि कमाउने गरेको त्यहाँ काम गरिरहेकाहरू सुनाउँछन्।
 
हाल कोरियामा ३० हजार नेपालीले काम गरिरहेका छन्। उद्योग र कृषि क्षेत्रमा नेपालीले काम पाएका छन्। कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन्। दुवै देशका सरकारी स्तरमा (जी टु जी) मात्र कामदार आदानप्रदान गर्ने व्यवस्था छ।
 
आवेदन फाराम भर्न सुरु
 
सन् २०१७ मा कोरिया काम गर्न जानका लागि बुधबारदेखि आवेदन फाराम खुला भएको छ। पहिलो दिन २१ हजार ६ सय ३२ जनाले आवेदन भरेका छन्। ईपीएस कोरिया शाखाले उपत्यकाबाहिर पाँच र उपत्यकामा पाँच स्थानबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको छ। 
 
आवेदन फाराम वैशाख १८ गतेसम्म बुझाउन पाइनेछ। उपत्यकाबाहिर डडेलधुरा, पोखरा, बुटवल, धरान तथा जनकपुरबाट तथा उपत्यकामा कीर्तिपुरको ल्याबरेटरी स्कुल, भ्याली स्कुल महाराजगन्ज, वेद विद्या श्रम वनकाली, महेन्द्र विद्या श्रम सातदोबाटो र च्यासल खेलमैदान बालकुमारीमा आवेदन फाराम बुझाउन सकिनेछ।
 
यसपटक आवेदनमा एमआरपी अनिवार्य गरिएको छ। काठमाडौंमा आवेदन दिन गएका कोही पनि फर्किनु नपरे पनि धरान र पोखरामा भने अधिक भीडका कारण बिहीबार आवेदन दिन पाउने गरी कतिपयलाई फिर्ता गरिएको छ। 
 
इपीएसका अनुसार पोखरामा एक हजार र धरानमा पाँच सयजनाले बुधबार आवेदन फारम बुझाउन पाएनन्। महाराजगन्ज केन्द्रमा सबै महिला कर्मचारी परिचालन गरिएको छ।
 
Published on: 28 April 2016 | Annapurna Post

Back to list

;