s

कामदारलाई घर फर्कन समयसीमा

Year of Publication: 30 December 2019 | Gorkhapatra

Published by: CESLAM

मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रविहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएको अगस्ट १ तारिखदेखि यही डिसेम्बर ३१ सम्मको समय दिएको छ ।

मलेसियाले गएको अगस्टदेखि गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिन ‘ब्याक फर गुड प्रोग्राम’ कार्यक्रम नै सञ्चालन गरेको छ । यो अवसरको सदुपयोग गरेर फर्किनका लागि श्रमिकले आफ्नो देशको दूतावासमा गएर यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्छ ।

त्यसरी पुग्ने श्रमिकलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण सङ्कलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास उपलब्ध गराउँछन् । पास पाउने श्रमिक आफैँले एक साताभित्र हवाई टिकटको व्यवस्था मिलाई स्वदेश फर्कनुपर्छ । मलेसियाली गृह मन्त्रालयले ब्याक फर गुड कार्यक्रमको म्याद सकिएपछि गैरकानुनी हैसियतमा बसिरहेका श्रमिकका लागि देशव्यापी कारबाही अभियान सञ्चालन गर्ने भएकाले मलेसियामा अवैधानिक भएर रहेका श्रमिकलाई तोकिएको समयमा घर फर्किन दूतावासले आग्रह गरेको छ ।

यसअघि मलेसिया सरकारले सञ्चालन गरेको थ्री प्लस वान भोलुन्टर्ली प्रोग्राम नामक आममाफी कार्यक्रममा भने न्यूनतम चार सय रिङ्गिट जरिवाना तोकिएको थियो तर गैरकानुनी रूपमा मलेसियामा रहेको अवधिका आधारमा जरिवाना रकम तोकिएका कारण कतिपयले तीन हजार १०० रिङ्गिटसम्म तिरेका थिए । यो कार्यक्रमको फाइदा उठाउँदै धेरै नेपाली स्वदेश फर्किसकेका छन् । यसपटक भने ७०० रिङ्गिट तिर्नुपर्ने मलेसियाको अध्यागमनले जनाएको छ ।

Published on: 30 December 2019 | Gorkhapatra

Link

Back to list

;