s

किन बिक्दैन वैदेशिक रोजगार बचतपत्र ?

Year of Publication: 16 July 2024 | Onlinekhabar

Published by: CESLAM

२८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले जोखिम विना उच्च प्रतिफल पाउने लगानीको एउटा औजार हो वैदेशिक रोजगार बचतपत्र ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचत गर्ने बानी विकास गर्ने र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने भन्दै नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन सुरु गरेको थियो ।

सरकारले आन्तरिक ऋण परिचालन गर्ने औजार र वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि सुरक्षित लगानी गर्न सक्ने औजारका रूपमा वैदेशिक रोजगार बचतपत्र अगाडि सारेको थियो ।

विगतदेखि नै बजारमा चलेको ब्याजदरभन्दा उच्च प्रतिफल दिने गरी सरकारी ऋणपत्रका रूपमा वैदेशिक रोजगार बचतपत्र अगाडि सारे पनि त्यसमा अपेक्षाकृत आकर्षण नदेखिएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०६६/६७ देखि चालु आवसम्म निष्कासन भएका वैदेशिक रोजगार बचतपत्रमध्ये औसतमा ४.९१ प्रतिशत मात्रै बिक्री भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांकले देखाउँछ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेकालाई नै औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने भन्दै धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आरक्षणको व्यवस्था नै भएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै कुनै पनि कम्पनीले सार्वजनिक निष्कासन गर्न सर्वसाधारणलाई जारी हुने साधारण सेयरको १० प्रतिशत अनिवार्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

जसअनुसार पछिल्लो प्राथमिक सार्वजनिक निष्कासन गर्ने हरेक कम्पनीले सार्वजनिक निष्कासनको १० प्रतिशत आरक्षणका रूपमा वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि आईपीओ जारी गर्दै आएका छन् । यसरी जारी गर्ने आईपीओमा भने मागभन्दा पाँच गुणासम्म आवेदन पर्ने गरेको देखिन्छ ।

धितोपत्र बजारमा लगानी गर्ने भनेको जोखिम पनि लिनु हो । धितोपत्र बजारमा गर्ने लगानीमा प्रतिफलको सुनिश्चितता हुँदैन । सेयर बजारमा लगानी गर्नेहरू जोखिम विश्लेषण गर्न सक्ने र जोखिम बहन गर्न सक्ने हुनपर्छ ।

सेयर बजार आमनागरिकका लागि नभई जोखिम लिनेका लागि हो भन्ने गरिन्छ । त्यसरी सरकारले निष्कासन गर्ने वैदेशिक रोजगार बचतपत्र भनेको प्रतिफल सुनिश्चित हुने र जोखिमरहित लगानी विकल्प समेत हो ।

तर, वैदेशिक रोजगारीमा गएकालाई आरक्षित गरेको आईपीओ र वैदेशिक रोजगार बचतपत्रमा लगानीको ‘ट्रेन्ड’ विश्लेषण गर्ने हो भने वैदेशिक रोजगारीमा रहेकाले पनि जोखिम लिन रुचाउने गरेको तथ्यांकले देखाउँछ ।

सेयर बजारमा लगानी गर्दा पछिल्लो समय तत्काल पूँजीगत लाभ भएको देखिन्छ । तर, त्यस्ता कम्पनीले प्रतिफल दिन्छ भन्ने सुनिश्चितता छैन । पछिल्लो पाँच आईपीओ हेर्ने हो भने पनि तीन कम्पनीले अंकित मूल्यमा नै आईपीओ जारी गरेका छन् ।

यस्तै नेपालमै पहिलो पटक सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ जारी गरेको छ भने हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको छ ।

पाँच कम्पनीकै आईपीओमा वैदेशिक रोजगारीमा गएकालाई जारी गरिएका आईपीओमा आवेदन मागेको सेयर संख्या १ सय ६२ प्रतिशतदेखि ९ सय ४३ प्रतिशतसम्म आवेदन परेको देखिन्छ ।

लगानीका लागि बढी जोखिम मानिने बुक बिल्डिङ विधिको सर्वोत्तम सिमेन्टको आईपीओमा २ लाख ६७ हजार कित्ताका लागि आवेदन माग भएकोमा २५ लाख १७ हजार कित्ताको आवेदन परेको छ । ३६ हजार ३ सय १२ आवेदकले दिएको उक्त आवेदन माग गरिएभन्दा ९ सय ४३ प्रतिशतले बढी हो ।

पछिल्लो पटक आईपीओ जारी भएका पाँच कम्पनीमध्ये ‘फन्डामेन्टल’ हेर्न हो भने सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स कम्पनीले तत्काल प्रतिफल दिने अवस्था देखिए पनि मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र भिजन लुम्बिनी ऊर्जा कम्पनीमा प्रतिफल अनिश्चत छ ।

वैदेशिक रोजगारीमा रहेकाले आईपीओमा आवेदन दिनेमध्ये ठूलो संख्या मध्यपूर्वका यूएई, कतार, साउदी अरब लगायत देशबाट नै देखिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्य बताउँछन् ।

त्यसपछि भने दक्षिण कोरिया रहेको उनले बताए । अस्ट्रेलिया, अमेरिका र युरोपबाट भने आईपीओमा आवेदन दिनेको संख्या कम छ ।

यसले पनि मध्यपूर्वमा वैदेशिक रोजगारीमा जानेहरू जो ठूलो महत्त्वकांक्षा भन्दा पनि परिवारको दैनिक आवश्यकता पूरा गर्ने उद्देश्यले गएका हुन्, उनीहरूसँग जोखिम विश्लेषण र प्रतिफलको मूल्यांकन गर्न सक्ने अवस्था हुँदैन । उनीहरू नै जोखिमपूर्ण मानिने आईपीओमा लगानी गर्न बढी उत्साहित रहने गरेको देखिन्छ ।

सेयर बजारमा आरक्षणको व्यवस्था गर्नु नै गलत भएको धितोपत्र बजार अध्ययन विज्ञ तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट बताउँछन् ।

धितोपत्र बजार भनेको जोखिम लिन सक्ने र जोखिम विश्लेषण गर्ने सक्ने लगानीकर्ताका लागि मात्रै भएका कारण यस्तो बजारमा आरक्षणको व्यवस्था नै गलत रहेको उनको तर्क छ ।

सेयर बजार अहिले सबैको पहुँचमा भएको र लगानी गर्न सकिन्छ भन्ने जानकारी भएको हुँदा यसमा बढी आकर्षण भएको भट्ट बताउँछन् ।

‘सर्वसाधारणलाई वैदेशिक रोजगारी बचतपत्र, नागरिक बचतपत्र जस्तो औजारको पनि बजार छ । यसलाई सजिलै किन्न र बेच्न सकिन्छ भन्ने नै थाहा छैन,’ उनले भने, ‘वैदेशिक रोजगार बचतपत्रको एजेन्ट, बजार निर्माता पनि छन् । तर, तिनले सचेतना सिर्जना गर्ने र लगानीको विकल्पबारे बुझाउन सकेका छैनन् ।’

वैदेशिक रोजगार बचतपत्र पनि सेयर बजारमा गर्ने लगानी जस्तै सजिलै बिक्री गर्न सकिन्छ । स्टक एक्सचेन्ज जस्तो मूल्य तलमाथि हुने गरी किन्ने र बेच्ने प्रणाली नभए पनि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न चाहेको अवस्थामा जुनसुकै बैंकलाई प्रस्ताव गर्दा पनि बैंकले तुरुन्त खरिद गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र ऋण व्यवस्थापन कार्यालय प्रमुख दीर्घराज मैनाली बताउँछन् ।

अनलाइनबाट नै कारोबार गर्न सकिने गरी काम भएको उनले बताए । अहिले अंकित मूल्यमा नै बैंकले कारोबार गर्नुपर्ने हुन्छ । १२ प्रतिशत ब्याजदरमा लगानी गरे पनि अहिले ८/९ प्रतिशतमा ब्याजदर आउँदा समेत अंकित मूल्यमा नै यस्तो बचपत्र कारोबार हुन्छ ।

अब सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले सरकारी ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र औभौतिकीकरण गरेर दोस्रो बजारमा कारोबार गर्न सकिने विषयमा समेत अध्ययन गरिरहेको मैनाली बताउँछन् ।

यता, सुरक्षित लगानी र प्रतिफल समेत सुनिश्चित भएको वैदेशिक रोजगार बचतपत्रमा भने आकर्षण न्यून छ । वैदेशिक रोजगार बचतपत्रमा आकर्षण न्यून हुनुका केही कारण भने छन् ।

सचेतनाको कमी, सहज कारोबार हुने प्रणाली विकास हुन नसक्नु जस्ता कारण वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम भएको डा. भट्टको तर्क छ ।

तर, आईपीओमा भने जहाँबाट पनि कारोबार गर्न सकिने र सहज कारोबार हुने पूर्वाधार विकास हुन नसकेको उनले बताए । ‘बन्ड मार्केटमा अरू औजारको अवस्था पनि त्यस्तै देखिन्छ । ट्रेजरी बिलको दोस्रो बजारमा कारोबार नै हुँदैन । विकास ऋणपत्र सूचिकृत भए पनि कारोबार भएको नतिजा नै थाहा हुँदैन,’ उनले भने, ‘नेपालमा सरकार र कर्पोरेट डेब्ट मार्केट विकास हुन सकेको छैन । न्यून जोखिम भएको यस्तै मार्केट विकास भएर यसमा कारोबार गर्ने र जोखिम विश्लेषण गर्न सक्ने भएपछि स्टक मार्केटमा जानुपर्ने थियो ।’

धेरै मुलुकमा डेब्ट मार्केटले नै बजारको ब्याजदरको बेन्चमार्क तय गर्नेमा नेपालमा सुरु नै हुन नसकेको उनले बताए । जसले वैदेशिक रोजगार बचतपत्र जस्ता सुरक्षित मानिएका लगानी उपकरणमा लगानी आकर्षण कम भएको उनले बताए।

बन्ड मार्केटको प्रतिफलका आधारमा लगानीकर्ताले स्टक मार्केटमा प्रतिफल खोज्ने अवस्था भए मात्रै धितोपत्र बजारमा लगानीको औजार विविधीकरण समेत हुन र लगानीकर्ताले पनि आफ्नो क्षमता अनुसार जोखिम लिने अवस्था हुने उनले बताए ।

सडिीएस एन्ड क्लियरिङ लिमिटेडका सीईओ आचार्य पनि सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार नहुने र धेरैलाई बजार निर्माता मार्फत तत्काल कारोबार गर्न सकिन्छ भन्ने जानकारी नहुँदा लामो समय होल्ड हुन्छ भन्ने लागेर पनि वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम भएको हुन सक्ने बताउँछन् ।

यसमा स्टक मार्केटको जस्तो पूँजीगत लाभ आर्जन नहुने र अंकित मूल्यमा नै कारोबार हुनुजस्ता कारण आकर्षण कम भएको हुन सक्ने उनले बताए ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख मैनाली पनि धितोपत्र बजारसँग नजोडिएको र फरक सिस्टमबाट आवेदन दिनुपर्ने भएकाले सहज पहुँच र जनकारीज अभावमा उक्त अवस्था रहेको बताउँछन् ।

नागरिक बचतपत्रमा समेत आवेदन न्यून भएकाले अब निष्कासन गर्दा नयाँ ढंगले जानुपर्ने विश्लेषण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पनि रहेको उनले बताए ।

नागरिक बचतपत्र कस्तो लगानी उपरकण हो भन्ने सचेतनाको कमी भएको उनले बताए । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आरटीजीएस लिंक गरेर वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र परिपक्व भए पनि र ब्याज समेत आफैं बैंक खातामा जाने गरी सिस्टम विकास गर्ने कार्य भइरहेको उनले बताए ।

Published on: 16 July 2024 | Onlinekhabar

Link

Back to list

;