s

कसरी जान्छन् डिपेन्डेन्ट ?

Year of Publication: 2 April 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

गणेश राई

कँगारुको देश अस्ट्रेलियामा यतिखेर करिब ४० हजार नेपाली  छन् । तीमध्ये १० हजारजति विद्यार्थी पर्दछन् । विद्यार्थीमध्ये ३० प्रतिशत 'डिपेन्डेन्ट भिसा' मा रहेको अनुमान छ । 'डेपेन्डेन्ट भिसा' अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो- 'डेपेन्डेन्ट भिसा' । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी  गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अस्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । 'परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्,' नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का उपाध्यक्ष तथा अस्ट्रेलियाबारे जानकार प्रकाश पाण्डे भन्छन्, 'यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।'

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ । अस्ट्रेलिया जानकै निम्ति विवाह गर्ने या नक्कली विवाह गर्नेहरू पनि देखिएपछि विकृति रोक्न यी प्रक्रिया अपनाएको इक्यानका अध्यक्ष राजेन्द्र बराल बताउँछन् । सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् । यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् । श्रम कानुनअनुसार प्रत्येक कामदारले अस्ट्रेलियन १६ डलर पारिश्रमिक पाउँछन् । कामको प्रकृतिअनुसार त्योभन्दा बढी पनि आर्जन गर्न सक्छन् ।

अध्ययन भिसा नेपालबाट अस्ट्रेलियाको कलेज र युनिभर्सिटीमा भर्ना हुने प्रक्रिया हो । प्लस टु, स्नातक या मास्टर्स सकेको छ र थप अध्ययन गर्न जान चाहन्छ । भाषाको परीक्षा चार किसिमको मध्ये कुनै एक दिनुपर्छ । आईएलटीएस (इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम) पढेकै हुनुपर्छ । पढेको तहको सर्टिफिकेट, भाषाको रिजल्ट, अनुभव भएमा त्यसको सर्टिफिकेटसहित कलेज युनिभर्सिर्टीको आवेदन फाराम भरिन्छ । भाषा टेस्टको नियम भने कलेज युनिर्सिटी र कोर्सपिच्छे स्कोर (प्राप्तांक) फरक फरक हुन सक्छ । यी सबै कागजातसहित आवेदन दिएपछि कलेज युनिभर्सिटीले या त स्वीकार गर्छ र अफर लेटर (अफर अफ अ प्लेस)

पठाउँछ । विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार (स्कोप) कस्तो छ भन्नेबारे जानकारी लिनैपर्छ । आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रस्ट हुन जरुरी छ । त्यसनिम्ति परामर्श दातृ निकाय वा अनलाइनबाट जानकारी लिन सकिन्छ ।

अफर लेटर प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकले आर्थिक रूपमा अस्ट्रेलियामा विद्यार्थीले जान, आउन, पढ्न, खाना, बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्न सक्ने गरी नेपालको दुईमध्ये कुनै एक बैंक -एसबीआई र नबिल बैंक) मा तीन महिनाअघिदेखि रकम जम्मा रहेको प्रमाण वा रकम नभएको खण्डमा तिनै दुई बैंकबाट शैक्षिक कर्जा लिएको प्रमाण पेस गर्नुपर्छ ।

 

जेटीई र एसभीपी

५ नोभेम्बर २०११ पछि अस्ट्रेलियन सरकारले विदेशी विद्यार्थीले कलेज तथा युनिभर्सिटीलाई भिसा आवेदन गर्दा नै पैसा तिरेको प्रमाण पनि साथमा संलग्न राख्नुपर्ने नियम ल्याएको छ । जसलाई जीटीई

(जेनुइन टेम्पोररी इन्ट्रान्ट) भनिन्छ । यसो गर्दा विद्यार्थीले आफैंसँग खातामा पैसा भएमा आफैंले अथवा शैक्षिक कर्जा लिएको भए कर्जाबाट कजेल युनिभर्सिटीलाई पैसा तिर्नुपर्ने हुन्छ । कर्जा लिएको अवस्थामा बैंकद्वारा पैसा निकासा गरेको पत्र पनि लिएर भिसा आवेदनमा संलग्न गर्नुपर्ने हुन्छ । कलेज युनिभर्सिटीले पैसा प्राप्त गरेपछि सीओई -कन्फर्मेसन अफ इन्रोलमेन्ट) जारी गर्छ । सीओईमा विद्यार्थीको कोर्सको सुरुआत र अन्त्य हुने तालिका मितिसहित, कोर्सलाई लाग्ने शुल्क र तिरिसकेको रकम, भाषा परीक्षामा प्राप्तांक र विद्यार्थी वा विद्यार्थीसहित विद्यार्थीको परिवारको मेडिकल इन्सुरेन्स अर्थात ओएसएचसी -ओभरसिज स्टुडेन्ड हेल्थ कभर) कहिलेदेखि कहिलेसम्म भएको छ सोको पनि उल्लेख रहन्छ । हाल विदेशी विद्यार्थीले आफू र आफ्नो परिवारको सम्पूर्ण भिसा अवधिको लागि मेडिकल इन्सुरेन्स गरेको हुनुपर्ने नियम छ ।

भिसा आवेदन गर्दा विद्यार्थीले भिसाको आवेदन फाराम, भिसा शुल्क, सीओई, शैक्षिक प्रमाणपत्र, अंग्रेजी टेस्टको प्रमाणपत्र, अनुभवप्राप्त भए त्यसको प्रमाण, नाता प्रमाणित कागजात, आम्दानीको स्रोत, बैंक ब्यालेन्स वा शैक्षिक कर्जा, सम्पत्ति विवरण, पासपोर्ट, फोटो, विवाहित भए विवाह दर्ताको प्रमाणपत्र, बच्चा भए जन्मदर्ताको प्रमाणपत्रसहित आवेदन गर्नुपर्ने हुन्छ । भिसा दिने निकायबाट आवेदनको केही समयपछि स्वास्थ्य परीक्षणको निम्ति फाराम पठाएपछि भिसा दिने निकायले तोकेका डाक्टरबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ ।

यसपछि विद्यार्थीको सम्पूर्ण कागजात जाँचपछि आवश्यक ठानेमा विद्यार्थी र अभिभावक वा कागजपत्र बनेका निकायहरूमा भिसा दिने निकायले सोधपुछ गर्छ । त्यसपछि विद्यार्थीको भिसा आवेदनमा निर्णय दिन्छन् ।

अस्ट्रेलिया सरकारले सन् २०१२ मार्च २४ देखि एसभीपी -स्टि्रमलाइन भिसा प्रोसेस) लागू गरेको छ । यसले गर्दा त्यहाँ पढ्न जाने विद्यार्थी कडाइसाथ छनोट गर्ने गरिएको छ । विकसित मुलुकका विद्यार्थी र नेपाललगायतका विकासोन्मुख मुलुकको विद्यार्थीलाई एउटै प|mेममा राखेर छनोट गर्ने काइदा हो । आईईएलटीएसमा दक्षता नभएकाले एसभीपी प्रक्रिया छिर्न पाउँदैनन् । 'त्यति हुँदा पनि नेपालका विद्यार्थीले सम्भ्रान्त मुलुकसरह नै एसेस्मेन्टमा हैसियत, नियम पूरा गरेका छन्,' इक्यानका सचिव सन्तोष प्याकुरेल भन्छन् ।

Published on: 2 April 2013 | Kantipur

Back to list

;