s

जिल्ला प्रशासनका लेखन्दास नै मानव तस्करीका नाइके

Year of Publication: 11 October 2017 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

किशोर बुढाथोकी
 
जिल्ला प्रशासन कार्यालय मोरङमा लेखन्दासको काम गर्ने व्यक्ति नै मानव तस्करी गर्ने धन्दामा संलग्न रहेको पाइएको छ । लेखन्दासको काम गर्दै आएका सुनसरी इनरुवा ४ का ३५ वर्षीय नवीन क्षत्री भनिने नवीन सुवेदीले कुबेतमा भारतको बाटो हुँदै नेपाली महिला लैजाने गरेको रहस्य खुलेको हो । कुबेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित मुलुक हो । लेखन्दासको काम गर्ने बहानामा नागरिकता र राहदानी बनाउन सहयोग गर्दै कुबेतमा महिला कामदार पठाउने धन्दामा लामो समयदेखि सुवेदीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ । उनी पाँच वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा लेखन्दासको काम गर्दै आएका व्यक्ति हुन् ।
 
पछिल्लो पटक मोरङको बेलबारी नगरपालिका घर भएका चारजना युवतीलाई कुबेत पठाउने भनेर भारतको नयाँदिल्ली पुर्‍याएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय बेलबारीले सुवेदीलाई गत भदौ १६ गते मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवाबाट पक्राउ गरेको थियो । प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको थियो । उनलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेशसमेत दिइसकेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलाशले तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए ।
 
प्रहरीले सुवेदीलाई अदालतमा मानव तस्करी गर्ने मुख्य नाइकेका रूपमा प्रस्तुत गरेको थियो । प्रनि कटुवालले राम्रो कमाई हुने भन्दै वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर उमेर बढाउँदै नागरिकता र पासपोर्ट बनाउन सहयोग गरेर चारजना युवतीलाई भारतको दिल्ली पुर्‍याएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको जनाए । उनका अनुसार फकाईफुल्याई प्रलोभनमा पारेर रेलमार्फत भारतको दिल्ली पुर्‍याएपछि अवैध बाटो हुँदै कुबेत लैजान खोजेको र कुबेतमा नेपाली महिला कामदार जान नपाइने कुरा बुझेपछि युवती त्यहाँबाट भागेका थिए ।
 
कटुवालका अनुसार दिल्लीबाट भागेर युवतीहरू इलाका प्रहरी कार्यालय बेलबारीको शरणमा आइपुगेका थिए । त्यसपछि प्रहरीले सुवेदीको खोजी तीव्र पारेको थियो । कुबेत पठाउन लेखन्दास सुवेदीकै योजना अनुरूप युवतीलाई गत वैशाख ३१ गते नयाँदिल्ली पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रहरीले उनकै सहयोग र संलग्नतामा कम उमेरका युवतीको उमेर बढाएर नागरिकता र राहदानीसमेत बनाइदिएको पत्ता लगाएको छ । प्रहरीका अनुसार १८ र १९ वर्षका ती युवतीको उमेर बढाएर २०४८ सालको जन्म मिति राखेर २५ वर्ष पुर्‍याइएको छ । राहदानी र नागरिकतामा समेत जन्म मिति २०४८ साल उल्लेख गरिएको छ ।
 
प्रनि कटुवालका अनुसार सुवेदीको सहयोगमा परराष्ट्र मन्त्रालयबाट युवतीको २०७३ साल चैत १६ र १७ गते राहदानी बनाइएको छ । त्यसअघि २५ वर्ष उमेर पुगेको सबै कागजपत्र तयार गरेर जिल्ला प्रशासन कार्यालय मोरङबाट युवतीहरूको नागरिकतासमेत बनाइदिएको प्रहरीले पत्ता लगाएको छ । युवतीलाई उद्धृत गर्दै प्रनि कटुवालले दिएको जानकारीअनुसार बैध बाटो हुँदै विदेश पठाउने भनेर सुरुमा मानव तस्करीका गिरोहले प्रलोभन देखाएका थिए । तर पछि युवतीले कुबेत पठाउने र अवैध बाटो हुँदै लैजान खोजेको पत्तो पाएपछि यो धन्दामा सुवेदी मुख्य नाइके रहेको पत्ता लागेको उनले बताए । ‘युवतीहरू दिल्लीबाट भागेर आएपछि प्रहरीलाई जानकारी गराएका कारण सुवेदीलाई पक्राउ गर्न सकियो’, उनले भने, ‘अरू धेरै युवतीलाई सुवेदीकै संलग्नतामा यसअघि पनि कुबेत पठाइएको पत्ता लागेको छ ।’ कटुवालले अरू कतिजना र कहाँकहाँका युवतीलाई कुबेत पठाइएको छ भन्नेबारे अनुसन्धान थालिएको बताए ।
 
प्रहरीले सुवेदीसँगै मानव तस्करीमा ठूलो गिरोह संलग्न रहेको पत्ता लागेको जनाएको छ । ‘गिरोहको ठूलै सञ्जाल छ । विशेष सूचनाका आधारमा सञ्जालमा संलग्नलाई पक्राउ गर्न प्रहरी लागेको छ’, कटुवालले भने, ‘मानव तस्करीमा संलग्न अन्यको खोजी थालिएको छ । सुवेदीबाहेक अरूलाई पक्राउ पर्न सकिएको छैन ।’ चारजना युवतीलाई कुबेत पठाउन खोजिएको घटनामा भने सुवेदीलाई बेलबारी नगरपालिका १० का मनोज न्यौपानेले सहयोग गरेको प्रहरीले जनाएको छ ।
 
न्यौपानेले नै युवतीलाई सुवेदीको सम्पर्कमा पुर्‍याएको प्रहरीको भनाइ छ । ‘न्यौपानेले गाउँका युवती भेला पारेर सुवेदीको सम्पर्कमा पठाउने एजेन्टको काम गरेको पाइयो’, कटुवालले भने, ‘नागरिकता र राहदानी बनाएर दिल्लीसम्म पुर्‍याउनेलगायतका काम भने लेखन्दास सुवेदीले गरेको पत्ता लागेको छ ।’ सुवेदी पक्राउ परेको खबर पाएपछि न्यौपाने भने फरार भएको जानकारी प्रहरीले दिएको छ । कटुवालका अनुसार सुवेदीको सम्पर्कमा युवती पुर्‍याइदिएबापत न्यौपानेले निश्चित रकम पाउने गरेको खुलेको छ ।
 
विशेष गरेर जिल्ला प्रशासन कार्यालय मोरङ आसपासमा लेखन्दास र दलालको काम गर्नेहरू मानव तस्करी गर्ने धन्दामा संलग्न रहेको आशंकामा प्रहरीले निगरानी बढाएको जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले प्रशासन कार्यालय आसपासमा लेखन्दास र दलाली गर्दै आएकोहरूको धन्दा मानव तस्करी गर्ने रहेको पत्ता लागेपछि प्रहरीको विशेष टोली परिचालन गरेर अनुसन्धान सुरु गरिएको बताए । लेखन्दास र दलाली गर्दै आएकाले विभिन्न बहानामा नागरिकता र राहदानी बनाउन आउने युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर मानव तस्करी गर्न थालेको पत्ता लागेको उनले बताए ।
 
प्रशासन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले सुरुमै दलालको सामना गर्नुपर्छ । सेवा लिन पुग्ने सेवाग्राहीलाई कार्यालयको गेटबाहिरै रोकेर दलाल र लेखन्दासको काम गर्दै आएकाले आफ्नो कब्जामा लिएर ठग्ने गर्छन् । कब्जामा लिएपछि आफूले काम गरिदिने भन्दै पैसा लिएर सेवाग्राही ठग्ने दलालको मोरङ प्रशासनमा बिगबिगी छ । प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन तथा प्रतिलिपि लिन र शान्ति सुरक्षाको माग गर्दै पुग्ने सेवाग्राहीलाई फकाईफुल्याई गरेर आफ्नो जालमा पारेपछि काम गरिदिएको बहानामा दलालले रकम लिने गरेको प्रशासनका एक कर्मचारीले बताए ।
 
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्रशासनमा दलालको हर्कत नियन्त्रण गर्न विशेष कदम चालिने बताए । ‘काम गरिदिएको भन्दै प्रशासनमा सेवा लिन आउने सेवाग्राहीलाई ठग्ने काम हुँदो रहेछ’, उनले भने, ‘त्यस्ता काम बन्द गर्दै ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ।’
 
Published on: 11 October 2017 | Annapurna Post

Back to list

;