s

जरिवाना तिर्न नसकेर साउदीको जेलमा रहेका कार्कीलाई छुटाउन प्रधानमन्त्रीको पहल

Year of Publication: 22 February 2023 | Gorkhapatra

Published by: CESLAM

कोकिला भण्डारी

धनकुटा, फागुन १० गते । डेढ वर्षदेखि साउदीको जेलमा रहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिनेशका बुबा गणेशकुमार कार्कीले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी अनुरोध गरेपछि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराए । भेटमा प्रधानमन्त्रीले वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील रहेको बताउनुभयो । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्म स्वाभिमान र उहाँहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध रहेको स्मरण गराउनुभयो ।

चौबिसे गाउँपालिका वडा नं. ४ का २९ वर्षीय कार्की जरिवाना रकम तिर्न नसक्दा विगत डेढ वर्ष देखि साउदीमा जेल जीवन बिताइ रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न पाँच वर्ष अघि पुगेका थिए ।

देश तथा विदेशमा रहेका नेपाली दाजुभाइले दिनेशलाई छुटाउन आर्थिक सहयोग गरिरहेका छन् । दिनेशको आमा दुर्गाकुमार कार्कीको नाममा माछापुच्छ्रे बैङ्क धनकुटा शाखामा खाता खोलिएको छ । उक्त खातामा हालसम्म पाँच लाख पाँच हजार सहयोग रकम जम्मा भइसकेको छ ।

Published on: 22 February 2023 | Gorkhapatra

Link

Back to list

;