s

कलाकारिताको आवरणमा मानव तस्करी

Year of Publication: 2 August 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

रेखा थापाको फिल्म ‘हिम्मतवाली’ मा प्रमुख भूमिकामा अभिनय गरेपछि सुदर्शनको हिमचिम फिल्म क्षेत्रमा बढेको थियो । हैटीमा बनाउने भनिएको ‘संस्कार’ नामक फिल्म हैटी फिल्मस्ले नेपालको केपी फिल्मस्सँग संयुक्त रूपमा बनाउन लागेको कागज तयार पारिएको देखिन्छ । तर, यो सहकार्य पनि झूटो देखिन्छ ।

जनक सापकोटा

म्याग्दी मिस्कोटका लेकबहादुर पुन आफ्नो गाउँका गन्यमान्य व्यक्ति हुन् । मिस्कोट माध्यमिक विद्यालयमा २२ वर्ष शिक्षण गरेर दुई वर्षअघि मात्रै प्रधानाध्यापकबाट अवकाश पाएका उनी गाउँलेका आदरणीय सर थिए ।

यिनै लेकबहादुर असारको अन्तिम साता पक्राउ परे । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई किन पक्राउ गर्‍यो त ? कान्तिपुरले यसको अन्तर्य खोतल्ने प्रयास गर्‍यो ।
 
घटना सात महिनाअघिको हो । भारतको नयाँदिल्लीबाट तीन नेपाली महिला रुसको राजधानी मस्को, कोलम्बियाको राजधानी बोगटा हुँदै टापु राष्ट्र डोमिनिका र त्यहाँबाट हैटीको राजधानी पोर्ट–ओ–प्रिन्स पुग्छन् । हैटीमा छायांकन गरिने ‘संस्कार’ नामक नेपाली भाषाको फिल्ममा अभिनय गर्ने भन्दै बनाइएको कागजातको भरमा उनीहरू त्यहाँ पुगेका थिए ।
 
२३ जनवरी २०१७ मा हैटी फिल्मस्ले सुमित्रा कुँवरसहित दुई महिलालाई फिल्ममा अभिनय गर्नका लागि आमन्त्रण गरेको थियो । उक्त पत्रमा निर्देशक र प्रोडक्सन म्यानेजरको हैसियतमा चाल्र्स इलेस्टोले हस्ताक्षर गरेका छन् । उक्त पत्रमा पाँच जना नेपाली कलाकार छायांकनका निम्ति हैटी बोलाइएको उल्लेख छ । सुमित्रा प्रोडक्सन असिस्टेन्ट म्यानेजर र अन्य कलाकारको हैसियतमा हैटी जान खोजेको पत्रमा देखिन्छ ।
 
खासमा यिनलाई फिल्म खेल्न बोलाइएको थिएन । फिल्मका नाममा हैटी पुर्‍याएर त्यहाँबाट क्यारेबियन सी हुँदै अवैध रूपमा अमेरिका पुर्‍याउने योजना थियो । मानव तस्करहरूले पानीजहाजमा हालेर अमेरिका लान खोज्दा भएको एउटा घटनाले मानव तस्करीको अन्तरदेशीय धन्दा बाहिर आएको थियो ।
 
अमेरिका हिँडेको पानीजहाज समुद्रमा दिशाहीन भएर हरायो । जहाजमा भएको पानी र खानेकुरा सकियो । जसका कारण सुमित्राको मृत्यु भयो । मानव तस्करका एजेन्टले शव गन्हाउने र तस्करीको घटना बाहिर आउने भन्दै सुमित्रालाई समुद्रमै मिल्काइदिए । जहाजलाई टापु राष्ट्र बहमासका जल सेनाले उद्धार गरेपछि सुमित्रासँगै हिँडेका दुई नेपाली युवतीको उद्धार भयो । अमेरिकास्थित नेपाली दूतावासले उनीहरूलाई क्युबा हुँदै नेपाल पठायो ।
 
अमेरिका छिर्ने सपनामा ६० लाख रुपैयाँ गुमाएका र नौ महिना लामो अप्ठ्यारो यात्रा छिचोलेर नेपाल फर्केका युवतीहरूको कथा कान्तिपुरमा प्रकाशित भएपछि महानगरीय अपराध महाशाखाले अवैध रूपमा अमेरिका लैजाने मानव तस्कर गिरोहको खोजी सुरु गर्‍यो ।
 
म्याग्दी मिस्कोटका लेकबहादुर पक्राउको अन्तरकथा यही सात महिना पुरानो घटनासँग जोडिएको छ । जुन बेला सुमित्रासँगै गएका दुई युवती डोमानिकामा थिए, त्यसैबेला त्यहींबाट लेकको बैंक खातामा ११ लाख रुपैयाँ आयो । त्यो पैसा मानव तस्करले अमेरिका पुर्‍याउन खोजेका तिनै दुई युवतीले पठाएको थाहा पाएपछि लेक पक्राउ परेका थिए । अपरिचित लेकको खातामा ती युवतीले किन त्यति धेरै रकम जम्मा गरिदिइन् ? यही प्रश्नको उत्तरमा भेटिन्छ, मानव तस्करीको जालोको कथा ।
 
सुदर्शन गौतम । नेपाली चलचित्र क्षेत्रमा काम गर्नेहरूका लागि नौलो नाम होइन । दोलखा मूल घर भई काठमाडौं बस्ने सुदर्शनले १४ वर्षको उमेरमा चंगा उडाउने क्रममा हाइटेन्सन बिजुलीमा चंगाको धागो अड्किएर भएको दुर्घटनामा दुवै हात गुमाए ।
 
सन् २००६ मा क्यानडा उडेका सुदर्शन दुवै हात नभए पनि आत्मविश्वासका पर्याय थिए । चलाख र आत्मविश्वासी सुदर्शन २०५८ मा खुट्टाको सहाराले गाडी चलाएपछि चर्चामा आए । २४ अगस्ट २००५ मा याला पिक र २०१३ मे २० मा सगरमाथा आरोहण गरेपछि उनको चर्चा झनै चुलियो । २०७१ मा चल्तापुर्जा अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘हिम्मतवाली’ मा अभिनय गरेपछि उनी थप चर्चामा आए ।
 
यो फिल्मको चर्चापछि सुदर्शनले ‘हिम्मतवाला अ ब्रेभ म्यान’ नामक फिल्म बनाउने घोषणा गरे । २०७३ जेठको अन्तिम साता क्यानडाको मिसिसाउगास्थित पार्क इन र्‍याडिसन होटलमा आयोजित सुपर कमेडी मेगा नाइट नामक कार्यक्रममा सुदर्शनले घोषणा गरेको फिल्मको पोस्टर सार्वजनिक गरे । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालकी अनुराधा कोइरालाले कार्यक्रममा पोस्टर सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालगायत सहभागी थिए । कार्यक्रममा सुदर्शनले फिल्मको छायांकन अमेरिका र क्यानडामा गरिने घोषणा गरेका थिए ।
 
लेकबहादुरको यिनै सुदर्शनसँग चिनाजानी भयो, भाइबारबाट । प्रधानाध्यापकबाट अवकाश पाएपछि फुर्सदमा रहेका लेकलाई अमेरिका पुगेका आफ्ना पूर्वविद्यार्थी तुल सुनुवारले सुदर्शनसँग चिनजान गराइदिएका थिए । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका लेकले कुराकानीमा भने, ‘तुलले सर तपाईंकी छोरीलाई अमेरिका पठाइदिन्छु भनेपछि मैले विश्वास गरें । त्यही नै मेरो गल्ती भयो ।’
 
२०७० मा अमेरिका पुगेका तुलबहादुरले आफू सुदर्शनको रेस्टुरेन्टमा काम गर्ने र सुदर्शनकै पहुँचमा छोरीलाई अमेरिका पठाउन सकिने भनेपछि लेकले प्रक्रिया अगाडि बढाए । भर्खर १२ कक्षा पास गरेकी छोरी अमेरिका जाने कागजी प्रक्रियामा लागिन् । लेकले साढे तीन लाख रुपैयाँ तुलमार्फत सुदर्शनलाई दिए । यसबीच लेकको सुदर्शनसँग सम्पर्क बाक्लियो । सुदर्शनकै विश्वासमा उनले आफ्नो गाउँका बेरोजगार तन्नेरीहरूलाई पनि अमेरिका पठाउने तयारी थाले ।
 
लेकका अनुसार पहिलो चरणमा उनले २२ जनासँग एक/एक लाख उठाएर सुदर्शनलाई पठाए । अमेरिकामा फिल्म सुटिङ गर्ने र त्यसैमा अभिनय गर्ने कलाकार बनाएर लैजाने आश्वासन दिएर सुदर्शनले पैसा उठाउन लगाएका थिए । महिनौंसम्म अमेरिका जाने चाँजो नमिलाएपछि लेकले पैसा फिर्ताका लागि बारम्बार फोन गरे ।
 
महिनौंको ताकेतापछि सुदर्शनले पैसा फिर्ता गरे । यसले सुदर्शनप्रति लेकको विश्वास झन् बढ्यो । सुदर्शनले फेरि भने, ‘अमेरिका नभए पनि क्यानडा पठाइदिन्छु मान्छे तयार पार्नुस् ।’ त्यसपछि लेकले तिनै २२ जनाबाट कुल ६४ लाख उठाएर सुदर्शनलाई पठाए । तर, सुदर्शनले उडाउन सकेनन् । लेकले पैसा फिर्ताका लागि फेरि ताकेता गर्न थाले ।
 
यहींनेर डोमानिका पुगेका दुई युवती जोडिन आइपुगे । डोमानिका पुगेर अमेरिका जाने प्रतीक्षामा रहेका युवतीलाई सुदर्शनले पैसा नपुग्ने भन्दै थप ११ लाख रुपैयाँ मागेका थिए । लेकले निरन्तर ताकेता गरेपछि उनले ती युवतीहरूलाई ११ लाख रुपैयाँ लेकको खातामा हाल्न लगाइदिए । लेकको खातामा पैसा । आखिरीमा त्यही पैसाले उनलाई पक्राउ गरायो । कान्तिपुरसँगको कुराकानीमा लेकले भने, ‘६४ लाखमध्ये ५१ लाख फिर्ता भयो । अरू बाँकी नै थियो ।’
 
फिल्म सुटिङका लागि अमेरिका र क्यानडा जाने भन्दै तीनदेखि चार लाख रुपैयाँसम्म फसाएका म्याग्दी र पोखराका कैयौं पीडितसँग कान्तिपुरले छद्म नाममा कुरा गर्दा अरू पात्र भेटिए । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत महेश कँडेल यही क्रममा भेटिएका थिए । अमेरिका जानैका लागि उनले तीन लाख पचास हजार फसाए ।
 
अमेरिका जान लागेको व्यक्ति बनेर महेशसँग गरिएको कुराकानीमा उनले आफूले सुदर्शनसँग बारम्बार कुरा गरेको बताए । उनले भने, ‘अमेरिका हिम्मतवाला फिल्म सुटिङमा अभिनय गर्ने गरी लैजाने कुरा भएको थियो । पैसा पठाएपछि पासपोर्ट स्क्यान गरेर पनि पठाएँ तर काम भएन ।’ म्याग्दी मिस्कोटकै बुद्धि पुन स्थानीय सरकारी विद्यालयका शिक्षक हुन् । उनले पनि अमेरिका जाने सपनामा ३ लाख रुपैयाँ फसाए ।
 
कान्तिपुरसँगको कुराकानीमा उनले गत जनवरीमा अन्तिमपल्ट सुदर्शनसँग कुरा भएको बताए । ‘अमेरिकामा हुने फिल्म सुटिङमा कलाकार बनाएर लैजान्छु भन्थ्यो, लगेन,’ उनले भने । उनले तीन–चार पटक मात्रै भाइबरमार्फत सुदर्शनसँग कुरा भएको बताउँदै आफूले पासपोर्ट पठाए पनि काम नभएको बताए ।
 
मिस्कोटकै खड्ग चन्द अर्का त्यस्ता पीडित हुन्, जसले क्यानडा जाने भन्दै झन्डै चार लाख फसाए । कान्तिपुरसँगको कुराकानीमा उनले म्याग्दी दरवाङकै एकजना मान्छेमार्फत आफूले सुदर्शनलाई चिनेको बताए । उनले भने, ‘फिल्ममा खेलाउँछु भन्थ्यो । तर खै किन हो न अमेरिका लग्यो न क्यानडा ।’ खड्गले हुन्डी गरेर आफूले रकम पठाएको, सुरुमा अमेरिका लैजान नमिलेपछि क्यानडाको प्रक्रिया चालेको तर काम नभएको बताए । उनले भने, ‘भाइबरबाट दुई–तीन पटक कुरा त गरे । खै के मिलेन मिलेन ।’
 
सुदर्शनले अमेरिका र क्यानडा लैजाने सपना देखाएर बागलुङको ताराखोला गाउँपालिकालगायत विभिन्न ४० जनासँग ६५ लाख असुलेर बुझेको भेटिन्छ । ताराखोला–३ का राजन सुनुवारलाई सुदर्शनले आफ्नो पहुँचमार्फत सजिलै अमेरिका वा क्यानडा ल्याउन सक्ने बताए ।
 
उनको विश्वासमा राजन र पोखरा बस्ने मिलन विश्वकर्माले सुरुमा क्यानडा पठाइदिने भन्दै ८ जना र दोस्रो पटक अमेरिका पठाइदिने भन्दै ३२ जनाबाट फरक–फरक मितिमा कुल ६५ लाख उठाए । अमेरिकापीडित बनेर कान्तिपुरले गरेको कुराकानीमा उनले सुदर्शनले भनेका विभिन्न मान्छेको बैंक खातामा आफूले रकम डिपोजिट गरेको बताए । उनले भने, ‘पैसा दिएकाहरूको पासपोर्ट भिसा लगाउन लगनखेलको एक अफिसमार्फत दिल्ली पनि पठाए । तर भिसा लागेन ।’ क्यानडामा आयोजना हुने अपांगतासम्बन्धी एक कार्यक्रममा सहभागी गराउने गरी आफूहरूलाई लैजाने आश्वासन दिएको राजनले बताए ।
 
आफ्नो विश्वासमा परेर पैसा दिएकाहरूले भिसा नलागेपछि पैसा फिर्ता मागेर आफूलाई बसीखान नदिएको दु:खेसो सुनाउँदै उनले भने, ‘अनेक उपाय लगाउँदा पनि पैसा फिर्ता नआएपछि हामीले अनेक तरह गरेर सबैको पैसा फिर्ता गर्‍यौं ।’
 
मुख्य नाइके सुदर्शन 
 
दिशाहीन भएको पानीजहाजबाट उद्धार गरिएका दुई युवतीलाई स्वदेश फिर्ता पठाउन बहामासस्थित अध्यागमन अधिकारीले अमेरिकास्थित नेपाली दूतावासमा सम्पर्क गरेका थिए । दूतावासले उनीहरूको उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । असार ३१ मा कन्सुलर विभागले उद्धार प्रक्रियामा नेपाली दूतावासका कामसम्बन्धी कागजातहरू अपराध महाशाखालाई पठायो । महाशाखा स्रोतका अनुसार दूतावासले कन्सुलरमा पठाएको पत्रमा समेत दुई युवतीलाई गैरकानुनी रूपमा अमेरिका लैजान सुदर्शनले भूमिका खेलेको उल्लेख छ ।
 
अपराध महाशाखाले अमेरिका जाने भनेर फसेकासँगको बयान, दूतावासको पत्र र पीडितहरूको उजुरीका आधारमा गैरकानुनी मानव तस्करीको धन्दामा सुदर्शन सक्रिय रहेको निष्कर्ष निकालेको हो । महाशाखाले सरकारी वकिलमार्फत सुदर्शनविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको छ ।
 
यही पुर्जीका आधारमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटस जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘कलाकारिताको आवरण र अपांगता भएको सहानुभूतिको फाइदा उठाउँदै सुदर्शनले मानव तस्करीको बलियो जालो फैलाएका रहेछन् ।’
 
प्रहरीका अनुसार सुदर्शनको मानव तस्करीको जालो नेपालमा मात्रै सीमित छैन । उनले भारतको नयाँदिल्लीदेखि हैटी, क्युबा र डोमिनिकासम्म आफ्नो सञ्जाल विस्तार गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनको नेटवर्क निकै बलियो छ ।
 
क्यानडाको नागरिक रहेको र अमेरिकाको ग्रिन कार्डसमेत भएका सुदर्शनले यी दुई देशमा मान्छे लैजान तीन फरक तरिका अपनाएको देखिन्छ । पहिलो, अन्तरदेशीय उडानका क्रममा सहयोगीको आवश्यकता पर्ने भन्दै मान्छे लिएर जाने । दोस्रो, बिहे गरेर क्यानडा लैजाने र आफूलाई अपांगता भएका कारण भेदभाव सहनुपरेको भन्दै सम्बन्धविच्छेद गरेर उतै छाड्ने । महाशाखाका एक अनुसन्धान अधिकारीले सुदर्शनले नक्कली बिहे गरेर र नक्कली सहयोगी बनाएर क्यानडा लगेको भेटिएको बताए । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
 
सुदर्शनले अमेरिका वा क्यानडा लैजानका निम्ति अख्तियार गरेको तेस्रो तरिका भनेको फिल्मकर्मीको आवरण हो । रेखा थापाको फिल्म ‘हिम्मतवाली’मा प्रमुख भूमिकामा अभिनय गरेपछि उनको हिमचिम फिल्म क्षेत्रमा बढेको थियो । हैटीमा बनाउने भनिएको ‘संस्कार’ नामक फिल्म हैटी फिल्मस्ले नेपालको केपी फिल्मस्सँग संयुक्त रूपमा बनाउन लागेको कागज तयार पारिएको देखिन्छ । तर, यो सहकार्य पनि झूटो देखिन्छ ।
 
केपी फिल्मस् कृषा चौलागार्इंको कम्पनी हो । सुमित्राको मृत्यु र दुई युवती फर्केर नेपाल आएपछि प्रहरीले सुरु गरेको अनुसन्धानका क्रममा कृषासँग पनि सोधपुछ गरिएको थियो । कृषासँगको सामान्य चिनाजानीपछि नै सुदर्शनले उनको कम्पनीको नाम दुरुपयोग गरेको प्रहरीको अनुमान छ ।
 
प्रहरी अनुसन्धान क्रममा सुदर्शनको निर्देशनमा अमेरिका वा क्यानडा मान्छे पठाउने काममा बागलुङ रिगा घर भई काठमाडौंको लैनचौरमा बस्ने सागर श्रीश मुख्य रूपमा सक्रिय छन् । प्रहरीका अनुसार सागरले मान्छे खोज्ने र दिल्ली पठाउने गरेको देखिन्छ । त्यस्तै दिल्लीमा बस्ने डीबी भन्ने एक नेपाली र उनकी श्रीमतीले मान्छे राख्ने र नक्कली कागजपत्र बनाउने काममा संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार सुदर्शनका मान्छेहरू फ्रान्सदेखि हैटीसम्म फैलिएका छन् ।
 
सागर श्रीश तिनै व्यक्ति हुन्, जो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखा प्रमुख रहेका बेला २०७४ भदौ २४ मा पक्राउ परेका थिए । त्यतिबेला श्रीशलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर दक्षिण अफ्रिका पुर्‍याई अलपत्र पारेको अभियोग लागेको थियो । श्रीशले दाङको त्रिभुवन नगरपालिका–६ घर भई दक्षिण अफ्रिका बस्ने सन्तोष पौडेल, भारतमा बसेर एजेन्टको भूमिकामा काम गर्ने ऋषि घिमिरेसँग मिलेर दक्षिण अफ्रिका लैजाने धन्दा चलाएको प्रहरीको आरोप थियो ।
 
श्रीशको मिलेमतोमा अफ्रिका हिँडेकाहरूलाई भारतको दिल्ली हुँदै त्यहाँबाट इथोपिया, मोजाम्बिक, स्वाजिल्यान्ड हुँदै जंगलको बाटो अफ्रिका छिराउने प्रयास गरिएको थियो । सोही क्रममा अफ्रिकाको बोर्डरमा पक्राउ परेर १५ दिन जेल बसी नेपाल फर्केकाहरू अपराध महाशाखामा उजुरी दिएपछि श्रीश पक्राउ परेका थिए । मानव बेचबिखन मुद्दामा केही समय थुनामा बसेका श्रीश पर्याप्त प्रमाण नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । अपराध महाशाखाले सुदर्शनसँग मिलेर मानव तस्करीमा सक्रिय भएको भन्दै तीनै श्रीशलाई फेरि पक्राउ गरेको छ ।
 
सागरका दाई राजु भन्ने जेसन श्रीश पनि यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा हिरासतमा छन् । गैरकानुनी रूपमा अमेरिका लगायतका देशमा मानव तस्करीको काममा संलग्न भएको भन्दै ब्युरोले जेठ १९ मा उनलाई पक्राउ गरेको थियो । अमेरिका र क्यानडा लैजाने भन्दै भारत, सिंगापुर, मलेसिया, थाइल्यान्ड, नाइजेरिया हुँदै अफ्रिकन देश टोगामा पुर्‍याई सात महिनासम्म अलपत्र परेर फर्केका ६ पीडितले दिएको उजुरीका आधारमा ब्युरोले जेसनलाई पक्राउ गरेको थियो । अक्सर गरी नाइजेरिया र थाइल्यान्ड बस्ने जेसनले आफ्ना भाइलाई पनि मानव तस्करीको एजेन्टका रूपमा उपयोग गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । सीआईबीका एक अनुसन्धान अधिकारीले जेसनको सम्बन्ध मानव तस्करीको धन्दामा संलग्न सुदर्शनसँग पनि रहेको बताए ।
 
सुदर्शनको योजनामा बनेको मानव तस्करीको जालोमा पर्नेहरूको संख्या कति छ ? प्रहरीले अहिलेसम्म त्यसो मेसो पाएको छैन् । तर प्रहरी अनुसन्धानमा सुदर्शनले सयौंसँग अमेरिका र क्यानडा सपना देखाएर पैसा असुलेको देखिन्छ । महाशाखाका अनुसार सगरमाथा आरोहणपछि शेर्पा समुदायसँग हिमचिम बढाएर सुदर्शनले झन्डै एक दर्जन शेर्पालाई अमेरिका सपनाको पासोमा पारेको ठगेको विषयमा पनि महाशाखाले अनुसन्धान अगाडि बढाएको छ ।
 
सुदर्शनले कतिलाई अमेरिका पुर्‍याए, कतिलाई क्यानडा पुर्‍याए र कति अझै बीच बाटोमा महिनौंदेखि अलपत्र छन् भन्ने कुराको यकिन तथ्यांक प्रहरीसँग छैन । बहामासबाट फर्केर कान्तिपुरसँग सम्पर्कमा आएका एक युवतीका अनुसार सुदर्शनले अमेरिका लैजाने भन्दै हिँडाएका दुई युवा अझै हैटीको पोर्ट–औं–प्रिन्समा अलपत्र छन् । स्रोतका अनुसार टापु राष्ट्र डोमिनिकामा पनि केही नेपाली अलपत्र छन्, जसलाई सुदर्शनले ‘काम हुने’ भन्दै महिनौंदेखि झुलाइरहेका छन् ।
 
पैसा पठाउने खेलो 
 
अमेरिका मोहमा परेर रकम फसाएका दर्जनसँगको कुराकानीबाट के बुझिन्छ भने चलाख सुदर्शनले अधिकांशसँग हुन्डी वा अन्य व्यक्तिको खातामा रकम हालेर पैसा बुझ्ने गरेका देखिन्छन् । जस्तो कि पोखराका महेश कँडेलले म्याग्दीका लेकबहादुर पुनमार्फत सुदर्शनलाई साढे तीन लाख पठाए भने डोमानिकाबाट युवतीहरूले अपरिचित लेकबहादुरको खातामा पैसा पठाएका थिए ।
 
महेशका अनुसार केही महिना पहिले सुदर्शनले उनलाई फोन गरेर तिम्रो नाममा ४ लाख रुपैयाँ रेमिट्यान्सबाट आउँछ, उक्त पैसा म्यादीका लेकबहादुर पुनलाई दिनु भनेर अह्राएका थिए । यसरी सुदर्शनले भनेको पैसा म्याग्दीकै एक अपरिचितको नामबाट महेशको नाममा आएपछि उनले झिकेर आफ्नै बैंक खातामार्फत लेकको खातामा ट्रान्सफर गरिदिएका थिए । महेशले भने, ‘त्यति पैसा पठाएर सहयोग गरिदिनुस् भनेपछि मानेको हुँ । पैसा कुन देशबाट म्याग्दी आएको हो मलाई थाहा भएन ।’
 
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सोझै आफ्नो खाताबाट कारोबार गर्दा फसिने डरले सुदर्शनले धेरैभन्दा धेरै मान्छेको खाता हुँदै कारोबार गर्ने गरेका छन् । सोझै पैसा पठाउँदा हुने प्रमाण नष्ट गर्न उनले विभिन्न परिचित/अपरिचित मान्छेलाई उपयोग गर्ने गरेको देखिन्छ । जस्तो कि, ओखलढुंगा घर भई काठमाडौंमा पढदै गरेका अनिल बानियाँका बाबु भारतको ऋषिकेशमा कफी सप चलाउँछन् ।
 
अमेरिका मोहमा भारतको नयाँदिल्ली बसेका दुई युवतीका आफन्तले १० लाख नगदै र १० लाख अनिलको बैंक खातामा राखिदिएका थिए । यस्तो रकमको सोधभर्ना अनिलका बाबुले भारु दिएर मिलाउँछन् । यतिखेर अन्तरदेशीय मानव तस्करीलाई सघाएको आरोपमा अनिललाई पनि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
 
अपराध महाशाखाले पक्राउ गरेका अर्का व्यक्ति हुन्, सुरज काफ्ले । क्यारेबियन समुद्रमा अकाल मृत्युवरण गरेकी सुमित्राका बैनीज्वाइँ हुन सुरज । अमेरिका जाने मोहमा हैटी पुगेकी सुमित्रासँगै रहेका अन्य दुई युवतीले सुदर्शनको निर्देशनमा सुरजको खातामा हैटीबाट पाँच लाख रुपैयाँ डिपोजिट गरिदिएको देखिन्छ । यी सबै प्रतिनिधि उदाहरणबाट सुदर्शनले मानव तस्करीको धन्दा चलाउनका निम्ति धेरै मान्छेलाई एकैचोटि उपयोग गरेको देखिन्छ ।
 
Published on: 2 August 2018 | Kantipur

Back to list

;