s

कमाउन परदेश पुगेको छोराले ‘मर्दै’ गरेको खबर गरेपछि !

Year of Publication: 27 February 2023 | Naya Patrika

Published by: CESLAM

टोपलाल अर्याल

गुल्मीको रेसुंगा नगरपालिका–७ को सुकुमबासी टोलमा बस्दै आएकी माया विश्वकर्मा भन्छिन्, 'रुँदा–रुँदै आँसु पनि सकिए। भिडियो कलमा रुने आमा–छोराको दैनिकी बनेको छ।'

आशिषले आमा र श्रीमती आरतीलाई आफू धेरै दिन नबाँच्ने बताउँदै आएपछि विपन्न परिवार शोकमा डुबेको छ। आशिषले गत कात्तिकतिर आमालाई पैसा पठाउँछु भनेका थिए। तर, बीचमा लामो समय सम्पर्कविहीन भए।

‘ऋण तिर्न पैसा पठाउँछु भनेको छोरा लामो समय सम्पर्कविहीन बन्यो। बिरामीले गलेपछि अहिले बल्ल भिडियो कल गर्‍यो,’ आमाले रुँदै भनिन्, ‘म अब मर्छु, तिम्रो र छोराको ख्याल गरे भन्छ।’

आशिष सामान्य बिरामी परेको पाँच महिना भए। तर, दुई महिनायता अकस्मात पेट फुल्न थाल्यो। अहिले पेटको दुःखाइले दैनिक ज्यान गल्दै गएको छ।

आशिषले आइतबार नयाँ पत्रिकाकर्मीसँगको भिडियो कलमा पनि आफू दुई–चार दिनबाहेक नबाँच्ने बताए। ‘म दुबई बोर्डरनजिक समुन्द्र किनारमा छु। गाडी पनि छैनन्, बिमारले गलेर हिँड्ने उपाय छैन,’ उनले भने, ‘नेपाल फर्किने र बाँच्ने आशा नै मरिसक्यो।’

माया विश्वकर्माले छोरा आशिषलाई साउदी पठाउँदा काढेको ऋण अझै ज्युँकात्युँ छ। बिपन्नताले वर्षौँ र पुस्तौँ छोडेन। मायालाई छोरा हुर्किएपछि खोला किनारको सुकुमबासी बस्ती छोड्न सकिएला कि भन्ने लाग्थ्यो।

त्यसैले खोला खोल्सा र सडक किनारमा गिटी ढुंगा गरेर दुई छोरा र एक छोरी हुर्काइन्। घरमा आमाछोराको पाखुरा नचले चुलोमा आगो बल्दैनथ्यो। जसका कारण परिवारको खुसी र सपना बोकेर आशिष परदेश पस्ने मनस्थितिमा पुगे।

मायासँग कर्जा लिन सम्पति थिएन। उनलाई छोरा विदेश उडाउने पैसा खोज्न निकै पापड पेल्नुपर्‍यो। उनले बल्लतल्ल करिब दुई लाख ऋण खोजिन्। एक लाख ६० एजेन्टले लगे। अरू काठमाडौं आउजाउमै सकियो। छोरा कात्तिक ०७८ मा साउदी अरब उडे।

आमाका अनुसार आशिष दाङका एजेन्टमार्फत साउदी गएका हुन्। सुरुमा म्यानपावरले भनेकै कम्पनीमा काम गरे। तर, कबोलअनुसारको पैसा पाएनन्। आशिषले साथीहरूको लहडमा कम्पनी छोडे।

सप्लायर्समा मासिक एक लाख पाइने लोभमा नयाँ एजेन्टमार्फत सहरबाट निकै टाढा पुगे। लगभग पाँच महिना परिवारको सम्पर्कमा आएनन्। नयाँ काममा लागेपछि गत असोजमा ५५ हजार रुपैयाँ पनि घर पठाए। तर, 'जहाँ होचो त्यहाँ घोचो’ भनेजस्तै बिरामी पर्न थाले। उनी काम गर्न जान सक्दैनन्। उपाचार गर्ने उपाय नै छैन।

बिमारले खान मन छैन। खान खोजे पनि उपाय भएन। दैनिक आमा र श्रीमतीलाई कल गरेर उद्धार गर्न भन्छन्। सरकार सत्ताको मस्तीमा छ। तर, विपन्न परिवार आँसुको आहालमा डुबेको छ। आमा र श्रीमतीसँग आशिषलाई घर फर्काउन न पहुँच छ न पैसा। ‘भिडियो हेरेर रुनेबाहेक केही उपाय छैन। सानो छोरासित मेरो पनि बिजोक छ,’ श्रीमती आरतीले भनिन्, ‘मिडिया र सरकारले केही गर्दिनुपर्‍यो।’

आशिषका बाले परिवारको हेरचाह गर्दैनन्। जसका कारण आमाकै भरमा छोराछोरी छन्। आशिष ११ वर्षमा भारत पसेर बेपत्ता भएका थिए। १७ वर्षमा नेपाल आएपछि ठूलो दुर्घटनामा परे। आमाले ऋणधन गरेर बल्लतल्ल उनलाई बचाइन्।

अहिले फेरि परदेशमा छोरा बिरामी परेर अलपत्र परेपछि याे विपन्न परिवार बिचल्लीमा परेको अधिवक्ता विनोद पाण्डेयले बताए। ‘नेता सरकार र सत्ता दौडमा छन्। विपन्न परिवार भिडियोमार्फत छोराको बिमार र मृत्यु पर्खन बाध्य छन्, 'उनले भने, ‘सबै हिसाबले सहयोग आवश्यक भएकाले मिडिया गुहार गरेको हुँ।’

Published on: 27 February 2023 | Naya Patrika

Link

Back to list

;