s

कहाँ जान्छन् हराएका महिला तथा बालिका

Year of Publication: 16 February 2018 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

सलमान खान

रूपन्देहीमा बर्सेनि महिला तथा बालबालिका हराउने संख्या बढ्दै गएको छ। हराएका भनिएकामध्ये केही महिलाले भागी विवाह गर्ने गरेका र अधिकांश बालक घरबाट अपहेलित भई आफूखुसी परिवार छाडेर हिँड्ने गरेको पाइएको छ।

हराएका सूचीमा रहे पनि अधिकांश वास्तवमा नहराएका जिल्ला प्रहरी कार्यालय रूपन्देहीका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख लक्ष्मण विकले बताए। हराएका सूचीमा रहेकामध्ये अधिकांश आफूखुसी घर छाडेर हिँड्ने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको निवेदन कार्यालयमा आउने गरेको केन्द्र प्रमुख विक बताउँछन्। उनले भने, ‘हराएलगत्तै परिवार निवेदन लिएर आउँछन्, हामीले पनि तत्कालै उनीहरू नजिकका आफन्तदेखि मोबाइलको कल डिटेल हेर्दै अनुसन्धान थाल्छौँ। तर, हराएका भनिएका ती व्यक्ति आफूखुसी घर छाडेर गएका हुँदा रहेछन्।’ त्यसरी हराउनेमा सबैभन्दा बढी महिला छन्।
 
पति वैदेशिक रोजगारीमा गएका, घरेलु हिंसामा परेका, परपुरुषसँग सम्बन्ध गाँसिएको लगायत कारणबाट अधिकांश महिला घर छाडेर जाने हुँदा तत्काल हराएको भन्ने शीर्षकका उनीहरूको निवदेन दर्ता हुने गरेको प्रहरीहरू बताउने गर्छन्।
 
यस्तै बालिकाको हकमा उनीहरूले प्रयोग गर्ने मोबाइल फोन, समाजिक सञ्जाललगायतको बढ्दो प्रयोगबाट चिनजानका युवासँग घर छाडेर भाग्ने गरेका प्रहरी बताउँछन्। जसले गर्दा बालिकाहरू हराएको संख्यामा सूचीबद्ध हुने गरेका छन्।
 
त्यसैगरी बालक हराउनुको कारण पनि परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानले गर्दा आफूखुसी घर छाडेर हिँड्ने गरेका प्रमुख विकले बताए।
 
महिला तथा बालिका हराउनुको कारण लुकिछुपी विवाह, बहुविवाह गरी अन्यत्र बस्नु, घरेलु हिंसाकाको सिकार भई घरछाडी एक्लै बस्नुबाहेक केही बेचबिखनको सिकार पनि भएका हुन सक्ने प्रमुख विक बताउँछन्।
 
हराई फेला परेका व्यक्ति परिवार आफैंले भेट्टाई प्रहरीलाई जानकारी नगराउँदासमेत त्यसरी हराउनेको संख्या बढी देखिने गरेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख विकले बताए। गत आर्थिक वर्ष ०७२÷७३ यसरी सात सय महिला तथा बालबालिका हराएको मध्ये तीन सय सात जना फेला परेका छन् भने तीन सय ९३ महिला तथा बालबालिकाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
 
गत आव ०७२÷७३ मा एक सय ६४ महिला, २८ बालक र ४६ बालिका गरी दुई सय ३८ जना हराएका प्रहरीको तथ्यांकमा छ। जसमध्ये महिला २८, बालक पाँच र बालिका १३ गरी ४६ जना मात्र फेला परेका थिए।
 
जिल्लाबाट दुई सय ३८ जना हराएका भनेर निवदेन परेकोमा ४६ जना फेला पर्दा एक सय ९२ जना अझै बेपत्ता छन्। बाँकी फेला परेका चार जना अन्य जिल्लाका रहे पनि उनीहरू रूपन्देहीमा फेला परेका हुन्।
 
त्यस्तै गत आव ०७३÷७४ मा हराउनेको संख्या दुई सय ९८ रहेका छन्। जसमध्ये ९० महिला, १८ बालक र ५८ बालिका गरी १ सय ६६ फेला परेका थिए। यसवर्ष जिल्लाबाट दुई सय ९८ जना हराएको भन्ने निवदेन परेकामा एक सय ३२ जना अझै फेला परेका छैनन्।
 
यस्तै चालु आव ०७४÷०७५ को पुस मसान्तसम्म हराउनेको संख्या १ सय ६४ पुगेको छ। जसमा एक सय १८ जना महिला, १६ जना बालक र ३० जना बालिका रहेका छन्। हराएको मध्ये ५९ जना महिला, १२ जना बालक र २४ जना बालिका गरी ९५ जना फेलापरेका छन् भने अन्य १५ जना समेत फेलापरेको प्रहरीको तथ्यांकमा छ। यस वर्षको पुस मसान्तसम्म १ सय ६४ जना हराएकामध्ये निवेदन परेकोमा ९५ जना फेला परे पनि अझै ६९ जनाको अवस्था अज्ञात छ। हराएको सूचीमा क्रमश सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन्।
 
Published: 16 February 2018 | Annapurna Post

Back to list

;