s

खाडीबाट फर्कंदा ट्रान्जिट नेपाल

Year of Publication: 3 November 2019 | Kantipur

Published by: CESLAM

रोजगारीका लागि खाडी मुलुक जाने भारतीय नागरिक घर फर्कंदा नेपाललाई ट्रान्जिट बनाउन थालेका छन् । वीरगन्जस्थित अध्यागमन कार्यालयको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म खाडी मुलुकबाट काठमाडौं हुँदै वीरगन्ज नाका भएर ४३ भारतीय नागरिक स्वदेश फर्केका हुन् । कार्यालयका शाखा अधिकृत ध्रुव अधिकारीले वैशाख मध्यदेखि यो क्रम बढेको बताए । ‘वैशाख मध्यदेखि दुबई, कतारबाट फर्कने भारतीय मजदुरहरू काठमाडौं झर्ने र स्थल मार्ग भएर स्वदेश फर्कने क्रम बढेको छ,’ उनले भने, ‘वीरगन्ज मात्र नभई भैरहवा, नेपालगन्जलगायत नाकाबाट यसरी भारतीय मजदुर फर्कने क्रम बढेको हुनुपर्छ ।’

यसरी नेपाल भएर भारत फर्कने मजदुरहरूले त्यहाँको तुलनामा नेपालको वायुसेवाको टिकट अत्यन्त सस्तो पर्ने भएकाले ट्रान्जिट बनाएको बताउने गरेको अधिकारीले जानकारी दिए । ‘खाडी मुलुकबाट सोझै भारत फर्कंदा प्रतिव्यक्ति हवाई टिकट भाडा ४० हजार रुपैयाँ पर्छ, नेपाल भएर फर्कंदा प्रतिव्यक्ति भाडा १६ हजार रुपैयाँ मात्र लाग्छ,’ उनले भने, ‘यसरी फर्कने भारतीय मजदुरहरू बिहार र उत्तरप्रदेश राज्यका मात्र नभएर दक्षिण भारतको केरला राज्यसम्मका हुने गरेका छन् ।’ सीमावर्ती भारतीय सहर रक्सौलबाट दिल्ली, मुम्बई, कोलकाता तथा अन्य सहरसम्मको रेल्वे सुविधा भएकाले भारतीयलाई नेपाल ट्रान्जिट बनाउँदा स्वदेश फर्कन सहज पनि छ । यसरी खाडी मुलुकबाट फर्कने भारतीय मजदुरहरू आफूहरू त्यहाँ कम्पनी बन्द भएपछि फर्किएको र कतिपयले कम्पनीले जबर्जस्ती टिकट काटेर पठाइदिएको बताउने गरेको अधिकारीले बताए । वीरगन्ज नाका भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आगमनभन्दा बहिर्गमनका लागि बढी प्रयोग हुने गरेको छ ।

Published on: 3 November 2019 | Kantipur

Link

Back to list

;