s

कोरियाबाट शव झिकाउन करोडौं

Year of Publication: 2 January 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रुद्र खड्का
 
रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको कोरियासँग नेपालले गतिलो तवरले श्रम सम्झौता गर्न नसक्दा बर्सेनि अनावश्यक रूपमा ठूलो रकम गुमाइरहेको छ ।
 
रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारको निधन हुँदा घरसम्म शव पुर्याउने दायित्व रोजगारदाताको हुने गरे पनि कोरियाका रोजगारदाताले त्यस्तो मान्यतालाई बेवास्ता गर्दा नेपालले करोडौं रकम गुमाइसकेको छ । हरेक महिना कामदारको निधन हुँदा तिर्नुपर्ने दायित्वबाट नेपाल बच्न सकेको छैन । 
 
कोरिया कामदार पठाउने विषयमा श्रम सम्झौता गर्दा नेपालले कोरियन रोजगारदातासँग कुरा गर्न नसक्दा ठूलो रकम गुमाइरहेको हो । ‘रोजगारीका लागि जुनसुकै गन्तव्य मुलुकमा ज्यान गुमाएका व्यक्तिको शव रोजगारदाता कम्पनीले नै घरसम्म पुर्याउने दायित्व हुनुपर्ने हो,’ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘कोरियाबाहेकका अन्य गन्तव्य मुलुकका अधिकांश रोजगारदाताले आफ्नै खर्चमा कामदारको शव स्वदेश पठाइदिने गरेका छन् ।’ 
 
कोरियामा काम गर्दागर्दै ज्यान गुमाएका व्यक्तिको शव नेपालसम्म पठाइदिन कर्मचारी तहमा प्रयास भए पनि त्यस्तो प्रयासलाई कोरियाका रोजगारदाताले अटेरी गरिरहेको बताइएको छ । कोरियामा कामदार पठाउनेबारे दुई देशका अधिकारीबीच सम्झौता हुँदा काम गर्दागर्दै निधन भएका व्यक्तिको शव घरसम्म पुर्याउने दायित्व रोजगारदाताको हुनुपर्ने बाध्यकारी प्रावधान नराखिएका कारण यतिखेर शव ढुवानीको जिम्मा बोर्डलाई छ । 
 
‘कोरियामा काम गर्दागर्दै निधन भएका कामदारको शव झिकाउन त्यहाँका रोजगारदातासँग जति आग्रह गर्दा पनि सुन्दैनन्,’ काफ्लेले भने, ‘रोजगारदाताले अटेरी गरेपछि हाम्रो नागरिक भएकाले बोर्डको रकम खर्च गरेर शव झिकाउनुपर्ने बाध्यता छ ।’  
उनले कोरियामा निधन भएका कामदारको शव स्वदेशमा ल्याइपु¥याउन ५ देखि साढे ५ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । ‘त्यति धेरै रकम खर्च गरेर कोरियाबाट शव झिकाउँदा खाडी र मध्यपूर्वी देशमा काम गर्ने कामदारलाई  अन्याय भइरहेको छ भन्ने राम्रो जानकारी छ,’ काफ्लेले भने, ‘खाडी र मध्यपूर्वी देशमा जाने कामदारले जम्मा गरेको रकम खर्च गरेर कोरियाबाट शव झिकाउनु परिरहेको छ ।’ 
 
बोर्डले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेको खण्डमा तथा विदेशमा ज्यान गुमाउँदा कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकम प्रयोग गर्ने गर्छ । रोजगारीका लागि कोरिया जाने कामदारसँग प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र खाडी मुलुक र मलेसिया जानेसँग १ हजार ५ सय रुपैयाँ बोर्डले कल्याणकारी कोषका लागि संकलन गरिरहेको छ । 
 
कोषमा संकलन गरिएको रकमको आधामा कोरियाका लागि भने खर्च बढी हुने गरेको बोर्डका कर्मचारी बताउँछन् । ‘कोरियामा एउटा कामदारको निधन भयो भने ५ देखि साढे ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ,’ काफ्लेले भने, ‘अन्य मुलुकमा ज्यान गुमाउने अधिकांश कामदारको शव झिकाउने खर्च भने सम्बन्धित रोजगारदाताले नै बेहोर्छन् ।’ 
 
बोर्डका अनुसार हलासम्म कोरियाबाट शव झिकाउन मात्र पौने ३ करोड रुपैयाँ खर्च भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव पुर्याउन भने बोर्डले छुट्टै व्यवस्था गरेको छ । विमानस्थलबाट मृतकको घरसम्म शव पुर्याउन गत वर्ष एक करोड ३५ लाख ४७ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । 
 
पछिल्लो समयमा कोरियामा आत्महत्याका घटना बढेको छ भने अन्य कारणले मृत्यु हुनेको संख्या समेत बढ्दो छ । वैदेशिक रोजगार विभाग अन्तर्गत कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनासम्म (गएको अगस्तसम्म) १६ जनाको निधन हुँदा चारजनाले आत्महत्या गरेका थिए भने त्यत्तिकै संख्या सुतेको अवस्थामा मृत फेला परेका थिए । समृद्ध भविष्यको सपना बोकेर कोरिया पुगेकामध्ये हालसम्म एक सय ३० जनाको निधन भएको छ । जसमा ३६ जनाले आत्महत्या गरेका छन् । ३९ जनाको सुतेकै अवस्थामा निधन भएको छ । 
 
११ हजार ८ सयले भरे रोजगार आवेदन फारम
 
सन् २०१८ मा रोजगारीका लागि कोरिया जान ११ हजार ८ सय ६६ ले रोजगार आवेदन फारम भरेका छन् । गत जेठमा कोरिया शाखाले लिएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार १ सय ८ जनामध्ये ११ हजार ८ सय ६६ ले रोजगार आवेदन फारम भरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए  । 
 
स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ । सन् २०१८ का लागि कोरियाको मानव संशाधन विभागले तोकेको १० हजार ५ सय कोटामा पर्न ७५ हजारभन्दा बढी युवाले भाषा परीक्षा दिएका थिए । 
 
भाषा परीक्षा उत्तीर्ण गरेर रोजगार आवेदन फारम भरेकामध्ये कोरियाको मानव संशाधन विभागले स्वीकृति दिएकाको अन्तिम नामावली रोस्टरमा प्रकाशित भएपछि बल्ल रोजगारदाताले सफल हुनेलाई बोलाउँछन्  । सबै प्रक्रियामा सफल उम्मेदवार आउँदो फेब्रुअरीदेखि कोरिया जान पाउने भण्डारीले बताए । सन् २००७ यता रोजगारीका लागि करिब ४९ हजार नेपाली गइसकेका छन् । मासिक सरदर साढे एक लाख रुपैयाँ पारिश्रमिक पाउने भएकाले कोरियाको रोजगारी आकर्षक मानिन्छ ।  
 
Published on: 2 January 2018 | Nagarik

Back to list

;