s

काठमाडौंमा वैदेशिक रोजगारीका नाममा ठग्ने विदेशी गिरोह सक्रिय

Year of Publication: 5 February 2021 | Onlinekhabar

Published by: CESLAM

रवीन्द्र घिमिरे

 

२२ माघ, काठमाडौं । रुकुमका दानबहादुर ठकुरीले क्यानडा जान पाइने आशामा दुई हप्ताअघि टोखास्थित ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालिमा ८ हजार रुपैयाँ बुझाए ।

‘अफर लेटर आएको जानकारी फोनमा पाउनुहुन्छ’, रसिद दिँदै एक महिलाले हिन्दीमा उनलाई भनेकी थिइन्, ‘त्यसपछि एक लाख दिइहाल्नुपर्छ, पैसा जम्मा गर्दै गर्नुहोला ।’

तर, कम्पनीबाट फोन नआउँदै सोमबार ‘ओम गणपतिमा छापा मार्दा ठगीमा संलग्नहरु पक्राउ’ परेको समाचार आयो । ‘सजिलै भिसा लाग्छ भनेका थिए’, ठकुरी भन्छन्, ‘धन्न, धेरै ठगिनबाट जोगिएछु ।’ 

सोमबार वैदेशिक रोजगार विभागले छापा मार्दा टोखाको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिभित्र ‘ओम गणपति ह्याप्पी लाइफ’ पनि भेटिएको थियो । त्यहाँ भेटिएका चारजना भारतीय नागरिक ‘नेपालीलाई क्यानडा पठाउने’ धन्दा चलाएको खुलेको छ । उनीहरुले ठगी धन्दा चलाउन अवैध कम्पनी खडा गरेका थिए । 

क्यानडा, अमेरिकी र विभिन्न युरोपेली देशमा पठाउने भन्दै भारतीय गिरोह सक्रिय रहेको यो अपरेसनपछि खुलेको छ । काठमाडौंमा सक्रिय यस्तो गिरोहले सुरुमा ५ हजार भारु मात्र बैना गराएर विभिन्न कागजात आयो भन्दै थप प्रक्रियाका लागि क्रमैसँग प्रतिव्यक्ति ४ लाख रुपैयाँसम्म असुलेको कागजात विभागले फेला परेको छ । 

उनीहरुले सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरेर रकम असुलिरहेको पाइएको छ । क्यानडा पुगिने प्रलोभनमा सजिलै नफस्ने श्रमिकहरुलाई भने ट्रिपल स्टार म्यानपावरले ‘कन्भिन्स’ गराउने गरेको पाइएको छ । पक्राउ परेकाहरुले आफू कर्मचारी भएको र ‘बोस’ भारतमै रहेको बताएका छन् । 

विभागका महानिर्देशक कुमार दाहाल कम्पनी दर्ता नगरी भारतबाटै नेपाल आएर वैदेशिक रोजगारीका नाममा ठग्ने गिरोह पहिलोपटक फेला परेको बताउँछन् । ‘ट्रिपल स्टारसँग सम्झौता गरेर भारतीयहरु ठगीमा संलग्न भएको पाएका छौं,’ उनले भने । 

पछिल्ला दिनमा न्युजिल्यान्ड र अस्ट्रेलिया पठाउने भन्दै ठगी बढेको गुनासो आएपछि त्यसबारे अनुसन्धान थालेको दाहालले बताए । उनले भने, ‘श्रमिक स्वयं सचेत भएनन् भने यस्ता ठगीको घटना बढ्छ ।’ 

नक्कली भिसा र कागजात देखाएर भारत पुर्‍याएपछि होटलमा राखेर थप ठगी गर्ने नियत हुनसक्ने महानिर्देशक दाहाल बताउँछन् । धेरै जनाबाट दुई–चारलाख उठाएर फर्किने मनासायले पनि यस्तो गिरोह नेपाल आएको हुनसक्ने उनको अनुमान छ । 

यी चार भारतीयमाथि अनुसन्धानका लागि वैदेशिक रोजगार न्यायधिकरणमा पेश गरिएको छ । उनीहरुले हिन्दी र अंग्रेजी नबोलेपछि भारतीय दूतावासबाट अनुवादक बोलाएर बयान लिन लागिएको जानकारी महानिर्देशक दाहालले दिए ।

नेपालीसँग मिलेरै ठगी

पछिल्ला दिनमा नेपालीसँगै मिलेर विदेश पठाउने नाममा ठगी गर्ने भारतीयहरुको संख्या बढ्दो दरमा देखिएको छ । क्यानडा रोजगारीमा पठाइदिने भन्दै पाल्पाका खिन्तबीर सारुलाई १४ लाख रुपैयाँ ठगेर फरार भएका अर्घाखाँची, तिलगंगाकी रेनुका सारु र कलकत्ता, बर्दमानका शेख सम्सुर आलोन गत मंसिर २४ गते काठमाडौंको सुन्धाराबाट पक्राउ परेका थिए । उनीहरुले अन्य तीन जनाबाट पनि करिब ४८ लाख रुपैयाँ उठाएको पक्राउ परेपछि खुलेको थियो ।

त्यस्तै, भारतीय ठग गिरोहसँग जोडिएका मोदी गाउँपालिकाका, पर्वतका धिरजकुमार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १५ गते पक्राउ गरेको थियो । उनले क्यानडा र अमेरिका लैजाने भन्दै विभिन्न जिल्लाका युवकबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको कास्कीका प्रहरीका डीएसपी सुवास हमालले बताए ।

‘उनले करिब तीन दर्जन व्यक्तिबाट एक करोड रुपैयाँ ठगी गरेको पाइयो’, डीएसपी हमाल भन्छन्, ‘ठगेको रकमको केही हिस्सा हुन्डीबाट भारत पठाएको पनि खुलेको छ ।’

खाडी देशका अधिकारीलाई अवैध निम्तो

नेपाली श्रमिक ठग्न भारतीय मात्र हैन, खाडी मुलुकका सरकारी अधिकारीहरु नै आउने गरेको गत ९ मंसिरमा काठमाडौं होप इन्टरनेसनल म्यानपावर कम्पनीमा भएको अवैध अन्तर्वार्ताले देखाएको थियो ।

वैदेशिक रोजगार विभागले छापा मार्दा कतारी दूतावासको ४५–सीडी–००९ नम्बरको गाडी र चारजना कतारी अधिकारी होप इन्टरनेसनल परिसरमै भेटिएका थिए । ती कतारी अधिकारी र दुतावासको गाडीलाई पराराष्ट्र मन्त्रालयले उम्काएको थियो ।

परराष्ट्रले अवैध गतिविधिमा संलग्नताबारे कतारी दूतावासलाई स्पष्टीकरण पनि सोधेन । दूतावासले भने प्रेस विज्ञप्ति जारी गरेर केही कतारी पाहुना पुर्‍याउन आफ्नो गाडी होप इन्टरनेसनल पुगेको बताएको थियो ।

कतार प्रहरीका लागि भन्दै लिइएको सो अन्तर्वार्ताबाट छानिएकाहरुबाट प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म उठाउन खोजेको  खुलेको थियो । त्यसपछि विभागले त्यस्ता अवैध धन्दामा संलग्न होप इन्टरनेसनल, डीडी ह्युमन रिसोर्स म्यानपावर र एसओएसको लाइसेन्स ३ महिना निलम्बनको निर्णय गरेको थियो । तर, श्रममन्त्री गौरीशंकर चौधरीले विभागको निर्णयलाई माघ ८ गते उल्ट्याइदिएका थिए ।

विभाग निरीह 

विदेशीहरु नेपालमै आएर खुल्लमखुल्ला श्रमिक ठगिरहँदा विभाग निरीह बन्ने अवस्था आएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । विभागले गरेको कारवाहीलाई मन्त्रीले उल्ट्याउन थाल्दा ठगहरुको मनोबल बढेको उनीहरु बताउँछन् ।

‘थुप्रै नेपाली युवा लाखौं बुझाएर भारतको बाटो हुँदै कतार पुलिसमा भर्ना भए,’ एक अधिकारी भन्छन्, ‘विदेशीले कुनैपनि द्विपक्षीय सम्झौताविनै नेपाली युवाको छाती नाप्दा हामी टुलुटुलु हेरेर बस्ने अवस्थामा पुगेका छौं ।’

विदेश पठाउने नाममा विदेशी गिरोहहरुलाई नेपालमा सक्रिय हुन नदिने कदम चाल्दा म्यानपावर व्यवसायीसमेत विभागविरुद्ध आन्दोलनमा उत्रिएको ती अधिकारी बताउँछन् । उनका अनुसार, कोरोना महामारीपछि धेरै म्यानपावर व्यवसायीहरु ठगी गर्ने विदेशी गिरोहसँग मिलेको उनले बताए ।

‘भारतीय र नेपाली दलालहरुको कुम जोडिन थालेको देखिन्छ,’ उनी भन्छन्, ‘विभागलाई पनि त्यसमा मिल्न दबाव दिन खोजिएको हो कि भन्ने महसुस हामीलाई भएको छ ।’

विभागले ठगीमा परेका नागरिकलाई प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको छ । परेका उजुरीमा छानबिन गरेर केही म्यानपावर कम्पनी र दलाललाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति भराएको पनि छ ।

Published on: 5 February 2021 | Onlinekhabar

Link

Back to list

;