s

खाडीमा कार्यरत घरेलु कामदारलाई नेपाल फिर्ने बाटो खुल्यो

Year of Publication: 22 August 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

खाडीमा कार्यरत झण्डै एकलाख ३९ हजार घरेलु कामदारलाई स्वदेश फर्किएर पुनः रोजगारीका लागि पहिलेकै रोजगारदाता कहाँ जाने बाटो खुला भएको छ । पहिले नै स्वीकृति पाएका लागि यो सहुलियत प्राप्त हुने भएपनि नयाँ घरेलु कामदारका लागि अझै श्रम स्वीकृति खुलेको छैन ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले स्वदेश फर्किएर रोजगारदाता कहाँ आफू सुरक्षित रहेको भनि निवेदन दिने कामदारको हकमा उनीहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

यसले घरेलु कामदारलाई आफ्नो परिवारसँग मिलन गराउन सहयोग पुग्ने छ। २०७३ चैत २० गते तत्कालिन संसदीय समितिले खाडी तथा मलेसियामा घरेलु कामदार जान पूर्ण रोक लगाएसँगै श्रम मन्त्रालयले विदामा आएर पहिलेकै रोजगारदाता कहाँ काम गर्न जानेलाई समेत श्रम स्वीकृति दिन रोकेको थियो।

समितिका सभापति विमल श्रीवास्तावले नेपाली दूतावासको सिफारीस भएपछि पुनः श्रम स्वीकृति दिन सकिने बताए। ‘स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिवद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली दूतवासको सिफारिस भएमा पुनः स्वीकृतिको व्यवस्था मिलाउने निर्णय भएको छ,’ उनले भने।

बैठकमा सांसदहरुले पुनः श्रम स्वीकृति बन्द हुँदा घरेलु कामदारले आफ्नो परिवार भेट्नबाट वञ्चित हुनुपरेको भन्दै खुलाउनुपर्ने माग गरेका थिए।

पुनः श्रम स्वीकृति रोकिएपछि रोजगार गुम्ने डरले घरेलु कामदारहरु बिदामा नेपाल नै आउन छोडेका थिए।

‘ढिलै भएपनि हामीलाई सहज भएको छ,’ ५ वर्षदेखि घर नफिरेकी ओमनमा कार्यरत नवलपरासीकी पेमा थापाले भनिन्, ‘म छोराछोरीलाई सहज भएपछि नेपाल आउँछु भन्दै यहाँ बसेकी थिएँ। अब बल्ल मेरो घर फिर्ने बाटो खुल्यो, छिट्टै मालिकसँग कुरा गरी बिदामा आउँछु।’ उनी सन् २००८ देखि एउटै मालिकको घरमा कार्यरत छिन्।

खाडीमा मात्रै पुरुष र महिला गरी कम्तीमा एक लाख ३९ हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत छन्। घरेलु कामदारको रुपमा पुरुष कामदार सुरक्षागार्ड, हाउस डाइभर, माली, भान्से, कृषि मजदुर, उँट र बाख्रा गोठालाका रुपमा कार्यरत छन्।

पुरुष र महिला समेत गरी कतारमा ३० हजार, साउदी अरबमा ३० हजार, कुवेतमा ४० हजार, युएईमा १५ हजार, ओमानमा १० हजार, बहराइनमा १० हजार र लेवनानमा ४ हजार घरेलु कामदार रहेका छन्। कतार र साउदीमा सबैभन्दा बढी उँट मैदान, मजरा (खेतीकिसानी), हाउस डाइभरको रुपमा कार्यरत छन्। कुवेत, युएई, ओमान, बहराइन र लेवनानमा झन्डै ९० प्रतिशत महिला छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले छिट्टै व्यवस्थीत रुपमा यो संसदीय समितिको निर्देशनलाई कार्यान्वयन गर्न वैदेशिक रोजगार विभागलाई आदेश दिने बताए।

समितिको निर्देशनले श्रम स्वीकृति दिनको लागि मार्ग प्रशस्त गरेको मन्त्री बिष्टले बताए। ‘श्रम सम्झौता भएपछि मात्रै नयाँ कामदार पठाउन सकिनेछ। पहिले नै श्रमस्वीकृति लिएर गएका घरेलु कामदार पुनः सोही रोजगारदाताको घरमा जान चाहानेलाई अनुमति दिने हो,’ मन्त्री विष्टले भने।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव डिवी क्षेत्रीले संसदीय समितिको निर्देशन स्वागत योग्य भएको बताए। ‘खाडीमा कार्यरत कामदारको आधिकार सम्बोधन भएको छ,’ उनले भने।

Published on: 22 August 2019 | Kantipur

Back to list

;