s

खारेजीमा परेका कम्पनीले पनि विदेश पठाउँदै, कारोबार गर्ने कार्यालयमा सिलबन्दी

Year of Publication: 25 October 2019 | Gorkhapatra

Published by: CESLAM

वैदेशिक रोजगार विभागले खारेजीमा परेर पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विदेश जाने युवासँग राहादानी र पैसा लिएका वैदेशिक रोजगार कम्पनी (म्यानपावर)लाई कारबाही गरेको छ । वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थाबमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको भेटेपछि विभागले कारबाही गरेको हो । यसरी विभागको कारबाहीमा पर्नेमा काठमाडौँको चप्पल कारखानास्थित सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेड रहेको छ । विभागको टोलीले अनुगमनका क्रममा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेपछि उक्त कम्पनीको कार्यालयमा सिलबन्दी गरेको छ ।

विभागले गएको भदौ २९ मा सूचना प्रकाशित गरी दिएको निर्देशनविपरीत सिलिङ्क ओभरसिजले विभागको निर्देशन नमानेपछि काठमाडौँ महानगरपालिका–४, चप्पल कारखानामा रहेको सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेडको इजाजतपत्र स्वतः रद्द भएको थियो तर उक्त कम्पनीले हालसम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भनी निमिका शेर्पासमेत सात जनाले दिएको उजुरीका सम्बन्धमा विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो । अनुगमन टोली आएको थाहा पाएपछि संस्थाका सञ्चालक अनिश सुन्दास सम्पर्कविहीन भएको र संस्थामा भएको विभिन्न व्यक्तिको राहदानी र कागजपत्र सुरक्षित गर्नका लागि कार्यालयमा सिलबन्दी गरिएको विभागले जनाएको छ ।गत भदौ २४ गते बौद्ध प्रहरीले उक्त कम्पनीले सङ्कलन गरेका झन्डै १५० व्यक्तिका राहदानीसहित त्यस कम्पनीका कर्मचारीलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिई विभागमा बुझाएको थियो । त्यस घटनाको अहिले विभागले विस्तृत अनुसन्धान गरिरहेको छ भने फरार सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको जानकारी दिएको छ ।

विभागका अनुसार पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भन्दै सोझासाझा व्यक्तिलाई झुक्याई राहदानी र पैसा बुझेको गुनासोआइरहेको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले त्यस्तो कार्य गर्ने व्यक्ति वा कम्पनीका बारेमा विभागलाई सूचना दिन आग्रह गर्नुभयो ।

Published on: 25 October 2019 | Gorkhapatra

Link

Back to list

;