s

जापानमा सिधा हवाई उडान हुने

Year of Publication: 10 January 2019 । Kantipur

Publication Type: NEWS

Published by: CESLAM

दुर्गा खनाल

नेपाल र जापानबीच सिधा हवाई उडान गर्ने बाटो खुलेको छ । नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हवाई सेवा सञ्चालनसम्बन्धी कूटनीतिक नोटमा बुधबार हस्ताक्षर गरेका छन् ।

२५ वर्षअघि भएको हवाई सम्झौता गत असारमा नवीकरण गरिएको थियो । उक्त सम्झौताअनुसार बुधबार कूटनीतिक नोटमा हस्ताक्षर भएपछि अब हवाई उडान गर्न बाटो खुलेको हो । ‘नेपाल र जापानबीच सन् १९९३ मा भएको सम्झौता संशोधनका लागि पत्रहरूमा हस्ताक्षर गर्‍यौं,’ दुईपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अब दुई देशबीच सिधा उडान गर्न मार्ग प्रशस्त हुनेछ ।’
 
जापानी विदेशमन्त्री कोनोले पनि हवाई सम्झौताअनुसार अब चाँडै उडान भर्न आग्रह गरेका छन् । उनले पछिल्लो समय जापानबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्न थालेकाले यो सम्झौताले सहज बनाउने उनको भनाइ थियो । सन् २०१७ मा जापानबाट झन्डै २५ हजार पर्यटक आएका थिए ।
 
यो सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउँछ । जापानको राजधानी टोकियोको अन्तर्राष्ट्रिय विमानस्थलबाहेक सबैमा नेपाली जहाजले उडान अनुमति प्राप्त गर्नेछ । वाइडबडी जहाज ल्याएपछि नेपाल वायुसेवा निगमले जापानमा सिधा उडानका लागि पहल गर्दै आएको थियो । पहिलो चरणमा जापानको ओशाकामा उडान भर्ने तयारीसमेत भइसकेको छ । त्यसका लागि निगमले प्रतिनिधि खटाएको छ ।
 
सिधा उडान नहुँदा जापान आवतजावत महँगो थियो । जापानी विदेशमन्त्री कोनो बुधबार नेपाल भ्रमणमा आएलगत्तै परराष्ट्रमन्त्री स्तरीय बैठक भएको थियो । बैठकमा मन्त्री ज्ञवालीले कामदार लिने सूचीमा नेपाललाई राखेकोमा धन्यवाद दिएका थिए । यससम्बन्धमा चाँडै सहयोगपत्र आदानप्रदान हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । ‘जापानको नयाँ अध्यागमन नीतिअनुसार नेपाली श्रमिक जापान पठाउने विषयमा पनि विचार आदानप्रदान भयो,’ मन्त्री ज्ञवालीले भने, ‘नयाँ व्यवस्थाअनुसार नेपाललाई स्रोत मुलुकका रूपमा समावेश गरेकोमा जापान सरकारलाई धन्यवाद दिन्छौं र यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो आदानप्रदान गर्न तयार छौं ।’
 
कोरियाकै जस्तो सरकार–सरकार समझदारीमा कामदार जापान पठाउने सम्झौताको तयारी भइरहेको छ । त्यसका लागि विदेशमन्त्री कोनोको भ्रमणले पृष्ठभूमि तयार गरेको छ । कामदार कसरी, कति लैजानेलगायत विषयमा भने दुईपक्षीय छलफलबाट तय हुनेछ । जापानी विदेशमन्त्रीसँग नेपालले पूर्वाधार निर्माण, कनेक्टिभिटीलगायत क्षेत्रमा सहयोग माग गरेको छ । भूकम्पपछिको पुनर्निर्माणमा जापानको सहयोग बढाउन नेपालले अनुरोध गरेको छ । भूकम्पसम्बन्धी संग्रहालय बनाउनेलगायत विषय पनि दुईपक्षीय छलफलमा उठेको छ । सन् २०३० सम्म नेपाल मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा हिँडिरहेकाले जापानको महत्त्वपूर्ण सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले कोनोको ध्यानाकर्षण गराएका थिए ।
 
नेपालले फागुनमा गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता, व्यापारी र उद्योगी पठाइदिन आग्रह गरेको छ । विकास, पूर्वाधार, नयाँ उद्योग स्थापनालगायत क्षेत्रमा विदेशी लगानीकर्ता भित्र्याउन सरकारले लगानी सम्मेलन गर्न लागेको हो । पर्यटन वर्षलाई सफल बनाउन पनि जापानी पर्यटकलाई पठाउने वातावरण बनाइदिन नेपालले आग्रह गरेको छ ।
 
नेपाल र जापानबीच दुईपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । दुई पक्षीय सहयोगका कार्यविधि, सहयोगको क्षेत्र, साझा चासोलगायत विषयमा छलफल गर्न यस्तो बैठक आयोजना गर्ने सहमति भएको हो । विदेशमन्त्री कोनो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटेलगत्तै स्वदेश फर्किनेछन् ।
 
Published on: 10 January 2019 । Kantipur

Back to list

;